४ वैशाख २०८१ मंगलबार
खेल

एपिएफ क्वार्टरफाइनलमा

चितवन - सडन डेथमा झापा–११ लाई ५–४ ले पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब शनिबार नारायणगढमा जारी  टुबोर्ग जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयभित्र दुवै टोलीले गोल गर्र्ने प्रयास गरे पनि सफल नहुँदा खेल टाइब्रेकरतर्फ धकेलिएको थियो।

टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा झापाका सुरज विकको प्रहार एपिएफका गोलरक्षक अमृत चौधरीले रोक्न सफल भए। एपिएफका राजेन्द्र रावलको प्रहार भने गोल हुन पुगेको थियो। एपिएफको जितमा नायक बनेका गोलरक्षक अमृत खेलको म्यान अफ दी म्याच बने। उनले १० हजार नगद र ट्रफी पुरस्कार पाए।

फाइनल प्रवेशका लागि एपिएफले सोमबार नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि विकास रनिङ शिल्ड–२०७४ मा एपिएफले थ्री स्टारलाई पराजित गर्दै उपाधि जितेको थियो। प्रतियोगितामा चौथो दिन आइतबार युनाइटेड दार्जिलिङ र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। नारायणगढ जेसिजको आयोजना, चितवन जिल्ला फुटबल संघको सह आयोजना र विकास शिल्ड समितिको सहयोगमा जारी फुटबल प्रतियोगितामा  १०  टोलीको सहभागिता छ। प्रतियोगिता कात्तिक ९ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ३ कार्तिक २०७६ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App