१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

१३औं दक्षिण एसियाली खेलकुद, सहभागिताले प्याराग्लाइडिङ अनिश्चित

पोखरा - प्याराग्लाइडिङका २७ खेलाडी नियमित प्रशिक्षणमा छन्। नियमित प्रशिक्षणमा रहेका खेलाडीबाट ८ छनोट भइसकेका छैनन्। उनीहरूलाई बन्द प्रशिक्षणमा राख्ने तारताम्य नै छैन।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने लक्ष्य र उद्देश्य खेलाडीमा छ। घरेलु भूमिमा स्वर्ण पदक दिलाउने अपेक्षा र विश्वास छ। तर सागमा प्याराग्लाइडिङ  नै हुने र नहुने चिन्ता र पिरलो खेलाडीलाई थपिएको छ।

प्याराग्लाइडिङका लागि नेपाल अहिलेसम्म एक्लो प्रतिस्पर्धी छ। अन्य देशको सहभागिता अन्योल छ। अन्योलले नै २७ जनाबाट ८ खेलाडी छनोट गरिएको छैन। ‘निकै अन्योलको अवस्थामा छांैै,’ नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले भने, ‘अन्योलले नै खेलाडी छनोट गरिएको छैन।’ अन्तिम छनोटपछि मात्रै खेलाडीले राष्ट्रिय खेलकुद परिषद्बाट प्राप्त सुविधा पाउनेछन्।

सागमा चार देशको अनिवार्य सहभागिता हुनुपर्छ। सहभागिता नभए प्रतियोगिता आयोजना हँुदैन। प्याराग्लाइडिङका खेलाडी भारत, पाकिस्तान, भुटान, श्रींलका र बंगलादेशमा छन्। तर उनीहरूको सहभागितामा देखिएको अन्योलले नेपाली पाइलटले प्रतिस्पर्धा गर्न पाउने सम्भावना कमजोर छ। ‘प्याराग्लाइडिङका खेलाडी छन्। तर त्यहाँ राष्ट्रिय संघ छैनन्’ उनले भने, ‘राष्ट्रिय संघ नभएपछि त्यहाँको ओलम्पिक कमिटीले पनि खासै रेसपोन्स गरेको पाइएन।’ उनका अनुसार सम्बन्धित ती देशका ओलम्पिक कमिटीले समेत चासो नदिँदा सागमा प्याराग्लाइडिङ हुने र नहुने अझै निश्चित भइसकेको छैन।

महासचिव रावतले नेपाल ओलम्पिक कमिटीले प्याराग्लाइडिङमा खेलाडी सहभागिता गराउन सम्बन्धित देशका ओलम्पिक कमिटीलाई पत्राचार गर्ने तयारी गरेको छ। ‘हामीले नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिलाई नै भारतसहित अन्य देशका ओलम्पिक कमिटीलाई सहभागिताको लागि पत्रचार गर्ने आग्रह गरेका छौं’ उनले भने, ‘ओलम्पिक कमिटीमार्फत सहभागिता जनाउन सके सागमा प्याराग्लाइडिङ  प्रतिस्पर्धा हुने थियो।’

अन्योलकै कारण प्याराग्लाइडिङको पूर्ण तयारी गरिएको छैन। खेलाडी आफ्नै तौरतरिकाले उडान भर्दै आएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले पनि अन्य देशलाई सहभागिताका लागि आग्रह गरेको संघले दाबी गरेको छ। राष्ट्रिय खेलकुद परिषद्ले प्याराग्लाइडिङका लागि आवश्यक तयारी गरिरहेको समेत उनले सुनाए। खेलाडीलाई आवश्यक पर्ने ८ सेट ग्लाइडर उपलब्ध गराउने तयारीमा छ। ‘एक्युरेसी र क्रसकन्ट्रीको प्रतिस्पर्धाको लागि छुट्टाछुट्टै सेट चाहिन्छ। त्यसैले ८ सेट ग्लाइडर परिषद्ले उपलब्ध गराइदिनेछ,’ उनको भनाइ थियो।

प्याराग्लाइडिङको लागि आवश्यक उडान र अवतरण गर्ने स्थलको पहिचान खासै गरिएको छैन्। यद्यपि पोखरामा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्दै आएको व्यवसायीकै उडानस्थल प्रयोग गरिनेछ। खास गरी कास्कीकोटको तोरीपानीको उडानस्थल प्रयोग गरिने सम्भावना छ। ‘महानगरपालिकाले जग्गा उपलब्ध गराउन नसक्दा तोरीपानीलाई उडानस्थलको रूपमा प्रयोग गर्छौं,’ उनले भने, ‘एक हजार स्क्वायरफिटको कार्पेट बिछ्याएर प्रतिस्पर्धा गराउनेछौं।’ परिषद्ले प्रतियोगिताका लागि आवश्यक पर्ने ५० थान जिपिएस र ५० थान रेडियो सेटसमेत उपलब्ध गराउनेछ।

नेपालले गत वर्ष इन्डोनेसियामा आयोजित एसियन गेम्समा प्यारालाइडिङको क्रसकन्ट्री टिम इभेन्टमा पुरुष टोलीले ऐतिहासिक रजत पदक जितेर फर्किएको थियो।  जुन पदक २० वर्षपछि नेपाली खेलकुदले जितेको थियो। संयोग नै मान्नुपर्छ पोखरामा प्याराग्लाइडिङ सुरु भएको पनि ठ्याक्कै २० वर्ष पुगेको थियो। सागमा प्याराग्लाइडिङ एक्युरेसी तथा क्रस कन्ट्रीमा महिला र पुरुषले एकल र टिम इभेन्टमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।  

प्रकाशित: १४ आश्विन २०७६ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App