१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको चुनौती समाप्त

साेफिया शाह ।

काठमाडौं– सोफिया शाह कोरियामा जारी १८औं फिना विश्व च्याम्पियनसिपअन्तर्गत ५० मिटर फ्रिस्टायलको हिटचरणबाटै बाहिरिएपछि नेपालको चुनौती समाप्त भएका छन्।

कोरियाको ग्वाङझु सहरमा जारी १८औं फिना विश्व च्याम्पियनसिपमा ५० मिटर फ्रिस्टायल सोफियाले २९.०५ सेकेन्डमा पार गर्दा हिटचरणबाटै बाहिरिएकी थिइन्। हिटमा चौथो स्थानमा रहेकी सोफियाले राष्ट्रिय कीर्तिमानसमेत सुधार गर्न सकिनन्। कुल सय जना सहभागी उक्त विधामा उनी ७१औं स्थानमा सीमित भइन्। यससँगै नेपालका चार खेलाडीको चुनौती हिटचरणभन्दा माथि उक्लिन सकेन।

शुक्रबार पनि सोफियाले ५० मिटर बटरफ्लाईमा राष्ट्रिय कीर्तिमान भेटाउन असफल भएकी थिइन्। यद्यपि, उनीले आफ्नो व्यक्तिगत समयमा भने सुधार गरिन्। नेपालको चुनौती समाप्त हुँदा तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन्। एलेक्सजेन्डरले आफूले खेलेका दुई विधामा कीर्तिमान बनाउँदा गौरिकाले १ सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

शुक्रबारको ५० मिटर फ्रिस्टायलमा हिटचरणबाटै बाहिरिए पनि एलेक्सजेन्डरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। हिटमा एलेक्सजेन्डरले २५.३८ सेकेन्डमा पूरा गरे पनि चौथो स्थानमा खुम्चिए। त्यो समय नेपालको राष्ट्रिय कीर्तिमान बन्न पर्याप्त भयो। गत बुधबार पनि एलेक्सजेन्डरले १ सय मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए।

एलेक्सजेन्डरले यसअघि सन् २०१७ मा भएको सातौं एनएससी कप पौडी च्याम्पियनसिपमा शिरीष गुरुङको नाममा रहेको २५.८८ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन्। गत बुधबार पनि एलेक्सजेन्डरले १ सय मिटर फ्रिस्टायलमा शिरीषले सातौं एनएससी कप पौडी च्याम्पियनसिपमा बनाएको कीर्तिमानलाई सुधार गरेका थिए।

उक्त च्याम्पियनसिपमा नेपालका तर्पmबाट समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका हुन्। नेपाली टोलीको प्रशिक्षकमा मुख्य प्रशिक्षक शंकर कार्की छन्। टोकियो ओलम्पिकको छनोट चरणको माध्यमसमेत रहेको विश्व च्याम्पियनसिपमा २ सय राष्ट्रका २५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १२ श्रावण २०७६ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App