१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा

न्युजिल्याण्डविरुद्धको खेलमा रनआउट हुँदै भारतीय खेलाडी महेन्द्रसिंह धोनी । तस्बिरः एपी

म्यानचेस्टर (एएफपी)– सन् २०११ को विजेता भारतलाई स्तब्ध बनाउँदै न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा  प्रवेश गरेको छ।

वल्र्ड ट्राफोर्डमा बुधबार भएको निकै रोमाञ्चक सेमिफाइनल खेलमा भारतमाथि १८ रनको जित निकाल्दै न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। दुई पटकको विश्वविजेता भारतलाई स्तब्ध बनाएको न्युजिल्यान्डले आइतबार उपाधिका लागि अस्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेतासँग भिड्नेछ।

वर्षाका कारण प्रभावित दुई दिनसम्म चलेको सेमिफाइनल खेल आफ्नो बनाएको न्युजिल्यान्ड गत संस्करणको फाइनलमा बेहोरेको हार यस पटक उपाधिबाट जितेर बिर्साउन चाहन्छ। २ सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारत निकै खराब ब्याटिङ गरेपछि निर्धारित ५० ओभर सकिन तीन बल बाँकी छँदा २ सय २१ रनमै समेटिएको थियो। बिर्सनलायक ब्याटिङ गरेको भारतले तीन शीर्ष क्रमका ब्याट्सम्यान रोहित शर्मा, लोकेश राहुल र विराट कोहलीलाई समान १ रनमा गुमाएको थियो।

एकपछि अर्को उत्कृष्ट बलिङ गरेका न्युजिल्यान्डका बलरले लगातार डट फ्याँक्दै भारतलाई दबाबमा राखे। थप १७ बल खेल्दा भारतले चौथो विकेटका रूपमा दिनेश कार्तिकलाई ६ रनमा गुमायो। यद्यपि, पाँचौं विकेटका लागि हार्दिक पाण्ड्या र ऋषभ पन्तले ४७ रनको साझेदारी गर्दै भारतको आशा जगाएका थिए। तर, न्युजिल्यान्डका मिचेल सान्टनरले पन्तलाई ३२ रनमा पवेलियनको बाटो देखाउँदै भारतको इनिङ पुनः धराशयी बनाए।

बिर्सनलायक ब्याटिङ गरेको भारतले तीन शीर्ष क्रमका ब्याट्सम्यान रोहित शर्मा, लोकेश राहुल र विराट कोहलीलाई समान १ रनमा गुमाएको थियो।

सातौं विकेटका लागि धोनीले पाण्ड्यासँग २१ रनमा साझेदारी गर्दै इनिङ उकासे। तर, सान्टनरले नै पाण्ड्यालाई ३२ रनमा आउट गरेपछि भारत ९२–६ विकेटको नाजुक स्थितिमा पुग्यो। यद्यपि, आठौं नम्बरमा ब्याटिङ गर्न आएका रवीन्द्र जडेजाले आक्रामक ब्याटिङ गरेपछि भारतको जितको आशा बनेको थियो।

यस क्रममा जडेजाले सातौं विकेटका लागि धोनीसँग १ सय १६ रनको साझेदारी गर्दै भारतको इनिङलाई २ सय रनको पार गराएका थिए। तर, ४७.५ ओभरमा ट्रेन्ट बोल्टको बलमा छक्का प्रहार गर्ने चक्करमा जडेजा ७७ रनमा आउट भए। ५९ बल खेलेका जडेजाको इनिङमा चार चौका र चार छक्का समावेश थियो। उनी आउट भएसँगै भारतको जित टाढिएको थियो।

तर ४९औं ओभरमा दुई रन चोर्ने चक्करमा धोनी पनि ५० रनमा आउट भएपछि न्युजिल्यान्डको जित पक्का भएको थियो। त्यसपछिका आएका भुवनेश्वर कुमार खाता नखोल्दै र युजभेन्द्र चाहल ५ रनमा आउट भएपछि भारतले न्युजिल्यान्डलाई जित सुम्पियो। न्युजिल्यान्डको बलिङमा म्याट हेनरीले तीन विकेट लिँदा ट्रेन्ट बोल्ट र सान्टनरले समान २ विकेट तथा लकी फर्गुसन र जेम्स निसमले समान १ विकेट निकालेका थिए।

त्यसअघि ब्याटिङ गरेको न्युजिल्यान्डले पनि दबाबपूर्ण सुरुआत गर्दा कप्तान केन विलियम्सन र रोस टेलरको अर्धशतकीय योगदानमा ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको थियो। विलियम्सन ६७ रनमा र टेलर ७४ रनमा आउट भएका थिए। निकोलस हेनरीले २८ रन बनाउँदा न्युजिल्यान्डका अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

भारतको बलिङमा भुवनेश्वर कुमारले तीन विकेट लिँदा जसप्रीत बुमराह, पाण्ड्या, जडेजा र चाहलले समान १÷१ विकेट निकालेका थिए। भारतीय बलरले विकेटसँगै किफायती बलिङ गर्दा न्युजिल्यान्ड मध्यम स्कोरमै रोकिएको थियो। तर, माथिल्लो क्रमको ब्याटिङ चल्न नसकेपछि भारत सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो।

प्रकाशित: २६ असार २०७६ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App