८ वैशाख २०८१ शनिबार
खेल

उत्कृष्ट बलिङको आशा

म्यानचेस्टर – न्युजिल्यान्डले सेमिफाइनलको यात्रा तय गर्दा उसका तीव्र गतिका बलर ट्रेन्ट बोल्टको प्रदर्शन पनि सफलताको आधार बन्यो। उनले जारी विश्वकपको आठ खेलमा १५ विकेट लिँदा न्युजिल्यान्डका लागि दोस्रो सफल बलर साबित भए। विकेटको सफलतामा दोस्रो स्थानमा रहे पनि बोल्ट न्युजिल्यान्डको टोलीका लागि हरेक खेलमा मुख्य बलरको रूपमा चिनिँदै आएका छन्।

उनको तीव्र गतिको बलिङ सामना गर्नु हरेक ब्याट्सम्यानका लागि निकै कठिन हुनेछ। त्यसैले  होला, बोल्ट यस विश्वकपमा भारतका मोहम्मद सामीपश्चात् ह्याट्रिक गर्ने बलर बनिसकेका छन्। अस्ट्रेलियाविरुद्ध उनले उक्त सफलता प्राप्त गरेका थिए।

उनकै प्रेरणाबाट अस्ट्रेलियालाई सस्तोमा समेटे पनि न्युजिल्यान्डले जित भने निकाल्न सकेन। यद्यपि, बोल्टका लागि त्यो दिन विशेष रह्यो। उस्मान ख्वाजालाई आउट गर्दै ह्याट्रिकमा होमिएका बोल्ट त्यसपछि मिचेल स्टार्क र जेसन बेहेरनडर्फलाई शून्यमै पवेलियन बाटो देखाउँदै ह्याट्रिक पूरा गर्न सफल भए। १० ओभर बलिङ गरेका बोल्टले एक मेडन राख्दा चार विकेटसमेत लिएका थिए।  

न्युजिल्यान्डका लकी फर्गुसनले १७ विकेट लिँदै बोल्टलाई पछाडि पारेका छन्। पछिल्ला ९ खेलको नतिजा हेर्ने हो भने पनि बोल्ट उत्कृष्ट फर्ममा रहेको प्रस्टै हुन्छ। उनले  ९ खेलमा ४.५४ को रनरेट रन खर्चिंदा १६ विकेट लिएका छन्। बोल्टले वेस्ट इन्डिजविरुद्ध  यस विश्वकप हालसम्म उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त खेलमा १० ओभर बलिङ गरेका बोल्टले एक मेडनसहित ३० रन मात्र खर्चिएर ४ विकेट लिएका थिए। न्युजिल्यान्डले मंगलबार विश्वकपको फाइनलमा पुग्ने लक्ष्यका इङ्ल्यान्डविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। उक्त खेलमा पनि न्युजिल्यान्डले बोल्टबाट उत्कृष्ट बलिङको आशा राखेको छ। एकदिवसीय क्रिकेटमा दोस्रो वरीयताका बलर बोल्टको पनि आफ्नो स्वाभाविक लयलाई जारी राख्ने लक्ष्य हुनेछ।
 

 

 

प्रकाशित: २४ असार २०७६ ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App