१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

वेस्ट इन्डिजलाई कोट्रेलको बलियो साथ

लिड्स – वेस्ट इन्डिजका लागि सेल्डन कोट्रेल यस विश्वकपमा निकै आशालाग्दा बलर साबित भइरहेका छन्। ब्याटिङ र बलिङ दुवैमा वेस्ट इन्डिजका खेलाडीले बिर्सनलायक प्रदर्शन गरिरहँदा कोट्रेलले भने आफूलाई फरक साबित गर्ने प्रयास गरिरहेका छन्। त्यसैले पनि होला यस विश्वकपमा कोट्रेलले ८ खेलबाट १२ विकेट लिँदा वेस्ट इन्डिजका लागि सबैभन्दा सफल बलर साबित भइरहेका छन्। सर्वाधिक विकेट लिने सूचीमा १३औं स्थानमा रहेका कोट्रेलले बलिङका साथै विकेट लिनेबित्तिकै गर्ने सलुटको सेलिब्रेसनले पनि चर्चा कमाइ राखेका छन्।

आक्रामक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिज खराब प्रदर्शनका कारण आलोचित भइरहँदा सोही टोलीका सदस्य सेल्डनले  भने आफूलाई जोगाइराखेका छन्। उनले अन्य बलरभन्दा फरक प्रदर्शन गरिरहेका छन्। वेस्ट इन्डिजले हार बेहोर्दा पनि आफ्नो बलिङ प्रदर्शनबाट छाप छोड्न सफल रहँदा गत खेलमा श्रीलंकाविरुद्ध एक विकेट लिए।
त्यसअघि उनले भारतविरुद्ध पनि २ विकेट लिएका थिए। न्युजिल्यान्डविरुद्ध निकै यादगार प्रदर्शन गर्ने क्रममा उनले पहिलो ओभरमै ओपनरद्वय मार्टिन गुप्टिल र कोलिन मुनरोजस्ता महत्वपूर्ण ब्याट्सम्यानलाई खात नखोली पवेलियनको बाटो देखाइदिएका थिए। साथै उनले कप्तान केन विलियम्सन र टम लाथमलाई आउट गर्दै चार विकेट निकालेका थिए। सोही खेलमा न्युजिल्यान्डको थप विकेट पतन हुँदा पनि उनले उत्कृष्ट रनआउट गरे।

सो क्रममा बलिङ गरेपछि आफूतिर आएको बलबाट उनले कोलिन डी ग्रान्डहोमलाई आउट गरेका थिए। उनले ६ खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाविरुद्ध समान दुई विकेट लिँदा पाकिस्तानसँगको खेलमा एक विकेट निकाले। सन् २०१५ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका कोट्रेलले कुल २१ इनिङमा २७ विकेट निकालेका छन्।
वेस्ट इन्डिजले बिहीबार अफगानिस्तासँग खेल्दै छ। जितविहीन अफगानिस्तानसँगको खेलमा पनि कोट्रेलबाट टोलीले लय निरन्तरता आशा गरेको छ। उनी पनि आफ्नो स्वाभाविक लयलाई निरन्तरता दिँदै यस विश्वकपमा टोलीको जितलाई बढाउन चाहन्छन्।  

प्रकाशित: १९ असार २०७६ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App