१६ चैत्र २०८० शुक्रबार
खेल

खेलकुदको बजेट कति प्रभावकारी ?

काठमाडौं– आर्थिक वर्ष २०७६/७७ को बजेटमा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन भएको छ। त्यसो त, यो आर्थिक वर्षमा खेलकुद क्षेत्रमा १३ औं दक्षिण एसियाली खेलकुद, खेल पूर्वाधार निर्माण लगायतका महत्वपूर्ण काम बाकीँ रहेका छन्। यो आर्थिक वर्षमा साफ आयोजनाको लागि अनुमानित ५ अर्व तथा यसको पूर्वाधार निर्माणमा अनुमानित १ अर्ब  विशेष खर्च हुने राष्ट्रिय खेलकुद परिषका सदस्य सचिव केशव कुमार विष्ट बताउँछन्। त्यसमा पनि दशरथ रंगशालाको पुनर्निर्माण र मूलपानी क्रिकेट रंगशाला निर्माण खेलकुद क्षेत्रको विकास र प्रवर्धनका लागि महत्वपूर्ण छन्। 

यसपटकको बजेटमा लामो समययता निर्माणाधीन बहुप्रतिक्षित मूलपानी क्रिकेट स्टेडियम निर्माणका लागि सरकारले १० करोड रुपैयाँ छुट्याएको छ। बजेटमा मूलपानी स्टेडियमलाई २ वर्ष भित्र सम्पन्न गर्ने उल्लेख छ। त्यस्तै आगामी डिसेम्बरमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुदको आयोजना गर्दै छ। त्यसका लागि आवश्यक बजेट छुट्याएको अर्थमन्त्रीले उल्लेख गरेका छन्।

२०७२ सालको भूकम्पबाट भत्किएको दशरथ रंगशाला अझै पनि बनिसकेको छैन। खेलकुद पदाधिकारीले बारम्बार रंगशाला निर्माण चाडैं सम्पन्न हुने रटान लगाए पनि रंगशालाको पूननिर्माणमा ढिलाइ भइरहेको छ। दक्षिण एसियाली खेलकुद नजिकिदैं गर्दा रंगशाला निर्माण सम्पन्न गर्न थप दबाब परेको छ। राखेप सदस्य सचिव केशवकुमार विष्ट भदौसम्ममा रंगशाला निर्माणको सम्पन्न भइसक्ने दाबी गर्छन्। साग आयोजना गर्ने विणा उठाएको नेपालले पटक पटक सागको मिति सारेर पनि पूर्वाधार अभावकै कारण अन्योल कायम छ।

त्यस्तै अवस्था छ मुलपानी क्रिकेट स्टेडियमको पनि। २०६० सालबाट निर्माण शुरु भएको मुलपानी  क्रिकेट रंगशाला १६ वर्ष पूरा भइसक्दा पनि निर्माण सम्पन्न भइसकेको छैन।  कहिले राजनीतिक खिचातानी त कहिले मुआब्जा विवादले मूलपानी रंगशाला निर्माण भइनसकेको हो। जारी प्रधानमन्त्री कप क्रिकेटमा पनि पिच तयार नभएकाले म्याटमा खेल सञ्चालन गर्दा आलोचना भएको थियो। राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले मैदानमा केही समस्या भएको भए पनि छिटै त्यसको समाधान गर्ने बताउँछन्। आफूहरुले ६ अर्व प्रस्ताव गरेको बताउँदै उनले साफ लगायतका विशेष अवसरमा सरकारले सहयोग गर्ने भएकाले अहिलेको बजेट उपयुक्त रहेको बताए।  

 २०७५ साल भदौ २० गतेको मन्त्रीपरिषद वैठकबाट मूलपानी क्रिकेट रंगशालाको तल्लो मैदानमा भएको मुआब्जा विवाद समाधान भएको घोषणा गरिए पनि यो समस्या अझै टरेको छैन। त्यतिबेला मैदानमा ११ परिवार रहेको र उनीहरुलाई स्थानान्तरण गरिएको बताइए पनि अझै मैदान क्षेत्रमा २ परिवार बस्दै आएका छन्।

बजेटमा खेल पूर्वाधारको विकासका लागि काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको खेल परिषद निर्माणका लागि प्रारम्भिक अध्ययन गर्ने उल्लेख छ। त्यस्तै प्रदेशको हकमा सबै प्रदेश र स्थानीय तहसँगको सहलगानीमा प्रदेश स्तरीय सुविधासम्पन्न रंगशाला तथा स्थानीय तहमा खेलग्रामको विकास गर्न ४० करोड विनियोजित भएको छ। यस्तै निजी क्षेत्रको लगानीमा निर्माणहुने क्रिकेट लगायतका मैदान  निर्माणमा सरकारले प्रोत्साहन गर्ने उल्लेख छ।  यस्तै शिक्षा क्षेत्रमा पनि प्रत्येक विद्यालयमा एक खेल शिक्षक अनिवार्य राख्न सरकारले बजेट छुट्याएको छ। 

राखेप सदस्यसचिव विष्ट यो आर्थिक वर्षमा विगतको तुलनामा खेलकुदमा ५ गुणा बढि खर्चहुने बताउँछन्। देशका विभिन्न स्थानमा सुरुभएका ठूला आयोजना निर्माण, दक्षिण एसियाली खेलकुद तथा नवौं राष्ट्रिय खेलकुदको पूर्वाधार निर्माणका लागि ठूलो पूँजी खर्चहुने विष्टको भनाइ छ। त्यस्तै संघीयताको मर्म अनुरुप यसपटक प्रदेश र स्थानीय तहमा सिधै बजेट गएको उपाध्यक्ष तिम्सिनाले बताए।

प्रकाशित: १६ जेष्ठ २०७६ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App