२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

आयोजकको विजयी सुरुआत

काठमाडौं – पाहुना टोली लालीगुराँस क्रिकेट क्लब, झापालाई ८ विकेटले पराजित गर्दै आयोजक कर्णाली ११ ले बिहीबारबाट सुर्खेतमा सुरु भएको दोस्रो कर्णाली प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ।

सुर्खेतस्थित कालिन्चोक क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको लालीगुराँस क्रिकेट क्लबले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाएर दिएको १ सय २ रनको लक्ष्य आयोजक कर्णालीले १४.२ ओभरमा मात्र दुई विकेट गुमाएर भेटाउन सफल भएको हो। विजयी सुरुआत गर्नका लागि कर्णालीका कप्तान रवीन्द्रजंग शाहीले अविजित ४५ रनको पारी खेले। यु–१९ राष्ट्रिय क्रिकेट टोलीबाट अनुभव बटुलेका शाहीले ४७ बलको सामना गर्दा ६ चौका र एक छक्का प्रहार गरेका थिए।  यस्तै निश्चल रावलले ३१ रन जोड्न सफल भएका थिए।

यसअघि पहिलो ब्याटिङ गरेको पाहुना टोली लालगुराँसका लागि रौनक दक्षिणीले सर्वाधिक २१ रनको स्कोर बनाउँदा अजय यादवले २०, यश कनदियाले १६ तथा दिपेन योगीले १५ रनको पारी खेलेका थिए। लालीगुराँसलाई सस्तैमा समेट्न कर्णाली–११ का लागि किशोर महतो र दिवान पुनले समान ३/३ विकेट लिएका थिए भने जितेन्द्र ठकुरीले २ विकेट तथा कृष्ण कार्कीले १ विकेट हात पारे।

खेलमा किशोर महतो प्लेयर अफ द म्याच घोषित हुँदै ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे। प्रतियोगिताअन्तर्गत शुक्रबार २ खेल खेलिनेछन्। पहिलो खेलमा न्यु होराइजन बुटवल र महेन्द्रनगर क्रिकेट एकेडेमी तथा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र लालीगुराँस क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।

८ टिमको सहभागीता रहेको प्रतियोगिताका टोलीलाई दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालीगुराँस क्रिकेट एकेडमी झापा रहेका छन्। त्यस्तै समूह ‘बी’ मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन्। दुवै समूहबाट उत्कृष्ट हुने २÷२ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने विजेताले नगद ५ लाख रुपैयाँ तथा उपविजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीले ३ हजार ५ सय रुपैयाँ तथा प्रतियोगितामा उत्कृष्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २० हजार र प्लेयर अफ द सिरिजले ५० हजार प्राप्त गर्नेछन्।

प्रकाशित: १३ वैशाख २०७६ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App