नेपालगन्ज– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल उद्घाटनअगावै हुने भएका छन्। वैशाख ५ गतेदेखि उद्घाटन हुने भनिए पनि केही खेलहरू चैत २७ देखिनै हुने भएका हुन्।
चैत २७ गतेदेखि खेल सुरु हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। २०७५ चैत २७ देखि ३० गतेसम्ममा १२ खेल हुनेछन्। पहिलो दिन हक्की पुरुष बाँकेमा, स्क्वास महिला र पुरुष ललितपुरमा तथा प्याराग्लाइडिङ खेल पोखरामा हुने छ।
वैशाख ५ गतेदेखि उद्घाटन हुने भनिए पनि केही खेलहरू चैत २७ गतेदेखिनै हुने भएका हुन्।
आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले बताए। प्रतियोगितामा विभिन्न ३५ खेल समावेश गरिएको नेपालगन्जमा आइतबार प्रचारप्रसार उपसमितिले गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव बिष्टले बताए।
त्यस्तै व्याडमिन्टन दाङमा, बास्केट बल पुरुष दाङमा, बक्सिङ पुरुष र महिला नेपालगन्जमा, सफ्ट टेनिस बुटवलमा, बास्केट बल पुरुष र महिला दाङमा, सुटिङ नेपालगन्जमा, बास्केट महिला दाङमा, खो खो महिला र पुरुष बर्दियामा उद्घाटन अघिनै हुने मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश नं. ५ का अध्यक्ष भीम ओलीले बताए।
आठौँ राष्ट्रिय खेलकुद अन्योलताका बीच परिषद्को चैत १५ गते बसेको १ सय ११ औँ बोर्ड बैठकले वैशाख ५ गतेदेखि ११ गतेसम्म खेलकुद हुने निर्णय गरेको थियो। आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन नेपालगन्ज रंगशालामा हुने छ।
साथै प्रतियोगिताका केही खेलहरू बाँकेलगायत बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा पनि हुने राखेपका सदस्य सचिव बिष्टले बताए। उनका अनुसार ७७ जिल्लाबाट खेलाडी छनोट गरिसकिएको छ। जसका लागि तीन करोड पाँच लाख ४० हजार रूपैयाँ खर्च भइसकेको उनले बताए।
प्रदेश नं. ३ र सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो छनोट हुन् बाँकी रहेको उनको भनाइ छ। प्रदेश नं. ३ मा चैत २३ देखि २५ गतेसम्म र सुदूरपश्चिम प्रदेशमा चैत २० देखि २२ गतेसम्म तेक्वान्दोका खेलाडी छनोट गरिने उनको भनाइ छ। साथै यस वर्ष गैरआवासीय नेपाली संघ (एनआरएन) को तर्फबाट ९ देशका २४ खेलाडीले समेत सहभागिता जनाउन पाउने छन्। उक्त प्रतियोगिताका लागि १ सय २५ जना सहयोगी प्रशिक्षक नियुक्त गरिएको राखेपले जनाएको छ।
‘५ हजार २ सय ११ जना खेलाडी सहभागी हुन्छन्,’ राखेपका सदस्य सचिव बिष्टले भने, ‘जसमा २ हजार ८ सय २५ पुरुष सहभागी हुने छन् भने, २ हजार ३ सय ८६ महिला खेलाडी सहभागी हुन्छन्।’ अन्योलका बीचमा मिति निर्धारण भएको भन्दै सदस्य सचिव बिष्टले यस खेल सफल पार्न सबै लाग्नुपर्ने बताए।
प्रकाशित: १७ चैत्र २०७५ १४:५२ आइतबार