१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

आठौं राष्ट्रिय खेलकुदमा समन्वय भएन

नेपालगन्जमा बुधबार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे आफ्ना गुनासा तथा सुझाव दिँदै  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वखेलाडी।    तस्बिर : नागरिक

नेपालगन्ज – नेपालगन्जमा आठौं राष्ट्रिय प्रतियोगिताको तयारी भइरहँदा यहाँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकधारी पूर्वखेलाडीले चरम असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले राष्ट्रिय खेलकुद प्रतियोगिता हतारमा गरेर नेपालगन्जको बेइज्जत नगरिदिन बुधबार सरोकारवाला निकायलाई सचेत  गराए। ओलम्पियन एवम् प्रदेश पाँचका सांसद सुरेन्द्र हमालले प्रतियोगिताका लागि कत्ति पनि समन्वय नभएको भन्दै असन्तुष्टि जनाए।

‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा भव्य रूपले सम्पन्न गरिनुपर्छ, तर प्रतियोगिता गर्दा हाम्रो बेइज्जत नहोस्,’ उनले भने ‘हामीले यसो भनिरहँदा कसैले प्रतियोगिता भाँड्न खोजेको भन्ने आरोप लगायो भने त्यो ठूलो दुर्भाग्य हुनेछ।’

प्रतियोगिता जीवन र मरणको सवाल भएको राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष समेत रहेका ओलम्पियन हमालले बताए। सरकारले खेलकुदलाई प्राथमिकतामा नराखेकै कारण अन्योल देखिएको उनको भनाइ थियो। आयोजकमध्येका केहीले आफ्नो अधिकार लिएर बसे पनि प्रतियोगिता सञ्चालनका लागि कसैसँग समन्वय नगरेको आरोप लगाए। 

प्रतियोगिता सम्पन्न गर्ने नाममा हतारमा पूर्वाधार बनाउने र खेलाडीको स्तर कमजोर पार्नु हुँदैन।’

विगतमा पनि राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्जमा भव्य रूपले सम्पन्न गरिएको स्मरण गर्दै ओलम्पियन हमालले भने,‘त्यति बेला प्रतियोगिता हुँदा एकदमै समन्वय थियो, होटल कम हुँदा खेलाडीलाई स्कुल स्कुलमा बास बस्ने ब्यवस्था मिलाएका थियौं, हामी आफैले स्वयं सेवा गरेर स्कुलका झ्यालमा जाली ठोक्ने काम गरेका हौं।’ 

पूर्वखेलाडी गोर्वद्धनसिंह सम्झनाले राष्ट्रिय खेलकुद विकास समिति र क्षेत्रीय खेलकुद विकास समितिले यहाँका खेलाडी, पूर्वखेलाडी, प्रशिक्षक सबैलाई भूमिकाविहीन बनाएको दुखेसो पोखे। ‘हामीले आठौं प्रतियोगिताको विरोध गरेका होइनौं, हामी पनि स्वयंसेवक भएर सेवा गर्न तयार छौं, किनकि हाम्रो पनि यो प्रतियोगिता इज्जत र प्रतिष्ठासँग जोडिएको छ,’ उनले भने ‘प्रतियोगिता सम्पन्न गर्ने नाममा हतारमा पूर्वाधार बनाउने र खेलाडीको स्तर कमजोर पार्नु हुँदैन।’

पूर्वखेलाडी सञ्जय सिंहले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आफूहरूको महान् पर्व भए पनि कुनै हर्ष नभएको बताए। ‘चित्त नबुझेको कुरा बोल्दा कतै प्रतियोगिता भाँड्न लागेको भन्ने आरोप लाग्ला भन्ने डर छ,’ उनले भने ‘प्रतियोगिता गर्ने नाममा केही आसेपासेलाई मात्र बोकेर आठौं सफल हुन्छ त ?’ सिंहले नेपालगन्ज रंगशालाको विजोग अवस्था देख्दा चिन्ता लागिरहेको बताए। 

सुटिङका अन्तर्राष्ट्रिय खेलाडी बद्रुद्दिन अन्सारीले प्रतियोगिता नजिक आउँदा पनि खेलाडीमा अन्योल रहेको सुनाए। ‘प्रदेश स्तरको प्रतियोगिताबाट छनोटमा परिसकेका खेलाडी अहिले अन्योलमा छन्, तयारी के गर्ने ? केही थाहा छैन,’ उनले भने ‘खेलकुद विकास समिति र संघहरूबीच कुनै समन्वय छैन।’ यस्तै शरीरिक सुगठन बाँकेका अध्यक्ष मनोज श्रेष्ठले पूर्वाधार निर्माणमा व्यापक भ्रष्टाचार भएको बताए। प्रतियोगिताका लागि कसैसँग समन्वय नभएको भन्दै भने,‘प्रतियोगिताको नाममा मनपरी नै चलेपछि नबोली नहुने भयो, आज मुख खोल्न बाध्य भयौं।’ 

प्रतियोगिताको मिति अहिलेसम्म घोषणा नभएकोमा असन्तुष्टि जनाउँदै राखेप सदस्यसचिव, उपाध्यक्ष र खेलकुदमन्त्रीको फरक–फरक भनाइमा शंका लागेको बताए। सो क्रममा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, क्रिकेट संघ बाँकेका पूर्वअध्यक्ष सुनिलसिंह हमाललगायतले राजनीतिक स्वार्थ पूरा गर्ने नाममा प्रदेश पाँचको बेइज्जत नगर्न आग्रह गरे। ‘जिल्लास्तरको छनोट प्रतियोगिता हुन्छ, तर हामीलाई थाहा हुँदैन, हामीले आफैं चासो राखेर थाहा पाउँछौं, कतै प्रतियोगिता खल्लो हुने त होइन भनेर हामीलाई चिन्ता लागिरहेको छ,’ शाहीले भने।

प्रतियोगिताको विषयमा सुझाव दिँदा उल्टो विरोधी भनेर आरोप लाग्ने गरेको उनीहरूको गुनासो छ। पूर्वखेलाडीहरूले पूर्वाधार निर्माणको काम सम्पन्न नहुँदै हतारमा राखेपले प्रतियोगिता किन गराउँदै छ ? भनी आश्चर्य प्रकट गरे। उनीहरूले आठौं प्रतियोगिताका लागि निर्माण सुरु गरिएको नेपालगन्ज रंगशाला, पौडी पोखरी, सुटिङ रेन्जलगायत थुप्रै पूर्वाधार अधुरो रहेको बताए।

प्रकाशित: १४ चैत्र २०७५ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App