९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

सोफियाकाे उत्कृष्ट प्रदर्शनमा आर्मीको जित

काठमाडौं – सोफिया पुनको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली त्रिभुवन आर्मीले सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ।

सशस्त्र प्रहरीको मुख्यालय हलचोकस्थित भलिबल कोर्टमा मंगलबार आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्यो। समूह ‘ए’ मा रहेको आर्मीले पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी एपिएफसँग हार बेहोरेको थियो। समूहको अन्तिम तथा दोस्रो खेलमा आर्मीले ढोरपाटन क्लबमाथि २५–४, २५–७ र २५–५ को सहज जित निकालेको थियो।

आर्मीको जितमा सोफिया पुनले १४ अंक बटुल्दा निरुता ठगुन्नाले ९ अंक दिलाइन्। सोफिया वुमन अफ दी म्याचसमेत घोषित भइन्। त्यससँगै समूह ‘ए’ मा १ खेलबाट एपिएफले दुई अंक बटुल्दा आर्मीले दुई खेलमा दुई अंक बनाएको छ। एक खेल नै खेलेको ढोरपाटन अंकविहीन छ। ढोरपाटनले बुधबार एपिएफसँग समूहको अन्तिम खेल खेल्नेछ।    

दोस्रो खेलमा समूह ‘बी’ को विभागीय टोली पुलिसले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि सोझो सेटमा जित निकाल्दै पहिलो सफलता हात पा¥यो। यसअघि न्यु डायमन्डसँगको पहिलो खेल गुमाएको पुलिसले जाउलाखेलविरुद्ध २५–८, २५–११ र २५–१३ को जित निकाल्यो। पुलिसको जितमा तिला चौधरी वुमन अफ दी म्याच चयन भइन्। 

समूह ‘बी’ मा एक खेलबाट डायमन्डले दुई अंक, दुई खेलमा पुलिसले दुई अंक र एक खेल खेलेको जाउलाखेल भलिबल ट्रेनिङ सेन्टर अंकविहीन छन्। समूह ‘बी’ को  अन्तिम खेलमा बुधबार न्यु डायमन्ड र जाउलाखेल प्रतिस्पर्धा गर्नेछन्। लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। 

आगामी चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख ७५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले एउटा स्कुटरसमेत जित्नेछन्। विधागत उत्कृष्टअन्तर्गत स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही पाँच हजार नगद पुरस्कार पाउनेछन्। 

 

प्रकाशित: १३ चैत्र २०७५ ००:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App