१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आन्ध्र प्रदेशमाथि नेपाली युवा टोलीको रोमाञ्चक जित

काठमाडौं – कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले अनुशासित ब्याटिङ गरेपछि भारत भ्रमणमा रहेको नेपालको यु–१९ टोलीले घरेलु टोली आन्ध्र प्रदेश यु–१९ टोलीमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ।

यु–१९ विश्वकप एसिया छनोट क्षेत्र छनोटको तयारीमा रहेको नेपाली युवा टोलीले आइतबारको तेस्रो अभ्यास खेलमा जित निकाल्दै घरेलु टोलीविरुद्धको शृंखलामा २–१ को अग्रता बनाएको छ। यसअघिको पहिलो अभ्यास खेलमा जित निकालेको नेपालले सिनियर खेलाडीलाई आराम दिँदा दोस्रो खेल गुमाएको थियो। 

तर, तेस्रो अभ्यासमा पुनः जित निकाल्दै नेपाली युवा टोलीले शृंखलामा अग्रता बनायो। आन्ध्रको टोलीले दिएको २ सय २८ रनको लक्ष्य पछ्याउँदा कप्तान पौडेलले ७१ रनको उत्कृष्ट इनिङ खेलेपछि नेपालले जितको आधार तयार पारेको थियो। रोहितले ६५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए। 

दुई ब्याट्सम्यान आउट भएपछि क्रिजमा आएका पौडेलले कप्तानी इनिङ खेल्दै ४० बलमा अर्धशतक पूरा गरे। छैटौं नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्की अर्धशतकबाट एक रनले चुकेका थिए। भीम ४९ रनमा आउट हुँदा नेपालको खातामा १ सय ९० रन थियो। समालिएर ब्याटिङ गरेका भीमले ८२ बलमा तीन चौका मात्र हिर्काए। 

अर्का भरपर्दा ब्याट्सम्यान सन्दीप जोरा १९ रनमा आउट हुँदा नेपालको आठौं विकेट पतन भएको थियो। त्यसपछि ब्याटिङ गर्न आएका कुशल मल्ल पनि ९ रनमै पवेलियन फर्किंदा नेपाल दबाबमा परेको थियो। कमलसिंह ऐरी ८ रनमा अविजित रहँदै नेपाललाई जित दिलाए। आन्ध्र प्रदेशका एसएमडी कमिल एक्लैले पाँच विकेट लिँदै नेपालको इनिङ धराशयी पारेका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको आन्ध्र ४९.१ ओभरमा २ सय २७ रनमा समेटिएको थियो। नेपालका प्रतीश जिसीले दोस्रो ओभरमा ओपनर हर्षवर्धनलाई २ रनमै पवेलियनको बाटो देखाउँदै घरेलु टोलीलाई झड्का दिए। अर्का ओपनर नीतिश कुमारले भने शतकीय योगदान दिँदै आफ्नो टोलीको इनिङ उकासे। 

सागर ढकालद्वारा २०औंं ओभरमा आउट हुनुअघि नीतिशले ५१ रन बनाए। पवन सर्राफले ४०औं ओभरमा नेपाललाई तेस्रो सफलता दिलाउँदा रामप्रसादलाई २६ रनमा सिकार बनाए। सर्राफले नै अर्का महत्वपूर्ण ब्याट्सम्यान सुब्रमन्यम्लाई ४५ रनमा पवेलियनको बाटो देखाएका थिए। छैटौं नम्बरमा ब्याटिङ गर्न आएका बी योगानन्द ५९ रन बनाएर आउट भए।

त्यसपछिका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि आन्ध्र प्रदेश मध्यम योगफलमै रोकिएको थियो। त्यस क्रममा बलिङतर्फ कमलसिंंह ऐरीले चार विकेट लिँदा पवन सर्राफले तीन विकेट निकालेका थिए। प्रतीश जिसी, रसिद खान र सागर ढकालले समान एक विकेट लिँदा घरेलु टोली पाँच बलअगावै समेटियो।

 

प्रकाशित: १२ चैत्र २०७५ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App