१२ आश्विन २०७७ सोमबार
खेल

फुटबलमा साथ नपाएको भाग्य एथलेटिक्समा

काठमाडौं – ‘मेरो लक्ष्य फुटबलबाट देशका लागि खेल्नु थियो। कयौं पटक प्रयास गरे पनि सफल हुन सकिनँ । जुन यात्रा क्षेत्रीय छनोटबाटै टुंगिने गर्दथ्यो।’ गत चैत ४ गते नेपालका लागि एथलेटिक्समा लामो समयसम्मको पदकको खडेरी तोड्दै पदक भित्र्याएका अजितकुमार यादवले भने।

यादवले हङकङ भएको एसियाली युथ एथ्लेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए। फुटबलमा क्षेत्रीय छनोटमै असफल उनै यादवले एथलेटिक्समा भने ऐतिहासिक सफलता दिलाए। त्यसमा पनि निकै छोटो समयमा यादवले देशका लागि ऐतिहासिक पदक दिलाए। २०७१ सालसम्म फुटबलमा भविष्य खोजिरहेका यादव सोचेअनुरूप गर्न नसकेपछि एथलेटिक्सतर्फ लागे।

राजविराज नगरपालिका–१२ विषहरियाका स्थायी बासिन्दा अजित आफ्नै दाजु सुजितसँग काठमाडौंको एपिएफ स्कुल पढ्थे। उनका बाबु पवन यादव पनि सशस्त्र प्रहरीका असई हुन्। पवनले आफ्ना दुई सन्तानले राम्रो शिक्षाका लागि एपिएफमै पढाए। दुवैले एपिएफबाटै विद्यालयको शिक्षा पूरा गरेका थिए। अजितका दाजु हाल सिए पढ्दै छन् अजित पिनाकल कलेजबाट अध्ययनका साथै एथलेटिक्स पनि अगाडि बढाइरहेका छन्। 

सानैदेखि खेलकुदबाट देशका लागि पदक जित्ने धावक यादवको सपना थियो। ‘देशका लागि पदक जित्ने ठूलो सपना थियो। त्यसैले फुटबलमा धेरै मिहिनेत पनि गरें,’ यादवले भने,‘तर फुटबलबाट हुन सकेन। एथलेटिक्सबाट गर्न सकें, एकदम खुसी छु। सहभागितादेखि पदक जित्नुसम्म अझै पनि सपनाजस्तै लागिरहेको छ।’  उनलाई पदक जित्नु सपनाजस्तै लाग्नु पनि स्वाभाविकै  थियो।

यद्यपि, उनी खेल सञ्चालन हुने दिनभन्दा एक दिनअगाडि मात्र पुगे। पदक जित्नका कुनै पनि खेलाडी केही दिनअगाडि त्यस ठाउँप्रति अभ्यस्त हुनुपर्ने जरुरत हुन्छ।

त्यो पदकले एसियाली स्तरमा उनलाई मात्र परिचित गराएको छैन, विवादै विवादमा रुमलिएर शिथिल बनेको नेपाली एथलेटिक्सलाई समेत झकझकाएको छ। अझै पनि समयमा व्यक्तिगत स्वार्थ त्यागेर खेलप्रति सबैको ध्यान पुग्नेसके नेपाली खेलाडीले आफूलाई प्रमाणित गर्न सक्छन् भन्ने सन्देश यादवले यस पटक दिएका छन्। पदकका लागि पदाधिकारीको द्वन्द्वका कारण नेपाल एथ्लेटिक्स संघ यति बेला निकै विवादित छ। 

वर्तमान कार्यसमितिको पदावधि सकिएको एक वर्ष बितिसक्दा पनि संघमा चुनाव हुन सकिरहेको छैन। संघका पदाधिकारीबीचको आरोपप्रत्यारोप गरिरहेका छन्। जसको कारण पनि राष्ट्रिय खेलकुद परिषद् पनि निर्वाचनको वातावरण सिर्जना गर्न सकिरहेको छैन। त्यही विवादको सिकार नेपाली खेलाडी भइरहेका छन्। यादवले पनि सोही परिस्थितिको सामना गर्नुपर्याे। 

संघले उनको सहभागितामा खासै चासो नदिँदा प्रशिक्षक धनीराम चौधरी र यादवले निकै कष्ट भोग्नुपर्याे। प्रतियोगिता हुने एक हप्ताअगाडिसम्म उनको सहभागिता अनिश्चित थियो। त्यसबीच प्रशिक्षक चौधरीसँगै खेलाडी यादवले खेल्ने आशै मारिसकेका थिए। तर, यादवका अनुसार संघका पूर्वमहासचिव सुनील राजवंशीले सहभागिता गराउन सघाए। त्यसबीच हङकङको एथलेटिक्स संघले पनि भिसा अनुमतिका लागि पहल गरिदिँदा यादवको सहभागिता प्रतियोगिता हुनुभन्दा केही दिनअगाडि मात्र पक्का बनेको थियो। 

यद्यपि, उनी खेल सञ्चालन हुने दिनभन्दा एक दिनअगाडि मात्र पुगे। पदक जित्नका लागि कुनै पनि खेलाडी केही दिनअगाडि त्यस ठाउँप्रति अभ्यस्त हुनुपर्ने जरुरत हुन्छ। त्यति मात्र होइन, खेलाडीले ७२ घण्टाअगाडि आयोजकको टेक्निकल कमिटीमा प्रवेश हुँदा मात्र  खेल्न पाउँथ्यो। तर, त्यो समय नेपालको गुज्रिसकेको थियो। सायद, यादवको भाग्य बलियो भएकाले होला, आयोजकले यादवलाई खेल्न दिए। 

लामो समयको यात्रा गरेका यादवले अभ्यास नगरीकन आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा चुनौती प्रस्तुत गरे। खेलअघि नै प्रशिक्षक धनीरामलाई विश्वास थियो, यादवले एउटा पदक त पक्कै दिलाउँछन्। एक वर्षदेखि अजितलाई विशेष प्रशिक्षण दिँदै आइरहेकाले प्रशिक्षक धनीराम पदक प्राप्त गर्नेमा विश्वस्त थिए। 

धनीराम भन्छन्,‘अजितको दौडको पेस(गति) राम्रो हुनाले पदक जित्नेमा विश्वस्त थिए। यद्यपि, सहभागिताअघिको वातावरणका कारण आस अलि कम पनि थियो।’ तर, यादवले प्रशिक्षकको सोचाइभन्दा पनि राम्रो प्रदर्शन गर्दै स्वर्ण जिते। जुन पदक एथलेटिक्समा लामो समयदेखि एसियालीस्तरमा पदकविहीन रहनुको खडरी तोड्न पर्याप्त बन्यो। 

यादवले दिलाएको पदक जुनियर एथलेटिक्समा नेपालले एसियाली स्तरको पहिलो स्वर्ण हो। सिनियरमा भने जितबहादुर केसीले नेपाललाई पहिलो पदक दिलाएका थिए। ४५ वर्षअघि सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा केसीले म्याराथनमा कांस्य जितेका थिए। जुन कांस्य नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको पहिलो पदक पनि हो।

त्यसयता एथलेटिक्सको एसियाली फेडेरेसनले आयोजना गरेको च्याम्पियनसिपमा भने नेपाली खेलाडीले केसीको विरासतलाई जोगाइराख्न सकेनन्। तर, साढे चार दशक पार गरिसकेपछि यादवले जुनियर स्पर्धामार्फत एसियाली एथलेटिक्समा नेपालको सहभागितालाई पनि सार्थकता तुल्याए। अजितले ३ हजार मिटरको निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गर्ने क्रममा ४५ राष्ट्रका प्रतिस्पर्धीलाई पछाडि छोडे। 

दोस्रो स्थानमा रहेका भारतका अमित जंगजिर ८ मिनेट ३६.३४ सेकेन्डमा दूरी पूरा गरी रजत र ८ मिनेट ३८.६० सेकेन्डमा निर्धारित दूरी पूरा गरेका यमनका गामिल अल हामातीले कांस्य पदक पाए। त्यस क्रममा यादवले प्रशिक्षक धनीराम चौधरीको निर्देशनअनुसार निकै रणनैतिक प्रदर्शन गरे। उनीहरूले जापानी खेलाडीको पेसअनुसार खेल्ने योजनाअनुरूप उनलाई पछ्याइरहे।

तर, पहिलो राउन्डपछि जापानी खेलाडी पनि पछि छोडेका यादवले अगाडि रहेका भारतीय खेलाडीको गतिमा दौडन थाले। उनले पहिलो राउन्डमा अरू प्रतिद्वन्द्वीलाई उछिनिसकेका थिए। प्रशिक्षक धनीरामबाट कुल साढे सात राउन्डको खेलमा पहिलो राउन्डमा ६८ सेकेन्डभन्दा बढी नदौडिनु भन्ने निर्देशन पाएकाले यादवले गतिमा नियन्त्रण राखे। 

तर अरूले रणनीतिक रूपमै तल र माथि गर्दै दौडिन थालेपछि उनले आफ्नो स्वाभाविक गति लिए। यादव भन्छन्, खेल्ने क्रममा भारतको खेलाडीले मेरो लय भड्काउन खोजेका थिए। उनले गतिलाई कहिले बढी र कम गर्दै मेरो ध्यानलाई कमजोर बनाउने प्रयास गरे। उनको योजना अन्तिम ल्याप नजिकसम्म सँगै जाने अन्तमा आफू फिनिसङ गर्ने रहेछ। त्यसैले मैले गतिलाई झनै तीव्र बनाएँ।

उनले अन्तिम ल्यापसम्म अग्रता जोगाउँदै उत्कृष्ट फिनिसिङ गरे। प्रशिक्षक धनीराम र यादव भन्छन् जितपछि खुसीको सीमा रहेन। यति खुसी थियौं, हामीले लन्च खान नै भुलेछाैं। प्रशिक्षक धनीराम भन्छन् ‘अजितले यही लयमा मिहिनेत गर्दै जाने हो भने अझै धेरै गर्न सक्छन्। तर, त्यसका लागि उनले सफलतामा मात्तिनु र हारमा आत्तिनु हुँदैन। अनुशासनलाई कायम राख्नुपर्छ।’ 

मेरो समयमा कयौं पटक पदक नजिक पुगेर पनि चुकेको थिएँ। खेलाडी जीवनभर प्रयास गरें, सफल हुन सकिनँ। तर, अजितले गरेकोमा निकै खुसी छु। यादवले पदक जित्नु नेपाली खेलकुद र स्वयम् नेपाली एथलेटिक्सका लागि निकै महत्वपूर्ण छ। यादवले जुन खराब परिस्थितिबाट माथि उठेर सफलता दिलाए त्यो निकै सराहनीय नै छ।

अजितले यो लयलाई कायम राख्न अभिभावक संस्था संघले उचित व्यवस्थापनका साथै नियन्त्रण गर्नुपर्छ। अनि मात्र यो सफलतालाई जोगाइराख्ने अवस्था सिर्जना हुनेछ। संघका पदाधिकारीले आफ्नो व्यक्तिगत स्वार्थबाट माथि उठेर अन्य कयौं खेलाडीको भविष्यबारे सोचे पक्कै पनि अझै केही अजित देशले पाउन सक्नेछन्। 

प्रकाशित: १० चैत्र २०७५ १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App