१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

झापा गोल्डकप : एपिएफलाई हराउँदै आर्मी अन्तिम चारमा

दमक – सशस्त्र प्रहरीको एपिएफ क्लबलाई क्वार्टरफाइनलमा रोक्दै त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। एपिएफलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चार सुरक्षित गरेको हो।

अत्यन्तै प्रतिस्पर्धात्मक दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो। खेलको ४३औँ मिनेटमा आर्मीका टंक बस्नेतले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। टेकबहादुर बुढाथोकीले प्रहार गरेको बल दोस्रो पोस्टबाट फर्किएपछि बस्नेतले प्रहार गर्दा गोल भयो। एपिएफले पनि जबाफी गोल गर्न निकै प्रतिस्पर्धा गरे पनि सफल भएन। उल्टो आर्मीले खेलको अन्त्यतिर २ गोल थप्यो। 

खेलको ८२औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। सन्तोष तामाङको फ्रिकिक सीधै गोलमा परिणत भएको थियो।  आर्मीका फरवार्ड नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै तेस्रो गोल गरी टोलीको जित सुनिश्चित गरे। नवयुगले चाहिँ गोलकिपर विकेश कुथूले रिलिज गरेको बलबाट गोल गरेका थिए।

खेलमा म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। बुधबार विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच खेल हुनेछ। प्रतियोगितामा झापा ११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने एपिएफ, मोरङ ११ र हङकङ नेप्लिज एकेडेमी पराजय बेहोर्दै घर फर्किसकेका छन्। गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ। प्रतियोगिताको फाइनल फागुन २७ गते हुनेछ। 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ००:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App