१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

समर्थकदेखि व्यवस्थापकसम्म

काठमाडौं – कुनै पनि क्लबले सफलता हात पार्दा सधैं त्यस क्लबका खेलाडी र प्रशिक्षकको योगदानको प्रशंसा गरिन्छ। यद्यपि, जुनसुकै क्लबको सफलताको पछाडि कयौं व्यक्तिको महत्वपूर्ण भूमिका रहने गर्दछ। तीमध्ये एक व्यवस्थापक त झनै मुख्य भूमिकामा हुन्छन्। तर सदैव यो पक्ष छायाँमा पर्ने गरेका छन्।

त्यसै किसिमको अवस्था नेपालमा पनि नहुने कुरै भएन। नेपालका कयौं क्लबले एकपछि अर्को सफलता प्राप्त गर्दा जस खेलाडी र प्रशिक्षकले मात्र पाउने गर्छन्। तर, नेपाली फुटबलकै चर्चित क्लब थ्री स्टारको शैली भने अलि फरक छ। क्लबले पाएको सफलतामा खेलाडी र प्रशिक्षकले जति जस पाउँछन्, सोही मात्रामा व्यवस्थापकलगायत अन्य सहकर्मी  पनि हकदार बन्ने गरेका छन्।  

क्लबले खेलाडी र प्रशिक्षकसँगै व्यवस्थापकलाई पनि समान व्यवहार गर्छन्। सामाजिक विकासका साथै खेलकुदको उन्नती गर्ने उद्देश्यले रुस्लान थ्री स्टार क्लब वि.सं.२०३१ मा मंगलबजारमा स्थापना भएको थियो। ‘डी’ डिभिजनबाट नेपाली फुटबलका होमिएको थ्री स्टारले ०३९ मा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो।

त्यसयता थ्री स्टार सधै नेपाली फुटबलको चर्चित क्लब रहँदै आएको छ। त्यसै क्लबका व्यवस्थापक हुन् मुकेश नकर्मी। मुकेश विगत डेढ वर्षदेखि ललितपुरे टोलीको व्यवस्थापकको जिम्मेवारी सम्हाल्दै आएका छन्। मंगलबजारका स्थानीय वासिन्दा मुकेश एक समर्थकको रूपमा २०३९ बाट थ्री स्टारसँग जोडिएका थिए।

सुरुआती दिनमा थ्री स्टारले हरेक खेलमा समर्थकको रूपमा रंगशालामा उपस्थित हुन्थे, तर अहिले मेरो जिम्मेवारी फेरिएको छ। समयको अन्तरालसँगै समर्थकबाट व्यवस्थापक भैसकेको छु। त्यसैले मेरो यात्रा अहिले प्यारापिटबाट थ्री स्टारको प्लेयर बक्ससम्म आइपुग्यो। जुन प्लेयर बक्सको जिम्मेवारी बलियो टोली निर्माण गर्न कुनै कसर बाँकी राख्ने छैन।

‘म स्थानीय क्लब भएकाले सुरुआती दिनबाटै थ्री स्टारसँग जोडिएको थिएँ,’ मुकेशले भने, ‘क्लबले गर्ने हरेक गतिविधिमा म प्रत्यक्ष संलग्न हुँदै आएँ। खेलाडीको रूपमा क्लबलाई योगदान दिन नसके पनि व्यस्थापनमा भने क्लबलाई सधैं योगदान दिन चाहान्थें।’

‘सुरुआती दिनमा थ्री स्टारले हरेक खेलमा म समर्थकको रूपमा रंगशालामा उपस्थित हुन्थे, तर अहिले मेरो जिम्मेवारी फेरिएको छ,’समर्थकको रूपमा रंगशालामा उपस्थित हुँदाका क्षण सम्झँदै मुकेश भन्छन्, ‘समयको अन्तरालसँगै समर्थकबाट व्यवस्थापक भैसकेको छु। त्यसैले मेरो यात्रा अहिले प्यारापिटबाट थ्री स्टारको प्लेयर बक्ससम्म आइपुग्यो।’
मुकेशले थ्री स्टारको बलियो टोली व्यवस्थापन कुनै कसर बाँकी नराख्ने बताए। उनी टोलीको सफलता कुनै एक व्यक्तिको मिहिनतबाट मात्र नभई सामूहिक इपोर्टबाट हुनेमा विश्वास गर्छन्।

‘थ्री स्टार समग्र नेपाली फुटबल विकासमा समर्पित क्लब हो,’मुकेशले भने, ‘यहाँ क्लबलाई सदैव पछ्याइरहने समर्थक पनि उल्लेख्य मात्रामा छन्, जुन टोलीको बलियो पक्ष हो। त्यसैले क्लबले यहाँसम्मको यात्रा तय गर्दा कुनै एक व्यक्तिको योगदानभन्दा पनि क्लबमा प्रत्यक्ष र अप्रत्यक्षमा रूपमा संलग्न विभिन्न व्यक्ति, संघसंस्था र समर्थकलाई धन्यवाद दिन चाहान्छौं।’

सुरुआती दिनमा परिवारबाट गतिलो साथ नपाएका मुकेश अहिले भने परिवारको सहयोग पाएपछि आफ्नो उर्जा बढेको बताउँछन्। ‘निरन्तर क्लबसँग जोडिएसँगै फुटबलप्रतिको प्रेम झाँगियो,’मुकेशले थपे, ‘व्यक्तिगत व्यवसायबाट फुर्सद निकाल्नु र हरेक खेलमा क्लबलाई समर्थन गर्न मैदान उपस्थित हुन सहज थिएन। सुरुआतमा परिवारसँग विभिन्न बाहाना बनाउँदै क्लबसँग मोफसलका प्रतियोगितामा सहभागी हुन जान्थें र तर विस्तारै क्लबको विभिन्न जिम्मेवारी सम्हाल्दै आएपछि अलि सहज वातावरण बन्यो।’

हस्तकला व्यवसायी मुकेश ०७३ सालदेखि भने पूर्णरूपमा आफ्नो व्यवसायबाट अलग हुँदै थ्री स्टारको व्यवस्थापकको जिम्मेवारी सम्हालिरहेका छन्। नेपालमा क्लब व्यवस्थापकको जिम्मेवारी सम्हाल्न सहज नभएको उनको भोगाई छ।
‘नेपालको सन्दर्भमा क्लब व्यवस्थापकको जिम्मेवारीलाई व्यवसायिक रूपमा लिइदैन,’मुकेशले भने, ‘क्लब सफल हुनु व्यवस्थापनको पनि ठूलो हात हुन्छ। तर क्लबले हातपार्ने हरेक सफलतामा खेलाडी र प्रशिक्षकको योगदानको प्रशंसा गरिए पनि क्लब व्यस्थापनलाई भने सधैं छायाँमा पारिन्छ।’

मुकेशले व्यस्थापकको जिम्मेवारी सम्हालेपछि थ्री स्टारले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गरि २० वटाभन्दा बढी प्रतियोगिता खेलिसकेको छ। जसमध्ये क्लबले १३ वटा प्रतियोगिताको फाइनलमा स्थान बनाउँदै ८ वटा उपाधि जितिसकेको छ। हालै मात्र भुटानको फुनसोलिङमा सम्पन्न जिग्मे दोर्जी वाङचुक अन्तर्राष्ट्रिय मेरोरियल गोल्डकपको उपविजेता बनेको थ्री स्टारले जारी सिजन सिमरा गोल्डकपको रूपमा सिजनको पहिलो उपाधि भित्राएको थियो।

‘हामीलाई फुटबलले नै नेपालकै एक चर्चित क्लबको रूपमा स्थापित बनाएको छ,’मुकेशले भने, ‘हामीले खेलाडीसँग व्यवसायिक सम्झौता गरेका छौं र उनीहरुको तलब र सुविधामा २०–३० लाख खर्च हुँदै आएको छ। अब हामी फुटबलबाट नै क्लबको आम्दानीको श्रोत बनाउने योजनामा छौं।’ जारी सिजन थ्री स्टारले लिगमा तेस्रो स्थानमा चिक्त बुझाएको थियो। मुकेशले हाल आफूहरु टोली पुर्ननिर्माणको योजनामा रहेको बताए।

‘हामीले यस वर्षको लिगमा उत्कृष्ट सुरुआत गर्दा गर्दै पनि स्वभाविक लयलाई अन्तिमसम्म निरन्तरता दिन नसक्दा तेस्रो स्थानमा चिक्त बुझायौं,’मुकेशले भने, ‘हामीले गत सिजन मोफसलका प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका थियौ। यसपटकको प्रतियोगितालाई भने हामीले अर्को सिजनको लिगका लागि टोली पुनर्निर्माणको रूपमा लिएका छौं। हामीसँग अहिले अजय मार्टिन्स र पिटर सेगुन विदेशी खेलाडीको रूपमा आबद्ध छन्। 

अखिल नेपाल फुटबल संघ(एन्फा)ले यसै सिजनबाट प्रत्येक टोलीमा एक दक्षिण एसियाली खेलाडी अनिवार्य गरे पनि यस पटक ढिला मात्र जानकारी भएकाले हामीले दक्षिण एसियाली खेलाडी भित्राउन सकेनौं। अर्को पटक भने हामी दक्षिण एसियाली खेलाडीलाई पनि भित्राउने छौं।

प्रकाशित: १८ फाल्गुन २०७५ ०४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App