२७ श्रावण २०७७ मंगलबार
खेल

नेपालको अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालको अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ। थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ।

प्रतियोगितामा ५ खेल खेलेको नेपालले ४ खेलमा जित तथा एउटा खेलमा हार ब्यहोर्दै ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। आयोजक थाइल्याण्ड भने पाँचवटामै जित निकाल्दै १० अंकका साथ शीर्ष स्थानमा रहेको छ। नेपालका लागि थाइल्याण्डसँगको हार अघिल्लो चरण प्रवेशका लागि बाधक बन्ने देखिन्छ।

‘क्वालिफायर’मा युएईले पनि पाँच खेलमा चार खेल जित्दै आठ अंक जोडेको छ। नेपाल थाइल्याण्डसँग पराजित भएको थियो भने युएई नेपालसँग पराजित भएको थियो। समान अंक भएपनि रनरेटको आधारमा युएई दोस्रो र नेपाल तेस्रो स्थानमा छन्। अब लिगको अन्तिम खेलमा थाइल्याण्ड र युएईबीच खेल हुनेछ। यस्तै नेपालले कुवेतसँग खेल्नेछ।

अब नेपाल छनोट हुने सम्भावना भनेको गणितीय हिसाबमा मात्र बाँकी छ। थाइल्याण्ड र युएईबीच हुने खेल युएईले झिनो अन्तरले जित्न सके र नेपालले कुवेतलाई फराकिलो अन्तरमा पराजित गर्नसके मात्र नेपाल अघिल्लो चरण पुग्नेछ। नेपालले कुवेतलाई फराकिलो अन्तरले पराजित गर्ने अनी थाइल्याण्डलाई पनि युएईले पराजित गरेमा तीन टोलीको समान १० अंक हुनेछ। यस्तो अवस्थामा राम्रो रनरेट हुने टोली पहिलो बन्दै टी–२० र ५० ओभर दुवैको ग्लोबल क्वालिफायरमा पुग्नेछ।

यस्तो अवस्थामा नेपालले बुधबार हुने खेलमा कुवेतलाई फराकिलो अन्तरले हराउनुपर्ने हुन्छ भने थाइल्याण्डको हारको कामना पनि गर्नुपर्नेछ। छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन्।

एसियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि सुरुवाती खुड्किलोको रूपमा रहेको यो प्रतियोगिता रहेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले थाइल्याण्डसँगको हार नेपालका लागि छनोटमा बाधक बनेको प्रतिक्रिया दिए।

‘यो पटक हामीलाई थाइल्याण्डसँग अघिल्लो महिना बेहोरेको हारको बदला लिने अवसर थियो, त्यसमा सफल हुन नसक्दा ग्लोबल क्वालिफायर छनोट कमजोर बन्यो’, दासले भने। नेपाल महिला राष्ट्रिय टोली अघिल्लो महीना थाइल्याण्डमै भएको टि–२० स्म्यास क्रिकेटको फाइनलमा पनि थाइल्याण्डसँगै पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो। समूह चरणमा अपराजित रहँदै नेपालले फाइनलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गरेको थियो। 

अहिलेसम्मको खेल तालिका यस प्रकार रहेको छ। 

टोली             खेल  जित   हार   अंक     नेट रनरेट 

थाइल्याण्ड       ५     ५       ०     १०          ३.४४९ 

युएई                ५      ४      १      ८         १.८४३ 

नेपाल              ५       ४       १      ८        ०.३४५ 

चीन                 ६       ३       ३      ६       ०.३३७ 

हङकङ           ५       १       ४       २      –०.६५३ 

मलेसिया           ५        १       ४      २       –१.८७९ 

कुवेत                 ५      ०        ५      ०         –३.७५३ 

(रासस)

प्रकाशित: १४ फाल्गुन २०७५ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App