१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हिरो वुमन्स गोल्डकप : नेपाल उपविजेतामै सीमित

काठमाडौं – भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपको फाइनल प्रतिस्पर्धामा म्यानमारलाई ३–१ को नतिजा सुम्पिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना शुक्रबार अधूरो बनेको छ।

भारतको उडिसास्थित कलिङ्ग रंगशालामा भएको फाइनल खेलको नेपालले पहिलो हाफमा १–१ को गोलको बराबरी खेले पनि दोस्रो हाफमा भने लयलाई निरन्तरता दिन सकेन। नेपालभन्दा सबै पक्षमा बलियो देखिएको म्यानमारले उत्कृष्ट खेल प्रदर्शन गर्दै ३४औं मिनेटमा नेपालविरुद्ध अग्रता लिएको थियो।

म्यानमारका लागि लागि ई ई उले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन्। नेपाली टोलीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै ई ई उले आकर्षक गोल गर्दै खाता खोलेकी थिइन्। एक गोलले पछि परे पनि आक्रामक शैलिलाई निरन्तरता दिएको नेपाली टोलीले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्कायो। नेपालका लागि मञ्जली योञ्जनले गोल गर्दै खेल बराबरीमा ल्याइन्।

पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा म्यानमार नेपाल टोलीमाथि पूरै हाबी भयो। पहिलो हाफको लयलाई निरन्तरता दिन नसकेको नेपालले थप दुई गोल बेहोर्न बाध्य भयो। निरिह देखिएको नेपालविरुद्ध म्यानमारका लागि विन तोङले ५३औं मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाइन्। त्यसको ५ मिनेटपछि फेरी नेपालको पोस्टमा म्यानमारले तेस्रो गोल थप्यो। ई ई उले नै व्यक्तिगत दोस्रो गोल गरिन्।

पेनाल्टीबक्स नजिकैबाट गरेको प्रहार नेपाली गोलकिपर अञ्जली तुम्बाप्पोले रोक्न सकिनन्। बाँकी समयमा नेपाली टोलीले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र उपविजेतामा सीमित बन्यो। प्रतियोगिताको पहिलो खेलमा म्यानमारविरुद्ध ३–० ले पराजित भएको नेपाल फाइनलमा पनि स्तब्ध बन्न बाध्य भयो।

लिगको दोसो खेलमा भारतलाई २–१ ले र इरानलाई ३–० ले पराजित गर्दै राउन्ड रोबिन लिगको दोस्रो स्थानमा रहेपछि नेपालले उपाधि भिडन्त तय गरेको थियो। साफ च्याम्पियनसिपको तयारी स्वरूप आयोजना गरिएको प्रतियोगितामा च्याम्पियन म्यानमारसँगै आयोजक भारत, इरान र नेपालले सहभागिता जनाएका थिए। पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका हरि खड्काले सम्हालेको महिला टोलीले भारतमाथि पहिलो पटक जित निकालेको थियो।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन नसक्दा म्यानमारलाई ३–१ को नतिजा सुम्पियो।

प्रकाशित: ४ फाल्गुन २०७५ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App