काठमाडाैं - भारतमा जारी हिरो महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपालले इरानमाथि प्रभावशाली जित दर्ता गरेको छ। फिफा बरियतामा आफु भन्दा ४८ औं स्थान माथि रहेको इरानलाई नेपालले ३-० ले पराजित गरेको हो। जितसँगै नेपालको फाइनल प्रवेश सम्भावना बलियो बनेको छ।
भारतको उडिसा स्थित कालिङ्गा रंगशालामा सम्पन्न खेलमा नेपाललाई विजयी गराउन सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गरिन्। उनले नेपालका लागि २ गोल गर्दा अनिता बस्नेतले एक गोल गरिन्। नेपाललाई खेलमा अग्रता भने अनिताले दिलाएकी थिइन्। उनले खेलको ४१ औं मिनेटमा गोल गरेकी थिइन्। यस्तै सावित्राले ५९ औं र ८९ औं मिनेटमा गोल गरिन्। सावित्राले यसअघि भारत विरुद्धको खेलमा समेत उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेकी थिइन्। जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ। नेपाल पहिलाे खेलमा म्यानमारसँग पराजित भएकाे थियाे।
इरान र भारत विरुद्धको खेल जितेपनि नेपालले फाइनल प्रवेश गर्न भारत र म्यानमार बीच हुने खेलको नतिजा कुर्नुपर्नेछ। यी दुई बीचको खेल केही समयमै सुरु हुने भएको छ।
प्रकाशित: १ फाल्गुन २०७५ १२:३६ बुधबार