१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

प्रदेशस्तरीय छनोट मिति बुधबार तय हुने

काठमाडौं –  आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोटको मिति  बिहीबार तय हुने भएको छ। बिहीबार हुने आठौं राष्ट्रिय खेलकुदको कार्यसमिति बैठकले सातै प्रदेशको छनोट मिति र स्थान तय गर्न लागेको हो। सोही बैठकले पाँच नम्बर प्रदेशमा हुने आठौं राष्ट्रिय खेलकुदको मिति निर्धारण गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड समक्ष सिफारिस गर्नेछ।

कुल ३५ खेलमा प्रदेशस्तरको छनोटमा १४ हजार ६ सय २४ खेलाडीले ८ हजार चार सय ३४ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय स्तरमा भने दुई हजार ६ सय ८७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

आठौं राष्ट्रिय खेलकुदलाई सहज रूपमा सञ्चालन गर्न बुधबार विविध कार्यक्रममा सञ्चालन भएको छ। बुधबार भएको आठौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि आवश्यक आर्थिक निर्देशिका र प्राविधिक विषयमा भएको अभिमुखीकरण कार्यक्रममार्फत बिहीबारका लागि आठौं खलकुदको सचिवालय बोर्ड बैठक तय भएको थियो।

गत सातौं राष्ट्रिय खेलकुदमा भएको समस्यालाई मध्यनजर गर्दै आठौं राष्ट्रिय खेलकुदको सचिवालयले बुधबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यतामा राखेपका सदस्य, विभागीय प्रमुखका साथै सातै प्रदेशका संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखहरू र राखेपका कर्मचारीलाई आर्थिक निर्देशिका र प्राविधिक विषयमा जनाकारी दिएको थियो।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलपरिसरमा आयोजित कार्यक्रममा कोष तथा लेखा निर्देशन कार्यालय र महालेखा परीक्षणका प्रतिनिधिले समेत आठौं राष्ट्रिय खेलकुद सञ्चालनमा रहेको जनशक्तिलाई प्रशिक्षण दिएका थिए। उक्त अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय खेलकुद सञ्चालनका क्रममा आइपर्ने समस्याका बारेमा छलफल भएको थियो।

सचिवालयले आठौं राष्ट्रिय खेलकुदलाई पारदर्शी, कम लागत, विवादरहितका साथै भव्य रूपमा सम्पन्न गर्न आठौंका सरोकारवालासँगको छलफल आवश्यक रहेको जनाएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई पारदर्शी, कम लागत तथा भब्य रूपमा सञ्चालनका लागि यस्ता किसिमका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

‘अघिल्लो संस्करणमा केही समस्या आइपरेका थिए,’ राखेपका सदस्यसचिव विष्टले भने, ‘केही त्रुटि पनि नहून्  भन्ने उद्देश्यले आठौंका लागि दक्ष जनशक्ति बनाउन यो कार्यक्रममा ल्याइएको हो। उक्त कार्यक्रमका सहभागी आठौंका सरोकारवालाले प्रतियोगिताका दौरान आइपर्ने विभिन्न कठिनाइलाई समाधान गर्ने र निर्देशिकामा रहेका प्रावधानमा देखिएका त्रुटिका बारेमा औंल्याएका थिए।

कार्यक्रममा सदस्यसचिव विष्टले आठौं राष्ट्रिय खेलकुदलाई विगतभन्दा फरक ढंगले सञ्चालन गर्न र उक्त प्रतियोगितालाई पारदर्शी, कम लागत र विवादरहित भव्य रूपमा सम्पन्न गर्न प्रदेश संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखलाई निर्देशन दिए।

एकदिने कार्यक्रममा कोष तथा लेखा निर्देशन कार्यालय तथा महालेखा परीक्षणका प्रतिनिधिले आर्थिक दायरामा बसेर कार्य गर्नुका अलावा लेखा चुस्तदुरुस्त राख्नुका साथै समयमै पेस्की फछ्र्याैटसम्बन्धी कार्य गर्न सुझाव प्रदान गरे।

प्रकाशित: २४ माघ २०७५ ००:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App