१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

माघ २५ देखि ‘बी’ डिभिजन लिग, पहिलो खेलमा झम्सीखेल र ब्वाइज युनियन भिड्ने

काठमाडौं –  पुरस्कार रकम र तयारी खर्च हाराहारी रहेको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल आगामी माघ २५ गतेदेखि सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गर्न लागेको ‘बी’ डिभिजनमा पनि घटुवा र बढुवा नहुने प्रावधान रहेको छ। कुल १२ क्लबलाई दुई समूहमा विभाजन गरी खेलाइने लिगका सबै खेल सातदोबाटोको एन्फा कम्प्लेक्समा हुनेछन्। दुवै समूहमा समान ६ टोली हुनेछन् भने समूहको लिग समाप्तिमा शीर्ष दुई स्थानमा रहने क्लबले दोस्रो चरणमा स्थान बनाउनेछन्।

दोस्रो चरण पुग्ने सहभागी चार क्लबको मात्र वरीयता निर्धारण हुनेछ। लिगको विजेताले ८ लाख, उपविजेताले पाँच लाख, तेस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक क्लबले तयारी खर्चबापत ७ लाख रुपैयाँ पाउनेछन्। एक खेल जितेबापत २० हजार प्रदान गरिने लिगमा पहिलो चरणको अन्तिम स्थानमा रहने दुई क्लबलाई –१ अंकमा राखिनेछ।

आगामी फागुन २१ गतेसम्म हुने लिगको विधागत उत्कृष्टले २५ हजार रुपियाँ पाउनेछन्। समूह ‘ए’ मा झम्सीखेल युथ, आरसिटी, श्रीकुमारी, सातदोबाटो युथ, नयाँ बस्ती युथ र ब्वाइज युनियन क्लब तथा समूह ‘बी’ मा टुसाल युथ क्लब, पुलचोक स्पोटर्स, मध्यपुर युथ, खुमलटार युथ, बाँसबारी र श्री भगवती क्लब छन्। माघ २५ गतेको उद्घाटन खेलमा दुई समूहबाट समान १–१ खेल हुनेछन्।

पहिलो दिन समूह ‘ए’ का झम्सीखेल युथ र ब्वाइज युनियन तथा समूह ‘बी’ का टुसाल युथ र श्री भगवती युथ क्लबबीच खेल हुनेछन्।  

प्रकाशित: ८ माघ २०७५ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App