काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबारबाट ११औं चरणको खेल सञ्चालन हुँदै छन्। दशौं चरण सकिँदासम्म अघिल्लो पंक्तिका क्लबको स्थिति प्रस्टिँदै गए पनि पुछारका क्लबको सकस बढ्दै गएको छ।
११औं चरणको पहिलो खेलमा बुधबार ब्रिगेड ब्वाइज (बिबिसी) ले हिमालयन शेर्पाको सामना गर्दै छ। अंक घटाउने प्रावधानसहित आयोजना गरिएको लिगमा बिबिसी तालिकाको पुछारबाट तेस्रो स्थानमा छ। गोलअन्तरका आधारमा अंक घट्ने स्थान भन्दा एक स्थानमा माथि मात्र रहेको बिबिसी हिमालयनविरुद्ध जित निकाल्ने उद्देश्यमा रहनेछ।
उता शीर्ष ६ भित्र अटाउने उद्देश्यमा रहेको हिमालयन आठौं स्थानलाई सुधार गर्दै सम्मानजनक नतिजाको पर्खाइमा रहनेछ। १०औं चरणको समाप्तिमा हिमालयनको १४ अंक छ भने एक खेलमा जित र ३ खेलमा बराबरी खेलेको बिबिसीको ६ अंक छ। यी दुईको प्रतिस्पर्धा एन्फा मुख्यालयमा दिनको ११ बजे हुँदै छ।
राष्ट्रिय खेलाडी उत्पादनको मेरुदण्ड मानिएको लिग केही समय रोकिँदा आयोजक आलोचित बनिरहेका बेला रेलिगेसन नहुने लिगै भए पनि आयोजना गर्दै एन्फाले आफ्नो आलोचनालाई केही मत्थर पारेको छ।
यस्तै अर्को खेलमा तालिकाको १०औं र १३औं स्थानमा रहेका टोलीद्वय जावलाखेल युथ क्लब र मच्छिन्द्र क्लबबीच एन्फा मुख्यालयमा दिनको दोस्रो खेल हुँदै छ। अंक घट्ने डरमा रहेको मच्छिन्द्र बुधबार हुने खेलमा जावलाखेलविरुद्ध जित निकाल्दै स्थान सुधार गर्ने उद्देश्यमा रहनेछ भने जावलाखेल पनि जितको खोजीमा मैदान उत्रिनेछ। लिगमा जावलाखेलको १० खेलबाट ८ अंक छ भने अंक घट्ने खतराको स्थानमा भएको मच्छिन्द्रको ६ अंक छ।
यस्तै हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ क्लबको मैदानमा हुने खेलमा तालिकाको पुछारमा रहेको न्युरोड टिम (एनआरटी) ले ११औं स्थानमा रहेको फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। लिगमा तीन खेल बाँकी रहँदासम्म अंक घट्ने स्थानभन्दा माथि उक्लिन नसकेको एनआरटी बुधबार हुने खेलमा गर र मरको अवस्थामा हुनेछ।
अर्को सिजन लिगमा घटेको अंकबाट लिग सुरुआत गर्ने बाध्यता चिर्न एनआरटीलाई बुधबारको सहित बाँकी सबै खेल जित्नैपर्ने बाध्यता छ। यद्यपि अरूको नतिजा पनि यसमा कारण हुन सक्छ। उता पुछारबाट चौथो स्थान रहे पनि घटुवाको त्रासमा नै रहेको फ्रेन्ड्स पनि जितकै खोजीमा मैदान उत्रिँदै छ। १० मध्ये २ मा जित, २ बराबरी र बाँकी सबैमा नतिजा सुम्पिएको फ्रेन्ड्सको तालिकामा ८ अंक छ। पुछारमा रहेको एनआरटीको ४ अंक छ।
कुल ९१ खेल रहेको लिगमा १०औं चरणको समाप्तिसम्म ७० खेल सम्पन्न भइसकेका छन्। लिगमा अब २१ खेल आयोजन हुन बाँकी छ। शतप्रतिशत नतिजासहित मनाङ मर्स्याङ्दी क्लब ३० अंकका साथ शीर्ष स्थानमा छ। संकटा २५ अंकका साथ दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको मनाङभन्दा ५ अंकले पछि छ। उपाधि दाबेदार मानिएको ललितपुरे टोली थ्री स्टार २३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने विभागीय टोली त्रिभुवन आर्मी १८ अंकका साथ चौथो स्थानमा छ। एपिएफ १६ अंकका साथ पाँचाैं स्थानमा छ।
राष्ट्रिय खेलाडी उत्पादनको मेरुदण्ड मानिएको लिग केही समय रोकिँदा आयोजक आलोचित बनिरहेका बेला रेलिगेसन नहुने लिगै भए पनि आयोजना गर्दै एन्फाले आफ्नो आलोचनालाई केही मत्थर पारेको छ। तर केही प्राविधिक त्रुटिले खेलदौरानमा देखिने विवादबाट भने ऊ उम्कन सकेको छैन।
आजका खेल
ब्रिगेड ब्वाइजविरुद्ध हिमालयन शेर्पा – ११ः०० बजे (एन्फा मुख्यालय)
जावलाखेलविरुद्ध मच्छिन्द्र – २ः३० बजे (एन्फा मुख्यालय)
एनआरटीविरुद्ध फ्रेन्ड्स – २ः३० बजे (हलचोक)
प्रकाशित: ११ पुस २०७५ ०५:१३ बुधबार