काठमाडौं - नेपाली खेलाडी जिस्वाँ तुलाधार श्रेष्ठ ‘सुपरस्टेज थाइल्यान्ड जिमखाना कम्पिटिसनमा’ मा तेस्रो भएकी छन्।
थाइल्यान्डको बैंककमा आइतबार भएको ‘सुपरस्टेज थाइल्यान्ड जिमखाना कम्पिटिसन २०१८’ को महिलातर्फ जिस्वाँ तेस्रो भएकी हुन्।
बैंककमा सफलता प्राप्त गरेपछि जिस्वाँले आगामी दिन थप उचाइ प्राप्त गर्न मिहिनेत गर्ने बताइन्। उनी उक्त प्रतियोगितामा नेपालको तर्फबाट भाग लिने पहिलो महिला राइडरसमेत हुन्।
च्याम्पियनसिपमा इन्डोनेसियाकी खेलाडी पहिलो हुँदा ताइवानकी खेलाडीले दोस्रो भए। पुरुषतर्फ नेपालका आशिष भारती र दिव्यज्योतिले प्रतिस्पर्धा गरे पनि सफलता हात पार्न सकेनन्। नेपाली टोलीको व्यवस्थापकमा यदुराज लामिछाने छन्। प्रतियोगितामा १६ देशका ४८ खेलाडीले ४ विधामा चुनौती प्रस्तुत गरेका थिए।
नेपाल अटो मोबाइल एसोसियसन (नाडा) अन्तर्गतको नेपाल मोटर स्पोर्ट्स क्लबले देशव्यापी प्रतियोगिताबाट छनोट गर्दै थाइल्यान्डमा सहभागिता गराउँदै आइरहेको छ। घरेलु प्रतियोगितामा च्याम्पियन खेलाडीले मात्र थाइल्यान्डमा सहभागिता जनाउन पाउने नियम रहेको छ।
प्रकाशित: १० पुस २०७५ ०३:०६ मंगलबार