१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

टुँडिखेलमा रग्बी विश्वकप ट्रफी

टुँडिखेलमा सम्पन्न फिफ्टिन ‘ए’ साइड रग्बी खेलमा नेपाल आर्मीका संजय अधिकारीलाई रोक्ने प्रयास गर्दै गोर्खाली रग्बी क्लबका सुनील ठकुरी र प्रेम कोइराला । तस्बिर : नागरिक

काठमाडौं – विश्व रग्बीको ‘प्रोजेक्ट एसिया १० लाख’ लक्ष्यको मुख्य अंगका रूपमा ‘रग्बी विश्वकप २०१९ मैदानबाहिर प्रभाव’ नामक कार्यक्रम यही शनिबार टुँडिखेलमा आयोजना गरिएको थियो। जसमा २,५०० मानिसले सहभागिता जनाएका थिए।

नेपालका उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको उक्त कार्यक्रममा सबै तप्काका मानिस सहभागी भए। उनीहरूमध्ये धेरै जनाले पहिलोपटक रग्बी बललाई छोएको बताएका थिए। नेपाल रग्बी संघले तल्लो तहसम्म यस खेलको विकासका लागि कार्य गरिरहेको छ। सांगीतिक कार्यक्रममाझ प्रदर्शन गरिएको वेब एलिस कपलाई दर्शकहरूले नजिकबाट अवलोकन गर्ने मौकासमेत पाए।

ट्रफी टुरको लक्ष्य नै खेल मैदानबाहिर पनि प्रभाव छोड्नु रहेकाले यस्ता कार्यक्रमले यो खेलको विकासमा सहयोग पुग्ने अनुमान गरिएको छ। प्रोजेक्ट एसिया वान मिलियन, मैदानबाहिर प्रभावको एक अंग हो, जसको लक्ष्य एसियामा २०२० सम्ममा १० लाख नयाँ मानिसलाई रग्बीमा सहभागी गराउनेछ। एसियाभर गरेर अहिले नै ९ लाख मानिसको सहभागिता भइसकेको छ।

विश्व रग्बीका अध्यक्ष बिल बिउमाउन्ट भन्छन्, ‘रग्बी विश्वकप ट्रफी टुरले नयाँ खेलाडी र दर्शकलाई आकर्षित गर्न सफल भइरहेकोमा हामी निकै उत्साहित छौं। यस पटकको रग्बी विश्वकप एसियामा नै  रहेको जापानमा हुने भएकाले पनि एसियाका दर्शक तथा फ्यानका लागि यो निकै उत्साहप्रद समय छ। जापानमा रग्बी विश्वकप आयोजना भएसँगै एसियामा नै रग्बीले महत्व पाउनेमा आशावादी छौं।’

वेब एलिस कप पहिलो पटक नेपाल ल्याइएको थियो र यसलाई समुद्र सतहभन्दा धेरै माथि (५५०० मिटर) कालापत्थर पुर्याइएको थियो। ट्रफीलाई अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त वर्षखेलाडी रहिसकेका, रग्बीका बेलायती पूर्वखेलाडी ओले फिलिप्सले उक्त उचाइमा लगेका थिए।

यसअघि ट्रफीलाई २००७ मा फ्रान्समा आयोजना भएको रग्बी विश्वकपको बेला ४,८०८.७ मिटरको उचाइमा रहेको माउन्ट ब्ल्यांक लगिएको थियो। यस्तै २०१५ मा बेलायतको स्नोडन (१,०८५ मिटर) मा वेल्सका पूर्वखेलाडी रुपर्ट मुनले लगेका थिए। यस्तै स्क्याफेल पाइक (९७८ मिटर) मा विश्व रग्बीका अध्यक्ष बिल बिउमाउन्ट र पूर्वबेलायती खेलाडी म्यागी एलफोन्सीले लगेका थिए। यस्तै २०१६ मा १,७५२ मिटर अग्लो माउन्ट हिकुरांगीमा २०१५ का रग्बी विश्वकप  विजेता टोलीका सदस्य न्युजिल्यान्डका नेहे मिल्नेर–स्कुडरले पुर्याएका थिए।

काठमाडौंमा छँदा ट्रफीलाई नेपालका लागि जापानका राजदूत मासामिची साइगोले पनि स्वागत गरेका थिए। उनले ट्रफीको सम्मानमा विशेष भोजको समेत आयोजना गरेका थिए। जसमा २०१५ को विश्वकप आयोजकका तर्फबाट प्रतिनिधित्व गर्दै बेलायती राजदूत रिचर्ड मोरिस सहभागी थिए। ट्रफीलाई काठमाडौंको स्वयम्भूनाथ मन्दिर, बौद्धनाथ र पशुपतिनाथका साथै पाटन दरबार क्षेत्र पनि पुर्याइएको थियो।

नेपाल विश्वकप ट्रफी टुरअन्तर्गत पर्ने २० राष्ट्रमध्येको दशौं गन्तव्य हो। यो २०१८ को अन्तिम गन्तव्य पनि हो। ट्रफीले एसिया भ्रमण गरेको यो पाँचौं अवसर हो। यसअघि ट्रफीलाई हङकङ, चीन, फिलिपिन्स र भारत लगिसकिएको छ। अब जनवरीमा यसको अर्को गन्तव्य मलेसिया हुनेछ। यसले एसियाको जापानमा हुन लागेको आगामी विश्वकपका लागि वातावरण तयार पारिरहेको छ। यस्तै अर्को वर्ष ट्रफीलाई पाकिस्तान, ब्राजिल, चिली पुर्याइनेछ।

रग्बी विश्वकप २०१९ जापानमा आयोजना हुन लागेको नवौं संस्करण हो, जुन एसियामा पहिलो पटक आयोजित हुँदै छ। विश्वका २० टिमले ४८ खेल खेल्ने यस प्रतियोगिता १२ विभिन्न सहरमा आयोजित हुनेछ। प्रतियोगिता २० सेप्टेम्बरमा सुरु भई २ नोभेम्बरमा समापन हुनेछ। रग्बी विश्वकप यस खेलको सबैभन्दा महत्वपूर्ण आर्थिक पाटो हो, जसले यस खेलको विकासका लागि चाहिने ९० प्रतिशत रकम जोहो गर्न मद्दत गर्छ। बेलायतमा आयोजना भएको विश्वकप २०१५ रग्बीमा २०२० सम्म लगानी गर्नका लागि २४५.८ मिलियन पाउन्ड रकम उठाएको थियो।

प्रकाशित: २५ मंसिर २०७५ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App