४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

पार्टीको अनावश्यक हस्तक्षेप सहन्नँ : विष्ट

केशवकुमार विष्ट, सदस्यसचिव, राष्ट्रिय खेलकुद परिषद्

आगामी असारसम्म कार्यकाल रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट निर्धारित समयमै आठौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न आफू दृढ रहेको बताउँछन्। पार्टीबाट चल्ने मानिस नभएको दाबी गर्ने उनी पार्टीको अनावश्यक हस्तक्षेप पनि नसहने तर्क गर्छन्। राम्रा सुझाव सबैबाट ग्रहण गर्ने तर अनावश्यक दबाबको प्रतिकार गर्न पछि नपर्ने बताउने सदस्यसचिव विष्टसँग आठौं राष्ट्रिय खेलकुदका सन्दर्भमा नागरिककर्मी कमल खत्रीले गरेको कुराकानी :

आठौँ राष्ट्रिय खेलकुद हुने भौतिक पूर्वाधार निरीक्षण गरेर फर्कनुभयो। पूर्वाधार निर्माणको गतिबाट सन्तुष्ट हुनुहुन्छ ?
केही काम सन्तोषजनक छन्। कतै ढिला भएको छ। कहीँ राम्रो भएको छ। त्यसमध्ये औसत रूपमा भन्दा अलि जोडबल गर्नुपर्नेछ। अब तीव्रताका साथ काम गर्नुपर्ने देखिएको छ। त्यसका लागि म निरीक्षणमा आएको हुँ। हप्तादिनभित्र अहिले देखेको भन्दा अप्रत्याशित प्रगति देखिनेछ। अब म १० दिनपछि पुनः निरीक्षणमा आउँछु। त्यो बेला आजको भन्दा निकै प्रगति भएको हुनेछ।

त्यसो भए अब राष्ट्रिय खेलकुद पुनः सर्दैन ?
सर्दैन। माघ २५ देखि फागुन ३ गतेसम्म भनेका छौं हामीले। त्यही मितिमा हुन्छ। ५ नम्बर प्रदेशवासीले सार्नुपर्छ भन्नुहुन्छ भने ५ देखि १० दिन सार्नुमा कुनै आपत्ति भएन। तर हामी सार्ने पक्षमा छैनौं। तोकिएकै समयमा पूर्वाधार तयार गरेर प्रतियोगिता गर्छाैं। पूर्वाधार निर्माण कतै नसकिए पनि अर्को विकल्प हेरेर आयोजना गर्छौं।

पूर्वाधारकै कारण सरेको हो त राष्ट्रिय खेलकुद ?
होइन। बजेट पर्याप्त छैन। सरकारले बजेट नै उपलब्ध गराएन भने त सार्नुपर्ला, स्थगित नै नहोला।
मिति तोक्ने, तर तोकिएको मितिमा आयोजना गर्न नसक्ने। यो एउटा आदत भइसकेको छ नेपाली खेलकुदमा।

पार्टीको अनावश्यक हस्तक्षेप सहन्नँ : विष्ट
मंसिरबाट फागुनमा आठाैं राष्ट्रिय खेलकुद गर्नुपर्ने बाध्यता भयो। नेपालले दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्ने तयारी भइरहेको थियो। सागको तयारीका रूपमा हामीले आठौँ खेलकुदलाई लिइरहेका छाैं। त्यसमा हामीले धेरै कुराको कम्प्रमाइज गर्नुपर्यो। बाध्यकारी अवस्थामा मंसिर तोकेका हौं। जब साग खेलकुद सर्यो तब हामीले किन धेरै कुरामा कम्प्रमाइज गर्ने भन्ने भयो। अब सहज रूपमा गर्ने भनेर माघ महिनामा लगेका हौं। मिति २० दिन ५० दिन, २, ४ हप्ता सर्नु ठूलो कुरा होइन। सालसालै सर्यो भने ठूलो कुरा हो। अब भारतले पाँच वर्षमा साग खेलकुद आयोजना गरेको छ। कहिलेकाहीं ओलम्पिक सर्छ, विश्वकप सर्छ। हाम्रोमा अहिले एक पटक मात्र सरेको छ। हामीले दुई वर्षमा आयोजना गर्ने भनेका छौं। दुई वर्षमै गर्छौं।

राष्ट्रिय खेलकुद गर्ने मिति तोक्दा किन राम्ररी अध्ययन गरिँदैन। किन हचुवाको भरमा मिति तोकिन्छ ?
केही समस्या छन्। पहिलो त हाम्रो देशको आर्थिक अवस्था। देशको नीतिनिर्णय गर्ने ठाउँ। विधि प्रक्रियामा समस्या छ। हामीले चाहेर मात्र यसमा परिवर्तन हुन सक्दैन। बजेट समयमा आउँदैन। अहिले पनि बजेट पर्याप्त छैन। जोखिम मोलेर अगाडि बढिरहेका छौं। खेलकुदको गतिअनुसार अगाडि बढिरहेका छौं। अहिले पनि कार्यनीति बनेको छैन। सातौं राष्ट्रिय खेलकुद पनि हामीले एउटा आत्मबल, हिम्मतले गरेर पार लगाएका हौं। अहिले पनि पार लगाउँछौ। सहज छैन। तर विगतभन्दा केही सुधार भएको छ। 

अपर्याप्त तयारीमा आयोजना गर्दा राष्ट्रिय खेलकुदले बोकेको लक्ष्य पूरा हुन सकेको छैन। संस्करण बढाउन मात्र भइरहेको जस्तो देखिन्छ। राष्ट्रको लगानी खेर गइरहेजस्तो लाग्दैन ?
समस्या छ। खेलकुदलाई हेर्ने सरकारको दृष्टिकोण। खेलकुदको महत्व, आवश्यकतालाई सरकारले कसरी लिएको छ भन्ने त छर्लङ्ग छ। हिजो त यो पनि थिएन। अहिले अलि सुधार भएको छ। बजेटमा विगतभन्दा धेरै सुधार भएको छ। काठमाडौंभन्दा बाहिर केही विकास हुँदै छ। हिजो यो पनि थिएन। अब सातौंमा हामीले जे भोग्याैं आठौंमा त्यो नहोस् भनेर लागिरहेका छौं। सातौंमा भोगेको समस्या आठौंमा दोहोरिन्न।  अब आठौंमा भोगेको समस्या नवौंमा नहोस् भनेर सजग छौं। १० वर्षपछि कहाँ आयोजना गर्ने हो त्यो तोकेर पूर्वाधार निर्माण र तयारी सुरु गर्नुपर्छ। अनि मात्र पूर्वाधार पूरा हुन्छ। ६ महिनाअघि निर्णय गरेर हामी खेलकुद गर्ने गर्छाैं यो शैलीबाट काम गर्न सकिन्न।

आठौँ खेलकुद सर्नुको मुख्य कारण साग भन्नुहुन्छ। तर निर्माण भइरहेको पूर्वाधार हेर्दा आयोजना गर्न सक्ने अवस्था थिएन। खास कारण के हो ?
मुख्य कारण साग खेलकुद नै हो।

खेलकर्मी प्रतियोगिता माघमै हुन्छ भन्नेमा अझै ढुक्क छैनन्। के फेरि सर्न सक्छ आठौं राष्ट्रिय खेलकुद आयोजना मिति ?
मैले तामा–तुलसी गरेर सर्दैन भन्नु भएन। हामी त्यस्तै कुराबाट गुज्रिरहेको हुनाले शंका हुनु स्वाभाविक हो। पुराना कुरा हट्छन्। देशमा सुधार हुन्छ। देशमा नयाँ परिपाटी आउँछ। विश्वास गर्ने बानी बसाल्नुपर्छ। माघ २५ पछि सार्नुपर्ने कुनै आधार छैन। राखेपका कारणले माघ २५ मिति सर्दैन।

बजेट निकासीमा समस्या छ भन्नुभयो। मन्त्रालय र राखेपको समन्वय किन मिल्दैन ?
सम्बन्ध राम्रो छ। कर्मचारीको काम गर्ने शैली, पद्धतिले केही ढिला हुन्छ। काम गर्ने बानी छैन। सरकारसँग पर्याप्त बजेट छैन। गरिब देशमा भएपछि केही समस्या सामना गर्नुपर्छ। देश समृद्ध हुँदै गए यी समस्या आफैँ हट्छन्।

नेकपाको पार्टी एकीरणले राष्ट्रिय खेलकुद आयोजनामा असर गर्न थालेको चर्चा छ। त्यसले पनि केही समस्या थपेको हो ?
ती कसैको मनका कुरा होलान्। मलाई त्यस्तो लागेको छैन। म पार्टीको निर्देशनबाट चल्ने मान्छे होइन। पार्टीका अनावश्यक हस्तक्षेप म सहन्नँ। राम्रा सुझाव जोसुकै जुन पार्टीले दिए पनि सुन्छु। हस्तक्षेप सुन्ने मान्छे होइन। अहिलेसम्म सहेको पनि छैन। बानी पनि छैन। त्यस्तो दबाबमा काम गर्ने मान्छे पनि होइन। पार्टीको कुनै नेताको अनावश्यक हस्तक्षेप मलाई स्वीकार्य छैन। त्यो मैले सार्वजनिक रूपमा भनेको छु। पार्टीमा पनि भनेको छु। पार्टीले दिएको जिम्मेवारी मैले पूरा गर्ने हो। पार्टी एकता प्रक्रिया एउटा हो खेलकुद अर्को कुरा हो।

तर जिल्ला, क्षेत्रमा खेलकुदभित्र गुट–उपगुट देखिन थालेको छ नि ?
त्यो होला। तर त्यसले मिति सर्दैन। राष्ट्रिय खेलकुद आयोजनमा असर गर्दैन।

खेल विशेषज्ञका अनुसार राष्ट्रिय खेलकुदले लक्ष्यअनुसार सफलता पाइरहेको छैन। उद्देश्यभन्दा फरक ट्य्राकमा भइरहेको छ भन्ने आरोप छ। यसलाई कसरी सुधार्न सकिएला ?
प्रशिक्षणमा समस्या छ। भौतिक पूर्वाधार भन्ने कुरा हाम्रो सम्पन्नताले गर्ने कुरा हो। त्यसमा विकास हुँदै जाला। बजेट अभावले प्रशिक्षण राम्रो हुन सकेको छैन। नयाँ प्रशिक्षक भर्ना गर्न नपाएको, नियुक्ति गर्न नसकेको अवस्था छ। तर समग्रमा भन्दा नेपालको खेलकुद पछाडि परेको छैन। पछिल्लो समय अभूतपूर्ण सफलता मिलेको छ।

राष्ट्रिय खेलकुदको तयारी तीव्र गतिमा भइरहेका बेला स्थानीय आयोजकबाट तपाईंले के अपेक्षा गरिरहनुभएको छ ?
यो उत्सव हो। ठूलो अवसर हो प्रदेशवासीका लागि। खेलकुद खेलाडीको मात्र होइन। खेलक्षेत्रका मान्छेको मात्र होइन। सिङ्गो राजनीतिक दल, उद्योगी, व्यवसायी, सर्वसाधारण र सबै जनता आयोजक हुन्। सफल बनाउन सबैले साथ सहयोग गर्नुपर्छ। देशभरका पाहुना नेपालगन्ज आउँदा यहाँको संस्कृति, कला देखिनुपर्छ। नेपालगन्जवासीको मन ठूलो रहेछ भन्ने देखिनुपर्छ।  

प्रकाशित: ११ मंसिर २०७५ २३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App