१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

विश्वासमा अडिएको ‘लेस्बियन’ दम्पतीको प्रेम

नेपालगन्जमा बस्दै आएका ‘लेस्बियन दम्पती’ शिला गुरुङ(बायाँ) र सिता राना। तस्बिर: अर्जुन ओली/नागरिक

बढैया ताल–३ बर्दियाका शिला गुरुङ र लेखबेसी–४ सुर्खेतकी सिता रानाबीच वैवाहिक सम्बन्ध जोडिएको ३२ वर्ष पुगिसकेको छ। वैवाहिक सम्बन्ध पश्चात् दुबै जनाले नेपालगन्जलाई कर्मथलो बनाए। ‘लेस्बियन’ यो दम्पतीको वैवाहिक जीवनमा अहिलेसम्म कुनै समस्या आएको छैन। यी दम्पती बिचको प्रेम सम्बन्धबाट धेरै जना प्रभावित भइसकेका छन्।

‘हामीले विवाह गरेको ३२ वर्ष पुगिसकेको छ, तरपनि हामीबिच कुनै त्यस्तो ठुलो विवाद भएन,’ दम्पतीले एकै स्वरमा भने, ‘हामी बिचको प्रेम देखेर धेरैले अचम्म मान्छन्।’ आफूहरूबिच एक अर्काप्रति विश्वास हुनु नै यसको प्रमुख कारण भएको दुबै जना बताउँछन्। ‘हामीले एकले अर्काको दुःख, समस्या बुझ्छौँ, हामी दुई बिचमा एक अर्कामाथि विश्वास छ, व्यवहार पनि मिलेको छ,’ दम्पतीले भने।

शिला जन्मँदा छोरी थिए। हुर्कँदै गएपछि उनमा छोरा मान्छेको गुण देखा पर्दै गयो। परिवारका सदस्यले शिलाको उमेरसँग परिवर्तन भएको व्यवहार देखेर चकित पर्न थाले। उमेर बढेसँगै शिलालाई घरमा विवाह गर्ने अफर आउन थाल्यो। उनले परिवारका सदस्यसँग आफ्नो पहिचानबारे प्रष्ट रुपमा बताइन्।

आफू विवाह गरेर अर्काको घरमा जाने भन्दा पनि विवाह गरेर बुहारी ल्याउने परिवारलाई बताइन्। सुरुमा परिवारले उनको कुरालाई अस्वीकार गरेपनि पछि भने सहमत भए। शिला र सिताबिच जब सुर्खेतको बीरेन्द्रनगरमा आफन्तमार्फत भेट भयो।

दुबै जनाबिच पहिलो भेटमै प्रेम सम्बन्ध जोडियो। अन्ततः शिला र सिताले आफुहरु बिचको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे। विवाह गरेपछि उनीहरु नेपालगन्जमा नियमित रुपमा बस्न थाले। घर परिवार र माइतीसँग नियमित रुपमा आवत–जावत चलिरह्यो। दुबै जना बिचको वैवाहिक सम्बन्ध फस्टायो। तर, बेरोजगारी समस्याका कारण घरको खर्च चलाउन दुबै जनालाई हम्य–हम्य नै पर्‍यो। शिलाको पहलमा २०६५ सालमा नौला सिर्जना नेपाल नामक गैरसरकारी संस्था खोलियो।

यौनिक तथा अल्पसंख्यक समुदायको मानव अधिकारको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको उक्त संस्था लामो समयसम्म भने टिक्न सकेन। उक्त संस्थामा काम गर्ने यौनिक तथा अल्पसंख्यक समुदायका केही व्यक्तिहरू विदेशतिर पलायन भए। शिला र सिताले भने कर्मथलो नेपालगन्जलाई चटक्क छाड्न सकेनन्। आर्थिक अवस्था बलियो नहुँदा अरु थुप्रै रहरलाई थाती राख्नु परेको उनीहरु बताउँछन्। ‘विवाह गरेपछि हामीलाई सन्तानको रहर पनि लागेको हो, बच्चालाई कतैबाट ल्याएर भएपनि रहर पुरा गर्न सकिन्थ्यो,’ ४६ वर्षीया सिताले भनिन् ‘सन्तानको रहर गरेर मात्रै हुँदैन, राम्ररी पालन पोषण र शिक्षा दीक्षा दिनु महत्त्वपूर्ण कुरा हो।’ 

३२ वर्ष अगाडी नेपालको कानुनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएको थिएन। तसर्थ, उनीहरुले त्यो बेला विवाह दर्ता गर्न पाएनन्। अहिले कानुन सहज भएको र कतिपय समलिङ्गीले विवाह दर्ता प्रमाणपत्र लिए पनि शिला र सिताले विवाह दर्ता गर्न चाहेका छैनन्। ‘वैवाहिक जीवनको आधा समय हामी एक अर्कालाई विश्वास गरेर बस्यौँ, अब त बुडौली उमेरले छुन थालिसक्यो, अब किन चाहियो र हामीलाई विवाह दर्ता ?’ शिलाले प्रश्न गरे। बरु दुबै जनाले चाडै बृद्धभत्ता खान पाउने व्यवस्था सरकारले मिलाइदिनुपर्ने उनको सुझाव छ।

यौनिक तथा अल्पसंख्यक समुदायलाई पहिला भन्दा अहिले परिवार र समाजमा घुलमिल हुन धेरै सहज भएको र एक अर्काबिचको विवाहलाई पनि स्वीकार गर्न थालेको शिलाको बुझाई छ। ‘लेस्बियन विवाह गर्दा पहिला धेरै चुनौतीको सामना गर्नुपर्थ्यो, अहिले त्यस्तो अवस्था केही कम भएको छ, तरपनि पूर्ण रुपमा चाही हटेको छैन,’ ५५ वर्षीय शिलाले भने। 

प्रकाशित: १३ मंसिर २०८१ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App