१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टिम इभेन्टमा नेपालको सम्भावना कायमै

महिला एकलमा प्रतिस्पर्धा गर्दै रसिला महजर्न । तस्बिर सौजन्य : राखेप

काठमाडौं – नेपालले दोस्रोे दक्षिण एसियाली यु–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिपमा मंगलबार श्रीलंकालाई ३–२ ले हराउँदै टिम इभेन्टमा सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

टिम इभेन्टअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले टिम इभेन्टको पाँच विधामध्ये तीन विधामा सफलता हात पारेको थियो। नेपालले मिक्स, पुरुष एकल र पुरुष युगलमा जित हात पारेको थियो। मिक्समा नेपालका प्रिन्स दाहाल र रसिला महर्जनले श्रीलंकाली जोडी रन्थुस्का ससिन्दु र दिमी दियासलाई २१–१९ र २१–१३ ले हराएका थिए।

पुरुष एकलमा नेपालका नवीन श्रेष्ठले श्रीलकांका रन्थुस्का ससिन्दुलाई २२–२०, र २१–१३ ले हराउँदा पुरुष युगलमा नवीनले प्रिन्ससँग मिलेर श्रीलंकाली जोडी चिराथ ईल्लेपरुमाराची र चामाथ दियासलाई २१–१८ र २३–२१ ले स्तब्ध बनाएका थिए। श्रीलंकाले भने महिला एकल र महिला जोडीमा नेपाललाई स्तब्ध बनाएको थियो।

महिला एकलमा नेपालकी रसिला महर्जन श्रीलंकाकी दिल्मी दियाससँग २१–१२ र २१–१२ ले पराजित भइन्। महिलातर्पm रसिला महर्जन र जेसिकाको जोडी श्रीलंकाली दिल्मी दियास र हासिनी अम्बालाङ्गादेको जोडीसँग २१–१३ र २१–८ ले पराजित भएको थियो।

अब नेपालले अन्तिम चारको यात्रा तय गर्न बुधबार हुने मालदिभ्ससँगको खेलमा जित निकाल्नुपर्नेछ। माल्दिभ्ससँग हारेको खण्डमा हेड टु हेडको आधारमा जित–हारको निर्णय हुने रेफ्री किरणगोपाल कारञ्जितले बताए। नेपाल श्रीलङ्का र माल्दिभ्ससँगै समूह ‘बी’ मा रहेको छ। समूह ‘बी’ को पहिलो लिगमा श्रीलङ्काले माल्दिभ्सलाई ४–१ ले पराजित गरेको थियो।

श्रीलङ्काका रनतोष्का सासिन्दुले माल्दिभ्सका अहमद निवाललाई २१–१३ र २१–११ ले, महिला एकलमा दिल्मी दियासले अमिनाती नविहालाई २१–६ र २१–११ ले, पुरुष युगलमा चामथ दियास र चिराथिल्लेप इरामारोचीको जोडीले मोहम्मद अकिफ र मोहम्मद राफाको जोडीलाई २१–७ र २१–१० ले तथा हासिनी अम्बलाङगोदुग र दिल्मी दियाको जोडीले अमिनाती नविहाको जोडीलाई २१–१० र २१–१९ ले पराजित गर्दै टिम इभेन्टमा लगातार चार जित निकाले। मिक्स युगलको खेलमा भने माल्दिभ्सले सफलता हात पार्यो। माल्दिभ्सका निवाल अहमद र फथमा नवाहको जोडीले रन्थुस्का र हासरा विजेवर्दनेको जोडीलाई २१–१९, १५–२१ र २१–१८ ले पराजित गर्यो।

समूह ‘ए’ को भारतले बंगलादेशमाथि ५–० को जित निकाल्दै टिम इभेन्टमा सेमिफाइनल यात्रा तय गरेको छ। समूह ‘ए’ मा भारत र बंगलादेश छन्। भारत समूहको विजेता र पराजित बंगलादेश उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरे। पुरुष एकलमा भारतका ध्रुव राउतले बंगलादेशका एसएसएम शिवगाथुल्लालाई २१–१७ र २१–१८ ले पराजित गरे।

यस्तै महिला एकलमा माल्भिका बान्सोदले बंगलादेशकी उर्मी अख्तरलाई २१–४ र २१–९ ले हराइन्। पुरुष युगलतर्पm भारतका विष्णु बरदान र प्रियांसु राजवतको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१–१४ र २१–९ ले तथा महिला युगलतर्फ पूर्वा बर्भे र तनिशा क्रोस्टाको जोडीले बंगलादेशका उर्मी अख्तर र रश्मा अख्तरको जोडीलाई २१–११ र २१–९ ले पराजित गरे।

मिक्स युगलमा पनि भारतका विष्णु बरदान र तनिशा क्रोस्टाको जोडीले बंगलादेशका शिवगाथुल्ला र फारविन बिन्ता इमदालमाथि २१–८ र २१–८ को जित निकाल्दै ५–० को नतिजा निकाल्यो।

प्रकाशित: ११ मंसिर २०७५ २३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App