४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

शहिद स्मारक ‘ए’ डिभिजन लिग : अार्मीद्वारा पुलिस पराजित

बलका लागि प्रतिस्पर्धा गर्दै अार्मीका टेकबहादुर बुढाथाेकी (हरियाे) र पुलिसका अजित भण्डारी । तस्बिर साैजन्य : एन्फा

काठमाडाैं - शहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । तीन खेलबाट ७ अंक जोडेको आर्मी शीर्ष स्थानमा रहेको मनाङभन्दा दुई अंकले पछि छ।

आर्मीको जितका लागि ३०औं मिनेटमा टेकबहादुर बुढाथोकीले गरेको  गोल नै निर्णायक बन्यो । मैदानको मध्यभागबाट पाएको बललाई टंक बस्नेतले नियन्त्रण गर्दै क्रस पास दिँदा टेकबहादुरले सहजै गोल गरे । पुलिसविरुद्ध सुरुमा केही दबाब झेले पनि संयमित हुँदै खेलेको आर्मीले अग्रता लिँदै खेल सुधार गरेको थियो।

पहिलो हाफमा पुलिसले आर्मीको पोस्टमा सम्झन लायक प्रहार गर्न सकेन । एक गोलले पछि परेको पुलिसका निरकुमार राईले ३८औं मिनेटमा कप्तान विक्रम धिमालले दिएको भली बलाई बारनजिकैबाट बाहिर फाले । पहिलो हाफको अन्त्यतिर पुलिसमाथि दबाब सिर्जना गरेको आर्मीका लागि सन्तोष तामाङले पेनाल्टी बक्सभित्र अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

दोस्रो हाफमा गोल फर्काउने लक्ष्यका साथ मैदान उत्रिएको पुलिसले ५४औं मिनेटमा बराबरी गोलको अवसर पाए पनि रेजिन सुब्बा चुक्दा निराश बन्नुपरेको थियो । ५६औं मिनेटमा पुलिसका कप्तान विक्रम धिमालको खुट्टाबाट कुशलतापूर्वक बल खोस्दै दिनेश हेन्जनलाई दिए पनि उक्त बललाई दिनेशले नियन्त्रण गर्न सकेनन्।

६४औं मिनेटमा पुलिसका सुमन लामाले प्रहार गरेको कर्नर बल कप्तान विक्रमले हेड गर्दै पोस्टको दिशा दिए पनि आर्मीका सुमन अर्यालले गोललाइनबाट बचाउँदै पुलिसको बराबरी गर्ने मौका विफल पारे । गोलपछि रक्षात्मक खेल्दै काउन्टर गर्ने रणनीति बुनेको आर्मीका लागि भरत खवासले ७५औं मिनेटमा पेनाल्टी बक्सभन्दा बाहिरको एकल बललाई नियन्त्रणमा लिन सकेनन् । पराजित पुलिस तालिकाको सातौं स्थानमा छ।

लगातारका दुई खेलमा जित निकालेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले गोलपछि आफ्ना खेलाडी सम्हालिएर खेलेको प्रतिक्रिया दिए।

‘पहिलो हाफमा दुवैको ५०–५० बल पोजिसन थियो । स्कोर भइसकेपछि हामीलाई केही सहज भयो र खेलाडी पनि रणनीतिक हिसाबले खेल्न थाले,’ प्रशिक्षक न्यौपानेले भने, ‘अघिल्लो खेलमा जस्तो मध्यपंक्तिको लाइन राम्रोसँग चल्न सकेन । साथै केही सुन्दर मौका भए पनि फिनिसिङ हुन सकेन । आउँदा खेलमा सुधार हुने अपेक्षा लिएको छु ।’

उता पराजित टोलीका प्रशिक्षक अनन्तराज थापाले बलमा नियन्त्रण भए पनि आफ्ना खेलाडी सदुपयोग गर्नबाट चुकेको बताए।

‘हामी तीन अंकका लागि आएका थियौं,’ प्रशिक्षक थापाले भने, ‘खेलमा फर्किन प्रयास ग¥यौं । रणनीतिअनुसार खेल्दै खेलमा नियन्त्रण पनि राखेका थियौं, तर गोल भने निस्कन सकेन।’

प्रकाशित: ७ मंसिर २०७५ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App