४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

सेड्रिककाे उत्कृष्ट प्रदर्शनमा संकटाकाे लगातार दाेस्राे जित

काठमाडाैं - शहिद स्मारक ए डिभिजन लिगमा संकटाले लगातार दोस्रो जित निकालेको छ। सातदोबाटो स्थित एन्फाको खेलमैदानमा १० खेलाडीमा सीमित संकटाले जावलाखेल युथ क्लबलाई २–० ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित हात पार्यो । यसअघि संकटाले पहिलो खेलमा सरस्वतीमाथि १–० को रोमाञ्चक जित हात पार्दै लिगमा विजयी सुरुआत गरेको थियो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको संकटाले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै लगातार जित निकाल्न सफल भयो । स्पष्ट जित दिलाउनका लागि विदेशी खेलाडी सेड्रिक अब्बा एक्लैले दुई गोल गरेका थिए । अब्बाले ५७औं मिनेटमा विपक्षी जावलाखेलको पोस्टबाट सिर्जना गरेको मुभलाई सदुपयोग गर्दै संकटालाई अग्रता दिलाएका थिए । खेल सकिन पाँच मिनेटमा छँदा अब्बाले नै टम्पी अर्नेस्टको सट बललाई हेडमार्फत गोलको दिशा दिए।

यसअघि पहिलो हाफमा १० खेलाडीमा सीमित संकटामाथि जावलाखेलले दबाब राख्दै काउन्टर गरिरहे पनि गोल गर्न असफल भयो । १७औं र १८औं मिनेटमा संकटाका म्याक्सवेल एलोन दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए । जावलाखेलका पेमा शेर्पाले नवौं मिनेटमा पेनाल्टी बक्सभन्दा बाहिरबाट गरेको प्रहार संकटाका गोलकिपर राजुबाबु थापाले विफल पारेका थिए।

‘स्पष्ट जित निकाल्नेमा हामी विश्वस्त थियौं, तर रेफ्रीको निर्णयले हामीलाई खेलमा सम्हालिन गाह्रो भयो । कस्तो ट्याकलमा कस्तो कार्ड दिने भन्ने स्पष्ट छैन, यस्ता लिग गरेर काम छैन,’ संकटाका प्रशिक्षक सल्यान खड्गीले भने, ‘शीर्ष पाँचमा रहँदै लिग सक्ने हाम्रो लक्ष्य हो । आउँदा खेलमा पनि यस्तै किसिमका निर्णय हुने हो भने भन्न कठिन छ।’

उता, पराजित टोलीका प्रशिक्षक राजकुमार केसीले आपसी तालमेलको अभावले पराजित हुनुपरेको बताए । ‘केही समयको अन्तरालपछि लिग पुनः सञ्चालन भएको छ । यसबीचमा हाम्रो राम्रो अभ्यास भएन । खेलाडी शारीरिक रूपमा पनि फिट भएनन्,’ केसीले भने, ‘संकटाले दश खेलाडीमा सीमित भए पनि संगठित प्रदर्शन गर्दै नतिजा पक्षमा पार्न सफल भयो । तर, हाम्रो टोलीमा त्यो अभाव खड्कियो ।’ यसअघि पहिलो खेलमा जावलाखेल विभागीय टोली पुलिससँग १–० ले पराजित भएको थियो।

प्रकाशित: ३ मंसिर २०७५ ०८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App