६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सुखद बिदाइको अपेक्षामा रुनी

बिहीबार अमेरिकाविरुद्धको खेलका लागि अभ्यासरत रुनी । तस्बिरः एपी

लन्डन – एक वर्षअगाडि नै अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका वायन रुनी अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलका इङ्ल्यान्डको टिममा समावेश भएका छन्।

प्रशिक्षक ग्यारेथ साउथगेटले युवा खेलाडीले भरिपूर्ण इङ्ल्यान्डको टोलीमा सम्मानजनक बिदाइका लागि रुनीलाई राष्ट्रिय जर्सीबाट खेल्ने अवसर दिएका हुन् । इङ्ल्यान्डले बिहीबार वेम्बलीमा अमेरिकासँग मैत्रीपूर्ण खेल खेल्दै छ । सोमबारदेखि इङ्ल्यान्डका युवा खेलाडीमाझ प्रशिक्षण गरेका ३३ वर्षीय रुनीले सन् २०१७ मै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए।

इङ्ल्यान्डका लागि सर्वाधिक गोलकर्तासमेत रहेका रुनीले कुल १ सय १९ क्याप जितेका छन् । उनले राष्ट्रिय टोलीबाट अन्तिम पटक सन् २०१६ को नोभेम्बरमा स्लोभाकियाविरुद्ध ३–० को जित निकाल्दा खेलेका थिए । उनले राष्ट्रिय जर्सीमा सर्वाधिक ५३ गोल गरेका छन् । उनी देशका लागि धेरै खेल जित्ने खेलाडीमा दोस्रो स्थानमा छन्।

पूर्वगोलरक्षक पेटर सिल्टनले १ सय २१ खेल जित्दा रुनीले १ सय १९ खेल जितेका छन् । यता, रुनीले मुख्य प्रतियोगितामा भने क्वार्टरफाइनलभन्दा माथिको सफलता हात पार्न सकेका छैनन् । रूस विश्वकपअगाडि गोल्डेन जेनेरेसन मानिएको इङ्ल्यान्ड टोलीमा छनोट नहुनु पनि उनको यात्रामा पूर्णविराम लाग्ने माध्यम बनेको थियो।

तर, सोही विश्वकपमा इङ्ल्यान्डले २८ वर्षपछि सेमिफाइनलको यात्रा तय गर्दा रुनीले भने आफ्नो सफलता बढाउने अवसर पाएनन् । इङ्ल्यान्डका पाँच प्रशिक्षकको नेतृत्वमा देशका लागि खेलेका रुनीले भने, ‘धेरै प्रशिक्षक युवा खेलाडीलाई अवसर दिन डराउँछन् । तर, साउथगेट त्यस्ता प्रशिक्षक हुन्, जसले युवा प्रतिभा राम्रोसँग चिन्न सक्छन्।’

रुनीले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिँदा आफूलाई कुनै किसिमको पश्चात्ताप नभएको बताएका छन् । उनले साउथगेटका युवा खेलाडी अहिले निकै परिपक्व भएकोमा खुसी लागेको र इङ्ल्यान्डले सन् २०२० युरोकपमा च्याम्पियन बन्न सक्ने गरी अगाडि बढिरहेको बताएका छन् । ‘बिहीबारको खेलका लागि एकदम उत्साहित छु । मलाई लाग्छ प्रतिभावान् युवा टोलीसँग राम्रो गर्न सक्नेछु,’ रुनीले भने।

एभर्टन र म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकरसमेत रहेका रुनी पछिल्लो समयमा अधोेगतिमा छन् । तर, उनलाई साउथगेटले अवसर दिँदै अन्तर्राष्ट्रिय खेलमा फर्कने अवसर दिन लागेको हो कि भन्ने पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा चलिरहेको छ।

१८ वर्षको उमेरमा सन् २००४ को युरो कपबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका रुनीले यही जेनेरेसनको युवा टोलीले सन् १९६६ पछि इङ्ल्यान्डलाई उपाधि दिलाउने विश्वास व्यक्त गरेका छन् । ‘यो टिममा समावेश हुन पाउनु मेरा लागि ठूलो सम्मान हो । त्यसका लागि छनोटकर्तालाई धन्यवाद दिन चाहन्छु,’ रुनीले भने । सर्वाधिक खेल विजेता सिल्टेनले उपहारका रूपमा खेलसंख्या बढाउनु शोभनीय नहुने भन्दै आलोचना गरेका छन्।

प्रकाशित: २९ कार्तिक २०७५ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App