२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

प्याराग्लाइडिङ एक्युरेसी वल्डकपः स्लोभानियाको अग्रता, नेपाल पाँचाैंमा

पोखरा/स्याङ्जा – स्याङ्जाको स्वरेकमा शुक्रबारदेखि सुरु भएको प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) प्रतिस्पर्धाको दोस्रो राउन्ड सकिँदासम्म स्लोभानियाका खेलाडीले अग्रता लिएका छन् । व्यक्तिगततर्फ दुई राउन्ड सकिँदा नेपाल पाँचाैं स्थानमा छ।

पहिलो स्थानमा रहेका स्लोभानियाका प्रिलोजुइक रोकले ५ अंक हासिल गर्दै अग्रता लिएका छन् । पहिलो राउन्डमा ४ र दोस्रोमा सुधार्दै १ अंक बटुल्दा उनी अग्रपंक्तिमा छन् । दोस्रो राउन्डमा ‘स्पट ल्यान्डिङ’ गर्दागर्दै पनि कोरियाका जिहुन यो  ६ अंक बटुल्दै तेस्रो स्थानमा रहे । कोरियाकै सियोङमिन लीले पहिलोमा ३ र दोस्रोमा २ अंक गरी ५ अंक बटुलेपछि अंकका आधारमा जिहुन पछाडि परेका छन् । एक्युरेसीमा स्पट ल्यान्डिङ निकै नै महत्वपूर्ण मानिन्छ।

कोरियाका लीको स्लोभानियाका रोकसँग अंक बराबरी रहे पनि दोस्रो राउन्डको प्रदर्शनले रोकलाई शीर्ष स्थानमा पु¥याएको हो । ६ अंक बटुल्दै कोरियाकै स्याङयु लिम  पनि तेस्रो भए । नेपालका युकेश गुरुङ पहिलो राउन्डमा ४ र दोस्रोमा ३ अंकका साथ ७ अंक बटुल्दै पाँचौं नम्बरमा छन् । गुरुङले दुई महिनाअघि इन्डोनेसियामा सम्पन्न एसियाली खेलमा नेपाललाई प्याराग्लाइडिङ टिम क्रसकन्ट्री विधामा रजत पदक जिताउन महत्वपूर्ण प्रदर्शन गरेका थिए।

कोरियाका चाङमिन ली पनि पहिलोमा ४ र दोस्रोमा ३ अंक जोड्दै गुरुङसँगको प्रतिस्पर्धामा छन् । ली र गुरुङबीच अग्रता लिने प्रतिस्पर्धा रहको निर्णायक मण्डलका सदस्य बालकृष्ण बसेलले बताए । ‘दुई राउन्ड सकिँदा नेपाल पाँचाैं स्थानमा छ । पदक आशा अझै पनि गर्न सकिन्छ,’ उनले भने, ‘अझैं चार राउन्ड बाँकी भएकाले प्रदर्शन सुधार्दा पदक आशा गर्न सकिन्छ।’

‘दुई राउन्ड सकिँदा नेपाल पाँचाैं स्थानमा छ । अझैं चार राउन्ड बाँकी भएकाले प्रदर्शन सुधार्दा पदक आशा गर्न सकिन्छ।’

महिलातर्फ भने ९ अंकका साथ कोरियाकी इन्योङ चो  पहिलो स्थानमा छिन् । पहिलो राउन्डमा १ र दोस्रोमा ८ गर्दै ९ अंकका साथ उनी शीर्षमा छिन् । महिलातर्फ दोस्रो स्थानमा कोरियाकै हिउनही किम छिन् । उनले पहिलोमा २० र दोस्रोमा ४ अंकका साथ २४ अंक बटुलेकी छिन्।

पहिलो र दोस्रो राउन्ड पूरै व्यक्तिगत प्रतिस्पर्धा हो । शनिबार पनि व्यक्तिगत नै तेस्रो र चौथो चरणको प्रतिस्पर्धा हुने बसेलले बताए । बसेलका अनुसार एक्युरेसीमा स्पट ल्यान्डिङ निकै नै महत्वपूर्ण हुन्छ । जसले शून्य अंक ल्याउन सक्छ, उसैले उपाधि जित्न सक्ने उनले बताए । ‘स्पट ल्यान्डिङ गर्नु भनेको शून्य अंक हात पार्नु हो,’ बसेलले भने।

कोरियाली एसियन खेलमा खेलेका अब्बल खेलाडी रहेकाले नेपालले बढी मेहनत गर्नुपर्ने उनले बताए । क्रसकन्ट्रीमा नेपाल अब्बल रहे पनि एक्युरेसीमा नेपाल अली कमजोर रहेको उनले बताए।

सहभागी खेलाडी विमल अधिकारीले नेपालको अवस्था अझै कमजोर भन्न नमिल्ने बताए । व्यक्तिगत रूपमा नेपाल पाँचाैं स्थानमा रहेकोले अहिले नै कमजोर भन्न नमिल्ने उनले बताए । इन्डोनसियामा नेपाली प्याराग्लाइडिङ टिमका कप्तानी सम्हालेका अधिकारीले नेपाली खेलाडीले व्यक्तिगत भन्दा पनि टिम विधामा फोकस गरेको बताए । ‘हामी क्रसकन्ट्री खेलाडी हाैं । त्यसैले नेपालको फोकस टिम विधामा छ,’ उनले भने, ‘व्यक्तिगतमा हामीभन्दा विदेशी खेलाडी निकै नै अनुभवी र अब्बल छन् ।’ नेपालको एक्युरेसीमा अभ्यास कमजोर रहेकाले पनि विदशीका अघि कमजोर देखिएको उनले बताए।

प्याराग्लाइडिङको स्याङ्जामा अहिलेसम्मकै नेपालको ठूलो प्रतिस्पर्धा प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकपको शुक्रबारदेखि प्रतिस्पर्धात्मक खेल सुरु भएको छ  विभिन्न दुई दर्जन मुलुकका ७० जना खेलाडी तीन दिनसम्म प्रतिस्पर्धा गर्दै छन् । स्थानीय बाबु एडभेन्चर क्लब, नेपाल हवाई खेलकुद संस्था (एनएए) र नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजनामा स्याङ्जामा यो प्रतिस्पर्धा सुरु भएको हो।

विश्व हवाई खेलकुद महासंघअन्तर्गतको फेडेरेसन एरोनोटिक इन्टरनेसनल (एफएआई) र प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) को मान्यतापछि राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीको समन्वयमा जिल्लास्थित स्थानीय तहको सहयोगमा यो प्रतिस्पर्धा आयोजना भएको हो।

प्रकाशित: १७ कार्तिक २०७५ ०४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App