काठमाडौं – त्रिचालीसौं चेस ओलम्पियाडमा नेपाली पुरुष टोलीको उपाधि यात्रा केही कमजोर बनेको छ । मंगलबार राति भएको आठौं चरणको खेलमा नेपाल आयोजक जर्जिया–२ सँग ३.५–०.५ ले पराजित भयो।
उपाधिका लागि अब नेपाललाई बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । समूह ‘डी’ मा आठ अंक बनाएको नेपाल दोस्रो स्थानमा झरेको छ । समान अंक बनाएको दक्षिण कोरिया शीर्ष स्थानमा उक्लिएको छ।
जर्जियासँग नेपालका लागि विवेक थिङले मात्र बराबरी नतिजा निकालेका थिए । उनले डाभिट माघालासाभिलीलाई बराबरीमा रोके । रिजेन्द्र राजभण्डारी गिगा क्युपाराडेजसँग, रूपेश जैसवाल इराक्ली बेराडजे र हिमाल लामा लुका पिचाडेजसँग पराजित भएका थिए । नवौं चरणमा नेपालले युगान्डासँग प्रतिस्पर्धा गर्नेछ।
यसै गरी महिलातर्फ आठौं चरणमा नेपाल निकारागुवासँग २.५–१.५ ले पराजित भयो । नेपालकी सुजना लोहनीले जोहन लियोन सान्डोभललाई हराइन् । मोनालिसा खम्बुले इलन जोएनीसँग बराबरी खेलिन् भने सिन्दिरा जोशी मारिया स्थारसँग र खुस्बु थापा जोस मारियासँग पराजित भएका थिए । नवौं चरणमा नेपालले ट्रिनिडाड एन्ड टोबाकोसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: १८ आश्विन २०७५ ०४:४३ बिहीबार