२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

एएफसी यु–१६ महिला च्याम्पियनसिपः जितको लक्ष्यमा नेपाली किशोरीहरू

काठमाडौं – नेपाली किशोरीहरूले बुधबार जितको अपेक्षासहित हलचोकको मैदानमा भ्रमणकारी फिलिपिन्सविरुद्ध खेल्दै एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गर्दै छन्। 

छनोट समूहको ‘इ’ मा रहेको नेपालले फिलिपिन्सविरुद्ध हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ क्लबको मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालसहित म्यानमार, फिलिपिन्स र मलेसियाले सहभागिता जनाउने छनोट प्रतियोगितामा सिरियाले अन्तिम समयमा नाम फिर्ता लिएपछि चार टोली छनोटका लागि खेल्न लागेका हुन्। 

मंगलबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा सबै चार टोलीका प्रशिक्षकले छनोट खेल्न उत्साहित रहेको बताए । नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले नेपालको तयारी राम्रो भएको  बताइन्। 

‘छनोट प्रतियोगिताका लागि हामीले राम्रो तयारी गरेका छौं, साफ यु–१६ मा हाम्रा बहिनीहरूले धेरै अनुभव हासिल गरेका छन्,’ प्रशिक्षक गुरुङले भनिन्, ‘भुटान जानु पहिलादेखि हामीले दुई महिना अभ्यास गरेका थियौं । भुटानबाट आएपछि पनि हामीले तयारीलाई निरन्तरता दिएका छाैं, त्यसैले हामीले राम्रो गर्छौं भन्ने अपेक्षा रहेको छ।’

‘भुटानमा साफ यु–१६ खेलेपछि हामीले धेरै कुरा सिकेका छौं, अर्को चरण प्रवेशका लागि मिहिनेत गरेर खेल्नेछौं । जितका लागि हामीले शतप्रतिशत मिहिनेत गर्नेछौं।’

‘सबै खेलाडीले शतप्रतिशत दिएर तयारी गरेका छन् । पहिलो खेल फिलिपिन्ससँग छ र त्यो खेल दोस्रो चरण पुग्नका लागि निकै महत्वपूर्ण हुनेछ,’ गुरुङले थपिन्, ‘खेलाडीको आपसी तालमेल राम्रो छ, शारीरिक र मानसिक रूपमा खेलाडी तयार छन्, आफ्नो पक्षमा पार्नका लागि हामी मैदान उत्रिनेछौं।’

सहभागी अन्य टोलीसँग नेपाली टोलीले अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन । यस्तै नेपालकी कप्तान प्रीति राईले आफूहरू मानसिक रूपमा तयार रहेको र पहिलो खेल महत्वपूर्ण रहेको भन्दै जितका लागि मैदान उत्रिने बताइन्।

‘भुटानमा साफ यु–१६ खेलेपछि हामीले धेरै कुरा सिकेका छौं, अर्को चरण प्रवेशका लागि मिहिनेत गरेर खेल्नेछौं,’ कप्तान राईले भनिन्, ‘जितका लागि हामीले शतप्रतिशत मिहिनेत गर्नेछौं।’

भुटानमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा पनि भुटानसँग पराजित भएको थियो । यस्तै म्यानमारका प्रशिक्षक सान सान थेनले सहभागी अन्य तीनवटै टिम राम्रो रहेकाले आपूmहरू खेल्न उत्साहित रहेको बताइन्।

‘हामीले एएफसीले आयोजना गरेको एएफएफ यु–१६ मा मलेसिया र फिलिपिन्समाथि जित हात पारेका थियौं, त्यसैले हाम्रो टोली उच्च मनोबलमा रहेको छ,’ प्रशिक्षक सान सान थेनले भनिन्, ‘टिमले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । नेपालसँग भने अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन।’

एएफएफमा तेस्रो भएको म्यानमारले समूहचरणमा फिलिपिन्सलाई ७–१ ले पराजित गरेको थियो भने मलेसियामाथि २–१ को जित हात पारेको थियो। उता फिलिपिन्सकी प्रशिक्षक मारिए बेनिटेजले शुक्रबार नै टिम  आएकाले ३ दिनमा नेपालमा अभ्यास गर्दै धेरै कुरा सिकेको बताइन्।

‘हामीले तयारी राम्रो गरेका छाैं, नेपालमा पनि हामीले केही दिनअगाडि आएर अभ्यास गर्दै अनुभव लिने मौका पायौं,’ मारिए बेनिटेजले भनिन्, ‘प्रतियोगितामा हामी राम्रो नतिजा निकाल्ने उद्देश्यमा रहेका छौं । एएफएफमा म्यानमारसँग फराकिलो अन्तरले पराजित भए पनि त्यसबाट धेरै कुरा सिकेको र नेपालसँग हुने पहिलो खेलका लागि उत्साहित रहेका छौं।’

यसै गरी मलेसियाका प्रशिक्षक तिम बानगन बिनले मलेसिया राम्रो नजिता ल्याउने उद्देश्यमा रहेको बताए। ‘मलेसियामा यस्तो किसिमको उमेरसमूहको कुनै प्रतियोगिता छैन र छनोटका लागि निकै छोटो समय तयारीमा खर्चिएका छौं,’ प्रशिक्षक तिमबानगन बिनले भने, ‘हामी सँग धेरै स्कुले विद्यार्थी छन् । छनोटका लागि १० दिन मात्र तयारी गरेका हौं । यो प्रतियोगितामा नेपाली टोलीलाई फाइदा छ।’

सहभागी ३३ टोलीलाई ६ समूहमा विभाजन गरेर एएफसीले  थाइल्यान्डमा हुने प्रतियोगिताका छनोट गर्न लागेको हो । ६ समूहका विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् भने यस्तै समूहका उपविजेतामध्ये उत्कृष्ट २ टोलीले पनि दोस्रो चरणको यात्रा तय गर्नेछ।

छनोट प्रतियोगितामा नेपाल भुटानमा भएको साफ यु–१५ च्याम्पियनसिप खेलेर सहभागिता हुने मौका पाएको हो भने बाँकी तीन टोलीले एएफएफ यु–१६ च्याम्पियनसिप खेलेर सहभागिता जनाउन लागेका हुन्। 

प्रकाशित: २ आश्विन २०७५ २३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App