काठमाडौं – नेपाल एसिया कप क्रिकेट खेल्नबाट बञ्चीत भएको छ। मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको आफ्नो पाँचौं खेलमा हङकङसँग ३ विकेटले पराजित भएसँगै नेपालको एसिया कप खेल्ने सम्भावना सकिएको हो।
नेपालले प्रस्तुत गरेको ९६ रनको सामान्य लक्ष्य हङकङले ३३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो।
हङकङलाई जित दिलाउन कप्तान अशुंमन रथले ८२ बलमा ३ चौका र १ छक्काको मदतमा ५२ रन जोड्दै अर्धशतकिय पारी खेले। यस्तै किन्चित शाहले टीमको जितका लागि ११ रनको योगदान गरे। अन्य खेलाडिले भने दोहोरो स्कोर बनाउन सकेनन्।
नेपालका लागि सन्दीप लामिछानेले दश ओभर बलिङमा २ मेडन ओभर बलिङ गर्दै ५ विकेट लिएका थिए। यस्तै सागर पुनले १, बसन्त रेग्मी १ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा अलआउट हुँदै ९५ रनको सामान्य स्कोर प्रस्तुत गरेको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक २० रन बनाए। त्यस्तै अनिलकुमार शाह र बसन्त रेग्मीले नटआउट १५–१५, कप्तान पारस खड्काले १४, उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्।
प्रकाशित: १९ भाद्र २०७५ ०७:५२ मंगलबार