१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

साफ च्याम्पियन्ससिपः नेपाल पाकिस्तानको सामना गर्दै, महर्जनको लक्ष्य उपाधि

काठमाडौं – बालगोपाल महर्जनले तीन वर्षअघि घरेलु मैदानमा नेपाललाई यु–१९ साफ च्याम्पियनसिपको उपाधि जिताएका थिए । उनै महर्जन अहिले राष्ट्रिय फुटबल टोलीको नेतृत्व सम्हाल्दै साफ च्याम्पियनसिपको उपाधि जिताउने लक्ष्यका साथ बंगलादेश पुगेका छन्।

मंगलबारबाट बंगलादेशको ढाकामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः४५ बाट शुरु हुनेछ। तुलनात्मक रूपमा सहज समूहमा रहेको नेपालका कप्तान महर्जनले उपाधि उचाल्ने आफ्नो मुख्य लक्ष्य भएको बताए।

‘हामी यहाँ उपाधि उचाल्न आएका हौं,’ नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘हाम्रो टोलीमा सुमन (अर्याल) नयाँ अनुहार हुन् । टोलीले धेरै मिहिनेत गरेको छ । उनीहरू आफ्नो तर्फबाट सक्दो राम्रो गर्नेमा केन्द्रित छन् । हाम्रो पहिलो लक्ष्य नकआउट चरण पुग्ने हो । त्यसपछि हामी उपाधि जित्नेमा केन्द्रित हुनेछौं।’

भर्खरै इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदअन्तर्गत फुटबलमा नेपालको यु–२३ टोली पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । त्यही पाकिस्तानविरुद्धको खेलबाट नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले समूहको अन्तिम खेलमा आयोजक बंगलादेशविरुद्ध खेल्नेछ।

भुटानसामु नेपाल सधै हाबी हुने भएकाले मंगलबार नेपालले पाकिस्तानलाई पराजित गरे नकआउट चरण पुग्ने सम्भावना बलियो हुनेछ । समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित: १९ भाद्र २०७५ ००:१७ मंगलबार

साफ_च्याम्पियन्ससिप नेपाल_भर्सेस_पाकिस्तान बंगलादेश_ढाका