४ वैशाख २०८१ मंगलबार
खेल

तेक्वान्दोको दयनीय अवस्था

फिलिपिन्सकी पाउलिन लोउसे लोपेजसँग प्रतिस्पर्धा गर्दै तेक्वान्दो खेलाडी ज्ञानी चुनारा (रातो) । तस्बिर सौजन्यः पिजे क्लब

जकार्ता – ‘हाम्रो तयारी र खेलकुदको अवस्थाअनुसार आक्कलझुक्कल पदक आउने हो । यसपालि अहिलेसम्म भाग्यले साथ दिएन । त्यसैले पदक आएको छैन । नेपाली खेलकुदको वास्तविकता यही हो,’ लगातार असफलता भोग्नुपर्दा निराश तेक्वान्दोका प्रशिक्षक दीपक विष्टको मुखबाट निस्केको आक्रोश हो यो।

दीपकले भनेजस्तै जकार्ताको जेसिसी प्लेनरी हलका म्याटमा प्रत्येक नेपाली खेलाडी एसियाली खेलकुदअन्तर्गतको तेक्वान्दो प्रतिस्पर्धाका लागि उत्रिँदा देशको दयनीय अवस्था छताछुल्ल भइरहेको छ । तेक्वान्दोमा मात्र होइन अन्य खेलको हालत पनि उस्तै छ। 

पदकको आशा गरिएको मुख्य खेल तेक्वान्दोमा पुम्सेका ३ तथा क्योरुगीका ६ इभेन्ट्समा नेपालको पदक जित्ने सम्भावना समाप्त भइसकेको छ । मंगलबार क्योरोगीअन्तर्गत महिला ६७ केजीमाथिमा निशा रावल, ५७ केजीमुनिमा ज्ञानी चुनारा र पुरुष ८० केजीमाथिमा अनुज पुजारीबाट पदक जित्ने सम्भावना समाप्त भयो। 

अन्तिम १६ को खेलमा नै चीनकी पान गाओसँग खेल्नुपर्दा निशाको यात्रामा पहिलो चरणमै पूर्णविराम लाग्यो । विपक्षीको तुलनामा निक्कै कमजोर देखिएकी निशाले ६–२२ को एकतर्फी नतिजा सुम्पिएकी थिइन्। 

राखेप र नेपाल ओलम्पिक कमिटीले एसियाली खेलकुदमा २९ खेलका १ सय ८५ खेलाडीको जम्बो टोली ल्याउने गलत निर्णयलाई सागको तयारी भन्दै छोप्ने प्रयास गरिरहेको छ । तर भारतले तेक्वान्दोमा जम्मा ६ खेलाडी ल्याएको तथ्यले उनीहरूलाई थप गलत साबित गरेको छ। 

पुरुषतर्फ अनुजको अवस्था अझै दयनीय देखियो । कजाकस्तानका रूस्लान झापारोभविरुद्धको खेलमा विपक्षीले २१ स्कोर जोड्दा पनि अनुजले खाता खोल्नसमेत सकेनन् । उनलाई रेफ्रीले अंकभिन्नताका आधारमा २१–० ले पराजित घोषणा गरे। 

ज्ञानीले भने अन्तिम १६ को खेलमा जित हासिल गर्दै पदक जित्ने सम्भावना जीवित राखेकी थिइन् । भुटानकी किनजाङ चोडेनलाई २८–६ को नतिजामा पराजित गर्दै ज्ञानी क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन् । तर अन्तिम आठमा त्यो विजययात्रालाई निरन्तरता दिन नसक्दा ज्ञानु कम्तीमा कांस्य पदक जित्ने सम्भावनाबाट टाढिइन् । अन्तिम आठको भिडन्तमा ज्ञानी फिलिपिन्सकी पाउलिन लोउसे लोपेजसँग २०–० को एकतर्फी नतिजामा निराश भएकी थिइन्। 

‘ज्ञानीको पदक जित्ने व्यावहारिक सम्भावना थियो । तर सबै देशको नतिजा तयारीअनुसार आउने हो र आइरहेको छ । हाम्रो पनि त्यही हो,’ दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण पदक जितेर कीर्तिमान बनाएका ओलम्पियन दीपक विष्टले भने, ‘आक्कलझुक्कल आउने पदकका लागि हामी अझै दुई दिन आशाका साथ म्याटमा प्रतिस्पर्धा गर्नेछौं।’ 

नेपालका चार खेलाडीले तेक्वान्दोमा चुनौती प्रस्तुत गर्न बाँकी छ । बुधबार पुरुष ६३ केजीमुनिमा दक्षिण एसियाली खेलकुदका रजत पदकधारी वीरबहादुर महरा र ८० केजीमुनिमा भुपेन श्रेष्ठ तथा बिहीबार ४९ केजीमुनिमा अस्मिता खड्का तथा पुरुष ६८ केजीमुनिमा ज्ञानेन्द्र खड्काले नेपालको प्रतिनिधित्व गर्नेछन्।

ज्ञानुले मंगलबार प्रतिस्पर्धा गरेकी फिलिपिनो खेलाडी विश्व वरीयताप्राप्त खेलाडी भएको भन्दै दीपकले नेपाल र अन्य सहभागी देशको अवस्थाबीच ठूलो अन्तर रहेको बताए । अन्य देशले एसियाली खेलकुदका लागि ठूलो लगानी गर्ने गरेको भए पनि नेपालको तयारी भने सधैं झारो टार्ने पारामै सीमित हुने गरेको उनको दुखेसो थियो। 

‘आज ज्ञानीसँग खेल्ने फिलिपिनो खेलाडीले सधैं अमेरिकामा प्रशिक्षण गर्ने गरेको छ । ज्ञानुले राम्रो खेलेको हो । तर उसको तयारी कस्तो थियो भन्ने पनि हामीले बुझ्नुपर्छ । हामी झारो टार्ने पाराको तयारीका भरमा यहाँ आएका छौं । केही हप्ता वा महिना कोरिया गयो भनेर हुँदैन। 

नियमित रूपमा उच्चस्तरको तयारी गरिरहनुपर्छ अनि मात्र एसियाली खेलकुदमा पदक आशा गर्न सकिन्छ,’ तेक्वान्दोका प्रशिक्षक दीपकले थपे, ‘यस्ता ठूला प्रतियोगितामा किन पदक आएन भन्ने प्रश्नको अर्थ छ भन्ने मलाई लाग्दैन । अब हामीले पदक जित्न के गरेका थियौं भन्ने समीक्षा हुनुपर्छ । सबै देशले तेक्वान्दोमा ठूलो लगानी गर्न थालेका छन् । हामीचाहिँ जहाँको त्यहीँ छौं, अनि खेलाडीलाई किन जितिनस् भनेर दबाब दिइरहन्छौं।’ 

नेपाली तेक्वान्दो टोलीका अन्य दुई प्रशिक्षक नोर्बु लामा र बद्रीप्रसाद घिमिरे पनि लगातारको पराजित नतिजाबाट अत्यन्तै निराश र नेपाली खेलप्रशासनप्रति आक्रोशित थिए । उनीहरू भन्दै थिए, ‘पदाधिकारीहरूबाटै नेपाली खेलकुदको यो दयनीय अवस्था आएको हो । राजनीति हाबी छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समानान्तर तेक्वान्दो संघ बनाएर हामी र हाम्रा खेलाडीलाई सधैं तनाव दिइरह्यो । तयारीमा केन्द्रित हुनुपर्ने बेला राखेपले हालिदिएको सौतासँगको रस्साकस्सीमा समय बितेपछि कसरी हुन्छ ?’

तत्कालीन नेकपा माओवादी केन्द्रसँगको निकटताका आधारमा राखेपले नेपाल तेक्वान्दो संघको समानान्तर संस्थाका रूपमा राष्ट्रिय तेक्वान्दो संघलाई दर्ता गरेको थियो । दुई संघ र राखेपबीच त्रिकोणीय विवाद हुँदा केही महिना एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता पनि अन्योलमा परेको थियो। 

राखेप र नेपाल ओलम्पिक कमिटीले एसियाली खेलकुदमा २९ खेलका १ सय ८५ खेलाडीको जम्बो टोली ल्याउने गलत निर्णयलाई सागको तयारी भन्दै छोप्ने प्रयास गरिरहेको छ । तर भारतले तेक्वान्दोमा जम्मा ६ खेलाडी ल्याएको तथ्यले उनीहरूलाई थप गलत साबित गरेको छ। 

नेपाली तेक्वान्दो टोलीका प्रशिक्षक लामा पनि यो तथ्यसँग सहमत छन् । ‘हामीले पनि राज्यको ढुकुटी खर्च गरेर यति धेरै खेलाडी ल्याउनुपर्ने आवश्यकता थिएन । तर हामीले नल्याए अर्को संघबाट हाम्रा खेलाडीसँग जिल्लामा हारेका खेलाडी राष्ट्रिय खेलाडी भन्दै यहाँ आउँछन् । देशको थप बदनाम हुन्छ । त्यसैले देशको बदनामी रोक्न पनि हामीले कोटा पूरा गर्नुपर्ने बाध्यता छ,’ खेलकुदलाई सही बाटोमा राख्नुपर्ने नियमनकारी निकाय राखेप र सरकार नै झन् भद्रगोल पार्न लागिपरेको आरोप लगाउँदै उनले भने, ‘अब खेलाडी पनि राजनीतिक बाटोबाट आउन थालिसके । खेलाडीले प्रशिक्षकलाई टेर्ने अवस्था छैन । मन्त्री, सचिव, सांसदले खेलाडीको सिफारिसका लागि फोन गर्छन्।’

पदतालिका (चाैंथाे दिन)

देश                     स्वर्ण      रजत          कांस्य         जम्मा
चीन                       ३०       १८               १२             ६०
जापान                   १२        १७               १८             ४७
द.कोरिया                 ८        १२                १४             ३४
इन्डोनेसिया              ५         २                 ५             १२
इरान                       ४         ३                 ५              १२
उ. कोरिया                 ४         १                 ३              ८
भारत                       ३         ३                 ४             १०
चाइनिज ताइपेइ         ३        २                 ४              १०   
मंगोलिया                  २        १                 ४               ७
काजकिस्तान             १        ५                 ७               १३   

प्रकाशित: ५ भाद्र २०७५ २३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App