coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

निमाको प्रदर्शनमा सुधार

उसुमा नेपाल मंगलप्रसाद थारू (राताे) इन्डाेनेसियाका अब्दुल ह्यािरस साेफ्यानसँग प्रतिस्पर्धा गर्दै। तस्बिर : साैजन्य डा. सराेजकृष्ण श्रेष्ठ

जकार्ता - नेपालले एसियाली खेलकुदमा पदक आशा गरेको मुख्य खेलमध्येको एक उसुमा आइतबार कुनै सफलता हात लाग्न सकेन।

थाउलुमा विजय सिंजालीको यात्रा १९ प्रतिस्पर्धीमध्ये १६औं स्थानमा सीमित भएपछि सकियो भने दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदकधारी निमा घर्ती मगरको सुरुआत पनि सुखद रहेन। थाउलुको अलराउन्ड स्पर्धाअन्तर्गत नान छ्वानमा ८.७० स्कोर गरेकी निमा १२ सहभागिमध्ये ११औं स्थानमा सीमित भइन। दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा उनको स्कोर ८.४३ मात्र थियो । नान छ्वानमा चीनका लु ताङ ९.७५ स्कोरका साथ शीर्ष स्थानमा रहँदा मलेसियाका तान योङ मिन ९.७१ अंकका साथ दोस्रो तथा उज्वेकिस्तानकी लाहिसेभा ९.०० स्कोरका साथ तेस्रो स्थानमा छन् । निमाले सोमबार नान ताओमा प्रतिस्पर्धा गर्नेछिन्। नान ताओको पनि स्कोर आएपछि समग्र स्कोरका आधारमा विजेता तथा अन्य खेलाडीको पोजिसन निर्णय हुन्छ।

त्यसअघि जी एक्स्पो उसु हलमा विजयको स्पर्धामा चीनका सुन पेइयोनले स्वर्ण, इन्डोनेसियाका मार्सेलो एडगर जाभेरले रजत तथा चाइनिज ताइपेईका तासी तेस्मिनले कांस्य पदक जितेका थिए।

थाउलुका प्रशिक्षक शैलेन्द्र श्रेष्ठले विजयको प्रदर्शन औसतभन्दा माथि उठन नसकेको बताए । निमाको प्रदर्शनमा भने राम्रो सुधार देखिएको उनको प्रतिक्रिया थियो। ‘यहाँको प्रदर्शनका आधारमा हामीले दक्षिण एसियाली खेलकुदका लागि राम्रो आशा राख्न सक्छौं,’ उनले भने।

यसै गरी आइतबारै सम्पन्न सान्सौंअन्तर्गत महिला ५२ केजी तौल समूहमा जुनी राई भियतनामकी थी थु थुई एनगुएनसँग २–० को नतिजामा पराजित भइन । घुँडाको चोटका बावजुद प्लेटफर्ममा उत्रिएकी जुनीले कुनै पनि समय विपक्षीलाई चुनौती दिन सकिनन् । दुई महिनाअघि जोर्नीमा समस्या आएपछि उनले झन्डै तीन साता आराम गर्नुपरेको थियो।

सान्सौको पुरुषतर्फ आइतबार ६० केजी तौल समूहअन्तर्गत अन्तिम १६ को खेलमा मंगलप्रसाद थारूले आयोजक इन्डोनेसियाका अब्दुल ह्यारिस सोफ्यानलाई सुपेरियरिटीको आधारमा नतिजा सुम्पिए । दुई प्रतिस्पर्धीबीचको स्कोरमा ठूलो अन्तर भएपछि रेफ्रीले जुनसुकै बेला खेल रोकेर अग्रता लिने खेलाडीलाई सुपेरियरिटीका आधारमा विजेता घोषित गर्छन् । मंगलप्रसाद पनि कमजोर प्रदर्शनका कारण खेल सुरु भएको एक मिनेट नबित्दै विपक्षीको स्कोर उनले भेट्टाउनै नसक्ने भएपछि रेफ्रीले अब्दुललाई विजेता घोषित गरेका थिए। मंगलप्रसादको एसियाली खेलकुदमा यो लगातार तेस्रो सहभागिता हो । उनले यसअघि २०१० मा चीनको ग्वान्झाउ तथा २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न पछिल्ला दुई संस्करणमा पनि सहभागिता जनाएका थिए।

यसै गरी पुरुष ७० केजी तौल समूहको अन्तिम १६मा  नेपालका चित्रसिंह ठकुरी दक्षिण कोरियाका ग्वान्सिक हामसँग २–० को नतिजामा पराजित भए।  

कबड्डी :
थिएटर गरुडामा भएको समूह ‘बी’ को खेलमा नेपाली कबड्डी टोली आयोजक इन्डोनेसियासँग ३३–२९ को प्रतिस्पर्धात्मक नतिजामा पराजित भएको छ । समूहको अर्को खेलमा मंगलबार जापान तथा बिहीबार पाकिस्तानसँग खेल्नेछ ।

प्रकाशित: ४ भाद्र २०७५ ०३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App