गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो आइतबार दिउँसो करिब ४ बजे सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी ६७ वर्षीय स्कारपियो चालक दिलीप कुमार बाग्ले, स्याङ्जाको वालिङ नगरपालिका–१० निवासी ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ, स्याङ्जा बस्ने ५०र५५ वर्षीय लोकनाथ पाण्डे, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवल बस्ने सीता पाण्डे र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्ने कुलानन्द पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, स्याङ्जाको वालिङ नगरपालिका–२ निवासी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट निवासी छविलाल पाण्डेको अवस्था गम्भीर रहेको छ। उनको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा उपचार भइरहेको छ।
यस्तै, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल स्याङ्जाको वालिङ नगरपालिका बस्ने ५०र५५ वर्षीया गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका–१० निवासी बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको र उनीहरुको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ९ कार्तिक २०८३ १९:०२ सोमबार




-600x400.jpg)
