१ असार २०८१ शनिबार
image/svg+xml
खेल

अभ्यास  खेलमा नेपाली फुटबल टोली पराजित

तस्बिर साैजन्यः गाेलनेपाल डटकम

काठमाडौं – एसियाली खेलकुदअन्तर्गत फुटबल टोलीका कप्तान किरण चेम्जोङबिना तयारीका लागि थाइल्यान्ड पुगेको नेपाली टोली मंगलबार स्थानीय क्लब पुलिस तेरोसँग १–० ले पराजित भएको छ। 

थाइल्यान्डको बैंककस्थित बुन्याचिन्दा रंगशालामा भएको खेलमा नेपालले ३९औं मिनेटमा गोल खाएको थियो । आदित्य चौधरीको आत्मघाती गोल नै पुलिस तेरो क्लबको जितमा निर्णायक बन्यो । नेपाली टोलीले दोस्रो हाफमा पुनरागमन गर्ने प्रयास गरे पनि सफल हुन सकेन। 

माल्दिभ्सको टिसी स्पोटर्स क्लबमा आबद्ध किरण गत बुधबार मात्र नेपाल आइपुगेका थिए । त्यसैले भिसा प्रक्रिया ढिला भएका कारण किरण शुक्रबार नेपाली टोलीसँग जान पाएका थिएनन् । किरणको मंगलबार भिसा आएको छ । नेपाली टोलीका गोलकिपर किरण आज (बुधबार) थाइल्यान्ड जाँदै छन्।

‘म उताबाट नेपाल आउन ढिला भयो । त्यसैले भिसा प्रक्रियामा ढिलाइ भयो,’ एसियाली खेलकुदमा नेपालको कप्तानी गर्ने किरणले थपे, ‘आज (मंगलबार) भिसा आइसकेको छ । अब भोलि बिहान ११ बजे थाइल्यान्ड जानेछु।’

आदित्य चौधरीको आत्मघाती गोल नै पुलिस तेरो क्लबको जितमा निर्णायक बन्यो।

किरणको अनुपस्थितिमा मंगलबार पुलिस तेरो क्लबविरुद्ध विशाल राईले नेपाली टोलीको कप्तानी गरेका थिए भने पोस्टको जिम्मेवारी एलेन न्यौपानले सम्हालेका थिए । नेपाली टोलीले अब शनिबार थाइल्यान्डको यु–२३ टोलीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले पनि किरणको पासपोर्ट यहाँ नभएकाले भिसा प्रक्रियामा ढिलाइ हुँदा शुक्रबार टोलीसँग थाइल्यान्ड जान नपाएको बताए।

नेपाली फुटबल टोलीले एसियाली खेलकुदमा साउन २९ गते जापानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल सम्मिलित समूहमा ‘डी’ मा जापान, भियतनाम र पाकिस्तान रहेका छन् । नेपालले दोस्रो खेल साउन ३१ गते भियतनामविरुद्ध खेल्नेछ भने समूहचरणको अन्तिम खेल भदौ ३ गते पाकिस्तानसँग खेल्नेछ।

थाइल्यान्डको अभ्यासपछि एसियाली खेलकुदको टिममा रहेका २० खेलाडीसहितको टोली उतैबाट इन्डोनेसिया जानेछ । साफ च्याम्पियनसिपको टिममा मात्र रहेका ९ खेलाडी भने नेपाल फर्किनेछन् । साफ च्याम्पियनसिप मात्र खेल्नेमा राष्ट्रिय टोलीका कप्तान विराज महर्जन, गोलपिकर विकेश कुथु, रक्षकद्वय रविन श्रेष्ठ र देवेन्द्र तामाङ, मिडफिल्डर सन्तोष तामाङ र सुजल श्रेष्ठ तथा फरवार्डहरू भरत खवास जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ थाइल्यान्डबाट काठमाडौं फर्किनेछन्। 

भदौ १९ बाट सुरु हुने साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटानसँग खेल्नेछ । एसियाली खेलकुदमा २३ वर्षमुनिका खेलाडीहरूले सहभागिता जनाउनेछन् । जहाँ प्रत्येक टिमले तीन सिनियर खेलाडी राख्न पाउने व्यवस्था छ । त्यसअनुसार नेपालले एसियाली खेलकुदको टोलीमा राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जाेङ, मिडफिल्डर रोहित चन्द र विशाल राईलाई समावेश गरेको छ । किरण चेम्जाेङले कप्तानका रूपमा इन्डोनेसियामा नेपाली टोलीको नेतृत्व गर्नेछन्।  

प्रकाशित: २३ श्रावण २०७५ ००:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App