२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
खेल

भिडाल बार्सिलोनामा

बार्सिलोना – बार्सिलोनाले शुक्रबार चिलीका मिडफिल्डर आर्टुरो भिडालको क्लब अनुबन्धन अन्तिम चरणमा पुगेको जनाएको छ । बायर्न म्युनिखका भिडाल ३ करोड युरोमा बर्सिलोनामा अनुबन्धित हुन लागेको क्लबले जनाएको हो। 

‘बार्सिलोना र बायर्न म्युनिख भिडालको सरुवा सहमतिका लागि अन्तिम चरणमा पुगेका छन्,’ बार्सिलोनाले आफ्नो वेभसाइटमा भनेको छ। 

‘सम्झौता तीन वर्षका लागि हुनेछ । स्वास्थ्य परीक्षण बाँकी रहेको र त्यो पनि केही दिनभित्र टुङ्गो लाग्नेछ,’ बार्सिलोनाले भनेको छ, ‘क्लब अनुबन्धको निर्णय छिट्टै सार्वजनिक गरिनेछ र एक कार्यक्रमको आयोजना गरी भिडाललाई सार्वजनिक गरिनेछ।’

३१ वर्षे भिडाललाई प्रि–सिजनअन्तर्गतको शुक्रबार बायर्नबाट अभ्यासमा हटाइएको थियो। बार्सिलोना सरुवाका लागि सम्झौता अन्तिम चरणमा पुगेसँगै उनी अभ्यासबाट हटाइएका हुन्। स्पेनिस क्लब बार्सिलोना जान लागेका भिडालले क्लबबाट प्रत्येक सिजन ९० लाख युरो कमाउनेछन्। 

फ्रान्सेली मिडफिल्डर एड्रिन राबिओटलाई लोनमा पठाएको इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानले पनि भिडालप्रति इच्छा देखाउँदै आएको छ ।त्यसैले बार्सिलोना भिडालसँगको सम्झौतालाई छिट्टै अन्तिम रूप दिन चाहन्छ। पछिल्लो सिजन  घुँडाको चोटका कारण भिडालले केही खेलमा आराम गरेका थिए । गत अप्रिलमा उनको शल्यक्रिया गर्नुपरेको थियो। 

सरुवा बजारको समय केही दिन मात्र बाँकी छ । भिडालको सम्झौता प्रक्रियाले पूर्णता पाएमा उनी यस सिजन बार्सिलोना भित्रने चौथो खेलाडी बन्नेछन् । बार्सिलोनाले यसअघि ब्राजिलका स्ट्राइकर मालकोलम, ब्राजिलकै मिडफिल्डर आर्थुर र फ्रान्सका रक्षक क्लिमेन्ट लेङलेटलाई क्लबमा अनुबन्धित गरेको थियो।

बार्सिलोनामा अनुबन्धित हुन लागेका भिडाल यसअघि २०१५ मा युभेन्ट्सबाट बायर्न म्युनिख आएका थिए । तीन वर्षे बायर्न म्युनिख बसाइमा उनले क्लबलाई तीन पटक बुन्डेसलिगाको उपाधि जितेका थिए। भिडाल बार्सिलोना जाने भएसँगै जर्मनको लिग विजेता बायर्नलाई नयाँ टोली निर्माणका लागि कसरत गर्नुपर्ने भएको छ। 

 

प्रकाशित: २० श्रावण २०७५ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App