१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

१८ औँ एशियाली खेलकूदमा स्वर्ण पदकको आशा, १८१ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं - आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८ औं एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन्। 

प्रतियोगिता शुरु हुन केही साता मात्र बाँकी रहँदा प्रतियोगिताका २८ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट १२५ पुरुष र ५६ महिला खेलाडी अहिले राजधानी र मोफसलका विभिन्न शहर तथा विदेशमा प्रशिक्षण लिइरहेका छन्। राष्ट्रिय खेलकूद परिषद् (राखेप) का अनुसार काठमाडौंमा धनुकाँड, सुटिङ, एथलेटिक्स, सेपाकताक्रो, क्लाइम्बिङ, कराते, गल्फ, उसु, बास्केटबल, पौडीलगायत खेलको प्रशिक्षण जारी छ। 

त्यस्तै ललितपुरमा साइक्लिङ, फुटबल, ब्याडमिन्टन, ट्रायथलन, लनटेनिसलगायतको प्रशिक्षण चल्दैछ भने पोखरामा पाराग्लाइडिङ र कबड्डी, भीमदत्तनगरमा भलिबल तथा नेपालगन्जमा भारोत्तोलन र कुस्तीको बन्द प्रशिक्षण चलिरहेको छ। परिषद्का अनुसार अधिकांश खेलको तयारी स्वदेशमै भए पनि पदकको आशा गरिएको छ। 

टेबल टेनिसका पाँच खेलाडीसहित सात जना अहिले भारतमा प्रशिक्षण लिइरहेका छन्। त्यस्तै स्केटबोर्डका नेरिश थापा हङकङमा प्रशिक्षणमा छन् भने तेक्वान्दोका पाँच पुरुष र पाँच महिला दक्षिण कोरियामा प्रशिक्षणमा छन्। बक्सिङको टोली पनि असार दोस्रो साता थाइल्याण्ड गएको परिषद्ले जनाएको छ। 

सागमा स्वर्ण विजेता जुडो खेलाडी फुपुल्हामु खत्री अहिले जापानमा प्रशिक्षण लिइरहेकी छन्। गत वैशाखदेखि नै उनी जापानमा छिन्। खत्री जापानबाटै इण्डोनेशिया प्रस्थान गर्नेछिन्। पेनकेक सिलातका विवेककुमार विक पनि प्रशिक्षणका दौरान सिंगापुरमै छन्। एशियाली खेलकूदमा पेनकेकमा नेपालबाट तर्फबाट विकले ६०–६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्। 

स्वर्ण पदकको आशा 
प्रतियोगिताकाे शुरुवातदेखिनै सहभागिता जनाउँदै आएको नेपालले १८ औँ संस्करणसम्म आइपुग्दा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।राखेपका सदस्य सचिव केशवकुमार विष्टले यस पटक तेक्वान्दो, कराते, उसु, जुडो र प्याराग्लाइडिङमा स्वर्ण पदकको आशा गरिएको बताए। “यस पटक विगतको भन्दा धेरै राम्रो तयारी छ, विगतमा लामो समय बन्द प्रशिक्षण हुँदैनथ्यो, अहिले हामी नियमिति प्रशिक्षणहरू गरिरहेका छौँ, तीन महिनायता बन्द प्रशिक्षण गरिरहेका छौँँ, यो पटक स्वर्ण पदकको आशा छ”, उनले भने। रासस

प्रकाशित: १० श्रावण २०७५ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App