२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

तेस्रा फुटबलकर्मी

डिडियर डेसच्याम्पस

मस्को – आइतबार क्रोएसियालाई ४–२ ले पराजित गर्दै विश्वकपको उपाधि पक्का गरेसँगै फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पस खेलाडी र प्रशिक्षकका रूपमा प्रतियोगिताको उपाधि जित्ने तेस्रो व्यक्ति बने । यसअघि ब्राजिलका मारियो जगालो र जर्मनीका फ्रेन्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रूपमा विश्वकपको उपाधि जितेका थिए।

४९ वर्षे डेसच्याम्पस खेलाडी जीवनमा ‘दी वाटर क्यारियर’ को रूपमा चिनिन्थे । टिम सहयात्री एरिक क्यान्टोनाले उनलाई यो नाम जुराइदिएका थिए । डेसच्याम्पस विपक्षीबाट बल खोस्दै पोसेसन बनाइराख्ने र निकै चलाखीका साथ स्ट्राइकरलाई पास उपलब्ध गराउन अब्बल थिए । उनलाई सर्वकालीन डिफेन्सिभ मिडफिल्डरको रूपमा लिइन्छ । डेसच्याम्पसको उपस्थितिमा विपक्षी खेलाडीलाई फ्रान्सको पोस्टमा आक्रमण गर्न कठिन हुन्थ्यो।

तीनै डेसच्याम्पसको प्रशिक्षणमा फ्रान्सले आइतबार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । १९९८ मा घरेलु मैदानमा भएको विश्वकपका टोलीलाई कप्तानी गर्दै पहिलो पटक विश्वकपको उपाधि जिताएका डेसच्याम्पसले २० वर्षपछि प्रशिक्षको रूपमा टोलीलाई विश्वकपको उपाधि जिताएका हुन्।

२०१२ मा फ्रान्सेली टोलीको प्रशिक्षण जिम्मेवारी पाएका डेसच्याम्पसले २०१४ को विश्वकपमा भने टोलीलाई अपेक्षाकृत सफता दिलाउन सकेनन् ।२०१६ मा घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियसिपमा टोलीलाई फाइनलसम्म डो¥याए पनि फ्रान्स उपाधि भिडन्तमा पोर्चुगलसँग १–० ले स्तब्ध भएको थियो।

‘उनीहरु युवा छन् र खुसी छन्,’ खेलाडीको जितको उत्सव मनाइरहँदा डेसच्याम्पसले भने, ‘त्यसैले उनीहरूको खुसीयालीमा केही पागलपन पनि देखिन्छ ।’ युवा खेलाडीको खुसीको वर्णन गरिरहँदा डेसच्याम्पसले आफ्नो खुसी भने लुकाउन सकेनन्।

‘म मेरो बारेमा कुरा गर्न चाहान्नँ तर पनि आफ्नो बारेमा बोल्न बाध्य छु । मैले २० वर्षअघि कप्तानको रूपमा विश्वकपको उपाधि जितेको थिएँ र आज प्रशिक्षकको रूपमा टोलीलाई दोस्रो पटक प्रतियोगिताको उपाधि जिताउन पाउदा म धेरै हर्षित छु । यो क्षण मेरो जीवनभर अविस्मरणीय रहिरहने छ।’

 

प्रकाशित: १ श्रावण २०७५ ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App