१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

कन्काकाफले भरपूर तयारी गर्ने

मस्को–उत्तर अमेरिकी फुटबल संघ (कन्काकाफ) का प्रमुख भिक्टर मोटाग्लानीले २०२६ मा घरेलु मैदानमा हुने विश्वकपका लागि भरपूर तयारी गर्ने बताएका छन् ।गत महिना मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त विश्वकप आयोजनाको जिम्मेवारी पाएका थिए ।

मेक्सिको यस पटक पनि अन्तिम १६ भन्दा माथि उठ्न नसकेसँगै उत्तर अमेरिकी फुटबल संघ क्यारेबियन फुटबल संघका सबै टोलीका लागि रूस विश्वकपको यात्रा सकिएको छ । यसअघि २०१४ मा भने कोस्टा रिकाले क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको थियो ।‘सबै टोलीको रूस यात्रा समाप्त भएको छ,’ मोटाग्लानीले भने , ‘२०२२ को कतार विश्वकपसम्ममा कन्काकाफ टोलीको प्रदर्शन सुधारिनेमा म आशावादी छु । २०२६ सम्म हाम्रा लागि ८ वर्षको समय हुनेछ, जुन तयारीका लागि पर्याप्त छ ।’

रूस विश्वकपमा मेक्सिको, पानामा र कोस्टा रिका गरी कन्काकाफका तीन राष्ट्र छनोट भएका थिए । जसअन्तर्गत समूह ‘ई’ मा रहेको कोस्टा रिकाले समूहका २ को खेलमा पराजय बेहोर्यो भने एक खेल बराबरीका साथ अन्तिम स्थानमा रह्यो । पहिलो खेलमा सर्बियासँग १–० ले पराजित भएको कोस्टा रिकाले दोस्रो खेल ब्राजिललाई २–० को नतिजा सुम्पिँदा अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–२ को बराबरी गरेको थियो । त्यस्तै समूह ‘जी’ मा रहेको पानामा भने तीनै खेलमा पराजित भयो । पहिलो खेलमा बेल्जियमलाई ३–० को नतिजा सुम्पिएको पानामाले दोस्रो खेलमा इङ्ल्यान्डसँग ६–१ र अन्तिम खेलमा ट्युनिसियासँग २–१ ले पराजित भयो।

यता समूह ‘एफ’ को पहिलो खेलमा साबिक विजेता जर्मनीलाई १–० ले पराजित गर्दै सुखद सुरुआत गरेको मेक्सिकोले दोस्रो खेलमा दक्षिण कोरियालाई २–० ले पराजित गर्यो । अन्तिम खेलमा भने मेक्सिकोले स्विडेनलाई ३–० को नतिजा सुम्पियो । समूह ‘एफ’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको मेक्सिको ब्राजिलसँग २–० ले पराजित हुँदै प्रतियोगताबाट बाहिरिएको थियो।

‘विगत ४० वर्षमा कन्काकाफका टोलीले प्रमुख प्रतियोगितामा सोचेअनुरूप प्रदर्शन गर्न सकेका छैनन्,’ २०१६ मा कन्काकाफ अध्यक्ष नियुक्त भएका मोटाग्लानीले भने, ‘२०२६ को विश्वकप हामी आयोजना गर्दै छौं । त्यसका लागि हामीसँग ८ वर्ष छ।’

२०२६ को विश्वकपमा फिफाले सहभागी टोलीको संख्या ४८ पुर्याउने यसअघि नै निर्णय गरिसकेको छ । जसअनुसार कन्काकाफ क्षेत्रबाट छनोट चरण पार गरेर आएका तीन टोली र तीन आयोजक राष्ट्र गरी ६ राष्ट्र सहभागी हुने निश्चित छ । त्यस्तै अन्य दुई राष्ट्रले अन्तरमहादेशीय प्लेअफ प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन् । कन्काकाफका दुई तथा एसिया, अफ्रिका, ओसियाना र दक्षिण अमेरिकी टोलीको समान एक टोली गरी ६ टोली सहभागी हुने अन्तरमहादेशीय प्लेअफको शीर्ष दुई स्थानमा रहने टोली विश्वकपमा छनोट हुनेछन् ।

 

प्रकाशित: २१ असार २०७५ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App