पेरिस – साबिक विजेता राफाइल नाडालले सोमबार जर्मनीका म्याक्सिमिलियान मार्टेररलाई पराजित गर्दै फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन् । यससँगै स्पेनका नाडालले फ्रेन्च ओपनमा ११औं उपाधि जित्ने सम्भावना बढाएका छन्।
विश्व नम्बर एक नाडालले ७०औं वरीयताका मार्टेररमाथि पहिलो र दोस्रो सेटमा ६–३, ६–२ को सहज जित निकाले पनि तेस्रो सेटमा संघर्ष गर्नुपर्याे । तेस्रो सेट नाडालले ७–६ (७–४) मा जितेका थिए । ‘तेस्रो सेट निकै संघर्षपूर्ण रह्यो । म्याक्सिमिलियान धेरै राम्र्रो खेलाडी हुन्,’ नाडालले भने।
फ्रेन्च ओपनमा नाडालको यो १२औं क्वार्टरफाइनल हो । आइतबार ३२औं वर्षमा प्रवेश गर्ने नाडालको ग्रान्डस्लाममा यो ३५औं क्वार्टरफाइनल हो । नाडालले अब सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाका डिएगो स्चवार्टजम्यानसँग प्रतिस्पर्धा गर्नेछन् । ११औं वरीयताका स्चवार्टजम्यानले छैटौं वरीयता प्राप्त केभिन एन्डर्सनलाई १–६, २–६, ७–५, ७–६ (७–०), ६–२ को सेटमा पराजित गरेका थिए।
चोटका कारण सेरेना विलयम्सले सोमबार लामो समयदेखिका प्रतिद्वन्द्वी मारिया सारापोभाविरुद्धको खेलबाट आफ्नो नाम फिर्ता लिएकी छिन् । तेस्रो चरणमा जुलिया जर्जिजविरुद्धको खेल्ने क्रममा सेरेना ‘पेक्टोरल मसल इन्जुरी’बाट गुज्रिएकी थिइन् । सेरेनाले सारापोभाविरुद्ध खेल्नु केही मिनेटअघि मात्र आश्चर्यजनक रूपमा नखेल्ने घोषणा गरेकी हुन् । २००४ पछिका १८ खेलमा सेरेना सारापोभासँग पराजित भएकी छैनन्।
२०१२ र २०१४ की फ्रेन्च ओपन विजेता सारापोभाले अब सेमिफाइनलका लागि गार्विन मुगुरुजा र लेसिया सुरेन्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । सोमबारै सिमोना हेलेपले इजिल मार्टेन्सलाई ६–२, ६–१ को सेटमा हराइन् भने एन्जेलिक केरबेरले क्वारोलिन गार्सियालाई ६–२, ६–३ ले हराइन्।
प्रकाशित: २२ जेष्ठ २०७५ ०४:२५ मंगलबार