नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी आफ्नो राष्ट्रिय महिला फुटबल टोलीलाई स्वागत गर्दै उपहारहरू प्रदान गरेका थिए। खराब तयारी र पारिश्रमिक भुक्तानी नपाए पनि यी खेलाडीले आफ्नो देश नाइजेरियालाई दशौंपल्ट महिला अफ्रिका कप अफ नेसन्स उपाधि दिलाउँदै घर फर्कने क्रममा राष्ट्रपति टिनुबुले उनीहरूको स्वागतमा कमी हुन दिएका थिएनन्।
सुपर फाल्कन्स नामले परिचित नाइजेरियाले शनिबार मोरोक्कोमा सम्पन्न रोमाञ्चक फाइनलमा घरेलु टोलीलाई ३–२ गोलअन्तरले स्तब्ध बनाउँदै यो सफलता दिलाएको हो। यो उपाधिपछि देशका राष्ट्रपति टिनुबु र फुटबलप्रेमी राष्ट्र नाइजेरियामा धेरैले प्रशंसा गरिरहेका छन्।
विभिन्न चुनौतीका बावजुद नाइजेरियन महिला फुटबलरले पाएको यो सफलताको पछाडि कडा संघर्ष र मेहनत नै हो। यस महादेशमा नाइजेरियाका महिला फुटबलरले दिलाएको सफलताले नाइजेरिया फुटबलका अधिकारीहरूद्वारा गरिएका खराब व्यवस्थापनलाई छोपेको फुटबल विश्लेषकहरू बताउँछन्। देशले दिएको दुःखका बावजुद महिला खेलाडीले नाइजेरियालाई सुन्दर उपहार दिएका छन्।
‘नाइजेरियाको फुटबल अधिकारीहरूले महिला राष्ट्रिय टोलीलाई पर्याप्त लगानी, हेरचाह, ध्यान र योजना दिएको छैन। एफएले अभावहरूका बीच महिला फुटबल चलाएका छन्। तर, खेलाडीले यस क्षेत्र (अफ्रिकाको महिला फुटबल) प्रभुत्व जमाउन सफल भएका छन्,’ लागोसस्थित एक फुटबल विश्लेषक सोलेस चुक्वुले भने। यो टोलीलाई वर्षौंदेखि म्याच बोनसको भुक्तानी दिइएको छैन। जसले गर्दा नाइनेरियाका महिला फुटबलरले सन् २०२२ मा प्रशिक्षणसमेत बहिष्कार गरेका थिए। मोरोक्कोमा अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुग्दै नाइजेरिया उपाधिको बाटोमा थियो। तर, शनिबार फाइनल हुनुभन्दा एकदिन अगाडि मात्र एफएका अध्यक्षले उनीहरूको भुक्तानी स्वीकृत गरे।
यो प्रतियोगिता खेल्न जानुअघि उनीहरूले एउटा पनि प्रतिस्पर्धात्मक मैत्रीपूर्ण खेलहरू खेल्न पाएका थिएनन्। साथै प्रशिक्षण किटहरू पनि उपलब्ध नभएको अवस्थामा नाइजेरियन फुटबलरले तयारी गर्नुपरेको थियो। यस किसिमको अवस्थालाई नाइजेरियामा सामान्य समस्या मान्ने गरिन्छ। किनकि त्यहाँका खेलकुद प्रायः न्यून लगानी, भ्रष्टाचार र खराब व्यवस्थापनले गर्दा समस्याग्रस्त हुन्छन्। नाइजेरियन खेलकुदमा ठूला घोटालाहरू पनि बाहिरिने गरेका छन्। जसले गर्दा खेलाडीहरूले विरोधस्वरूप अन्य देशबाट खेल्न रुचाउँछन्। नाइजेरियाको समाजमा महिलाहरूलाई फरक दृष्टिकोणबाट हेरिने गरिन्छ। जसले गर्दा त्यहाँका खेलकुदमा महिला टोलीहरूले समस्या भोग्नुपरेको छ।
अफ्रिकाकी खेल विशेषज्ञ ओलुवासिना ओकेलेजीले नाइजेरियामा महिला खेलाडीले धेरै समस्या बेहोर्ने गरेको उल्लेख गरेकी छन्। ‘नाइजेरियन फुटबल फेडेरेसनमा महिलाको तुलनामा पुरुष टोलीले धेरै रकम पाउनुपर्ने तर्क आउने गरेको छ। तर, सत्य भनेको नाइजेरियाको महिला टोलीले नै देशलाई प्रतिष्ठा र ठूलो सम्मान दिँदै उपाधि सुम्पिएको छ,’ ओकेलेजीले भनिन्।
नाइजेरियन फुटबल फेडरेसन (एनएफएफ) का प्रवक्ताले भने यी आरोपहरूको प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। नाइजेरियन महिला टिमले अफ्रिकी फुटबलमा पूर्ण प्रभुत्व जमाएको छ। जसको श्रेय महिलाका खेलकुदमा पहिले गरिएको काम र सुरुआतलाई दिने गरिन्छ। नाइजेरियाले १९७८ मा नै अफ्रिकामा पहिलो महिला फुटबल लिग सुरुआत गरेको थियो। जुन अन्य देशहरूका तुलनामा धेरै वर्षअगाडि सुरु भएको हो।
तर, विश्व फुटबलमा भने उनीहरूलाई (महिला फुटबल) ठूलो उपलब्धिहरू दिलाउन सक्षम बनाउन सकिएको छैन। एफएले फुटबलमा प्रारम्भिक विकासलाई उपयोग गर्न असफल भएको विश्लेषकहरू बताउँछन्।
राष्ट्रपतिले वाचा गरेका उपहारहरू, पैसा र सम्पत्ति समावेश छ। तर, प्रशंसकहरूलाई विश्वस्त बनाएको छैन। ‘यो एक पटकको भुक्तानी र अपार्टमेन्टले कुनै अर्थ राख्दैन। उनीहरूको आवश्यकता भनेको सुविधा, कोचिङ स्टाफ, पारिश्रमिक र लगानी नै हो। महिला फुटबलमा लगानीको अभाव छ। पुरुषहरू जत्तिको पनि छैन,’ महिला टिमको फुटबल प्रशंसक फुन्मी ओबासाले भने।
प्रकाशित: १४ श्रावण २०८२ ०७:२४ बुधबार





