७ वैशाख २०८१ शुक्रबार
खेल

अर्को सफलताको पर्खाइमा प्रतिमा

काठमाडौं – गल्फको विश्वमञ्चमा एउटा महान् खेलाडीको दर्जा पाएका अमेरिकी सुपरस्टार टाइगर उड्सबाट प्रशंसा पाउनु सायद नेपाल नम्बर एक महिला गल्फर प्रतिमा शेर्पाको करियरमा अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो।

अमेरिकाको फ्लोरिडास्थित मेडलिष्ट गल्फ क्लबमा वैशाख ११ गते भेट्दा प्रतिमाले उड्ससँग आधा घण्टा विशेष प्रशिक्षण लिने मौका पाएकी थिइन्। 

गल्फका थुप्रै टिप्सहरू सिकाउने क्रममा प्रतिमाबाट प्रभावित भएर उड्सले भनेका थिए,‘प्रतिमा असाधारण क्षमता भएकी गल्फर हुन्। उनीसँगको भेट तथा कुराकानी वास्तवमै प्रेरणदायी रह्यो। प्रतिमाको उदेश्य र उनी आफ्नो राष्ट्रलाई गल्फका माध्यमबाट विश्वमा चिनाउने पहिलो महिला खेलाडी भएको मैले केही वर्षअघि गल्फ डाइजेस्ट पत्रिकामा प्रकाशित लेखबाट जान्ने मौका पाएको थिएँ। गल्फमा उनको भविष्य उज्वल छ।’

रोयल नेपाल गल्फ क्लबको होल नम्बर ३ मा रहेको एउटा सानो छाप्रोबाट सुरु भएको प्रतिमाको यात्रा अमेरिकासम्म पुग्दा १८ वर्षे किशोरीले बाटोमा थुप्रै उल्लेख्य छाप छोडेकी छिन्। विश्वप्रसिद्ध खेलकुद च्यानल इएसपिएनले प्रतिमाको सम्पूर्ण जीवन समेटेर आफ्नो च्यानलमा प्राथमिकताका साथ प्रसारण गर्दा उनी अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यान तान्न सफ भइन्। इएसपिएनले उनको विषयमा वृत्तचित्र नै तयार पार्यो। 

सूर्य नेपाल गल्फ टुरको व्यावसायिक छनोट खेल्ने पहिलो नेपाली महिला खेलाडी प्रतिमाले गत वर्ष फाल्डो सिरिजको नेपाल छनोटमा विजेता बन्दै फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलमा सहभागिता जनाइन्। समग्रमा बितेको वर्ष थुप्रै सुखद पक्षहरूसँग आत्मसात् गरेकी प्रतिमा अहिले नेपाली खेलकुदको ठूलो पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको शीर्ष पाँच खेलाडीमा चुनिएकी छिन्। जहाँ उनीसँग क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, भलिवलका मानबहादुर श्रेष्ठ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ मनोनयनमा परेका छन्। 

खेलप्रेमिको एसएमएसको तथा आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न खेलका राष्ट्रिय प्रशिक्षकहरूको मतका आधारमा विजेता चयन गरिने अवार्डमा मनोनयनमा परेका चार खेलाडीलाई पछि पार्न सके प्रतिमा पल्सर मोटरसाइकल पुरस्कार रहेको अवार्डको हकदार बन्नेछिन्। 

प्रकाशित: २७ वैशाख २०७५ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App