१९ माघ २०८२ सोमबार
image/svg+xml
खेल

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

डिफेन्डिङ च्याम्पियन नेपाल श्रीलंकामा सम्पन्न नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता नै सीमित भएको छ।

पछिल्ला दुई संस्करणका च्याम्पियनसमेत रहेको नेपाल यसपल्ट भने उपविजेतामै सीमित भएको हो। भारत टिम च्याम्पियन भयो। श्रीलंकाको कोलम्बोमा सम्पन्न प्रतियोगितामा नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्य पदकसहित टिम उपविजेता भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए।

महिला ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सबिना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए। नेपाल कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका नेपाली खेलकुद र करातेकी सफल खेलाडी हुन्। उनले नेपाली करातेमा ऐतिहासिक सफलता दिलाउँदै आएकी छन्।

नेपालका लागि प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान एक स्वर्ण तथा टिम कुमुतेमा रजत जिते। नेपालमा सम्पन्न सातौं संस्करण र भुटानमा सम्पन्न आठौं संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो। टिम च्याम्पियन भारतले २३ स्वर्ण, २४ रजत र १२ कांस्य पदक जित्यो। आयोजक श्रीलंका तेस्रो स्थानमा रह्यो।

श्रीलंकाले १६ स्वर्ण, २० रजत र २३ कांस्य हात पार्‍यो। तीन स्वर्ण, सात रजत र १४ कांस्य जितेको बंगलादेश चौथो भयो। कुल ६ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत र सात कांस्यका साथ पाँचौं भयो। भुटान एक रजत र १ कांस्य पदक जित्दै छैटौं स्थानमा रह्यो।

प्रकाशित: २३ असार २०८२ ०७:४२ सोमबार

# Khelkud # Nagarik