१ श्रावण २०८२ बिहीबार
image/svg+xml
खेल

नेपाली महिला टोलीको सपना अधुरै

निर्णायक खेलमा उज्बेकिस्तानसँग स्तब्ध हुँदै नेपाली महिला फुटबल टोली अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्ने अवसरबाट बन्चित भएको छ।

एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ को अन्तिम खेलमा शनिबार उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले स्तब्ध हुँदा नेपालले २६ वर्षपछि एसियन कप खेल्ने अवसर गुमाएको हो।

बुन्योदकोर रंगशालामा भएको खेलको निर्धारित समयमा नेपालले फिफा वरीयतामा आफूभन्दा ४९ स्थानमाथि रहेको उज्बेकिस्तानलाई ३–३ को बराबरी रोक्यो। त्यसपछि खेलको निर्णयका लागि प्रतियोगिताको नियम अनुसार सीधै पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो। तर, पेनाल्टी सुटआउटमा कप्तान सावित्रा भण्डारी र गोलकिपर अञ्जना रानामगर गोल गर्न असफल भए। उज्बेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा र एम अमिनिजोनोभाले गोल गरे।

नेपालकी गीता राना र सबिता रानामगरले गोल गरिन्। कप्तान सावित्राको प्रहार भने पहिलो बारमा लागेर फर्किन पुग्यो। अञ्जनाको प्रहार पनि उज्बेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन्। जितसँगै उज्बेकिस्तानले पहिलोपल्ट छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाउन सफल भयो।

नेपाली महिला टोलीको भने सन् १९९९ पछि पहिलोपल्ट एसियन कप खेल्ने सपना अधुरै रह्यो। यसअघि नेपालले सन् १९८६ र १९८९ मा एसियन कप खेलेको थियो। यसपल्ट त्यो अवसरनजिक पुगे पनि नेपाली टोलीले सदुपयोग गर्न सकेनन्। दक्षिण एसियाली फुटबलबाट यसपल्ट एसियन कप खेल्ने तेस्रो राष्ट्र बन्ने अवसरबाट पनि नेपाल बन्चित भयो।

छनोटबाट सफलता प्राप्त गर्दै दक्षिण एसियाका भारत र बंगलादेशले सन् २०२६ को मार्चदेखि अष्ट्रेलियामा हुने एसियन कपमा स्थान पक्का गरिसकेका छन्। नेपाली महिला टोलीलाई पनि एसियन कप खेल्न सक्ने दाबेदारका रूपमा हेरिएको थियो। तर, पेनाल्टी सुटआउटमा चुक्दा सफल भएन। सावित्राकै ह्याट्रिक प्रेरणामा नेपालले शनिबार उत्कृष्ट पुनरागमन पनि गरेको हो। साथै घरेलु टोलीका एक खेलाडी नहुँदा पनि नेपालले फाइदा लियो। पहिलो हाफको थप समयमा घरेलु टोलीकी नोजिमाखोन इर्गासेबाले रातो कार्ड सामना गरेकी थिइन्। एक खेलाडी कम भएको फाइदा उठाउँदै नेपालले खेल बराबरीमा ल्याएको हो। नेपाल सुरुआतमा ३–१ ले पछाडि परेको थियो।

तर, सावित्राले यस छनोटमा तेस्रोपल्ट ह्याट्रिक पूरा गर्दै बराबरीमा ल्याइन्। पहिलो हाफमा नेपाल ३–१ ले पछि परेको थियो। उज्बेकिस्तानका डियोरा खाबबुलेएभा र मातफुना सोयीमोभाले गोल गरे। नेपालले एक आत्मघाती गोल पनि बेहोर्‍यो। खेलमा समालिन नपाउँदै नेपाली टोलीले लगातार गोल सामना गरेको हो। खेलको दोस्रो मिनेटमै आबबुलेएभाको गोलबाट उज्बेकिस्तानले अग्रता लिएको थियो।

फेरुजा टुर्डिबोएभाको प्रहार नेपालकी डिफेन्डर गीताले हेडमार्पmत ब्लक गरिदिइन्। तर, बक्सभित्र अनमार्क खाबिबुलेएभाले उक्त बल नियन्त्रणमा लिएर पहिलो च्याप्दै जाली चुमाइन्। उज्बेकिस्तानले ११औं मिनेटमा अग्रता दोब्बर बनायो। नेपालकी समीक्षा घिमिरेले आत्मघाती गोल गरेकी हुन्।

कप्तान लिउडमिला कराचिकको क्रसमा नेपालकी गोलकिपर अन्जनालाई बिट भएको अवस्थामा समीक्षाको खुट्टामा बल लागेर जाली चुम्न पुग्यो। नेपालले २४औं मिनेटमा गोल फर्कायो। कप्तान सावित्राले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो। सोयिमोभाले ३७औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै उज्बेकिस्तानको अग्रता ३–१ मा पुर्‍याइन्।

सरस्वती हमालले डिबक्सभित्र ह्यान्ड गरेपछि घरेलु टोलीले पेनाल्टी अवसर पाएको हो। पहिलो हाफको थप समयमा नोजिमाखोन इर्गासेबा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान बाहिरिएपछि उज्बेकिस्तान १० खेलाडीमा सीमित भयो। पहिलो हाफमा ३–१ ले नेपाल पछाडि थियो। तर, एक खेलाडी कम भएकाले नेपालले त्यसको फाइदा लिने अनुमान गरिएको थियो। त्यसमा नेपाल सफल पनि भयो र दुई गोल फर्कायो।

सावित्राले ७१औं र ७४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यससँगै सावित्राले यस छनोटमा तेस्रोपल्ट ह्याट्रिक पूरा गरिन्। उनले यसअघि लाओस र श्रीलंकाविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन्।

उज्बेकिस्तानको पुरुष फुटबल टोली अहिले ठूलो सफलतामा रमाइरहेको छ। त्यसमा महिला टोलीको सफलता पनि थपिएको छ। उज्बेकिस्तानको पुरुष टोलीले दुई साताअघि मात्र फिफा विश्वकप २०२६ मा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।

क्यानडा, अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा अर्को वर्ष हुने विश्वकपमा उज्बेकिस्तानले स्थान बनाएको हो। केही फरक किसिमको सफलता महिला टोलीले पनि दिलाएको छ। छनोटको ‘एफ’ समूहमा नेपालसहित, उज्बेकिस्तान, श्रीलंका र लाओस थिए।

नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९–० ले हरायो। दोस्रो खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकाको पोस्टमा आठ गोल गरेको थियो। तीन खेलमा गरेर विपक्षीको पोस्टमा नेपालले कुल २० गोल गर्‍यो। त्यसमध्ये कप्तान सावित्राको नाममा मात्र १० गोल छ। तर, ४१ वर्षे नेपाली महिला फुटबल इतिहासकी सबैभन्दा सफल फुटबलर सावित्रा एसियन कपमा छनोट गराएर सुन्दर सपना बुन्न भने असफल भइन्। नेपाल र उज्बेकिस्तानले समूहमा समान २० गोल गरेका थिए। त्यस कारण खेलको नियमअनुसार पेनाल्टी सुटआउटमा धकेलिएको हो।  

प्रकाशित: २२ असार २०८२ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App