एसियाली साइकलिङ महासंघका अध्यक्ष डाटो अमरजीत सिंह गिल हालैको नेपाल भ्रमणका क्रममा खेलकुदका गुनासो, निराशा र गहिरो संस्थागत संकट देखेर स्तब्ध भएका छन्। नेपालमा भएका भेटवार्ताका क्रममा गिलले नेपालको खेल प्रशासनको संकट देखेर दुःख व्यक्त गरेका हुन्।
नेपाल साइकलिङ संघको निम्तोमा नेपाल आएका गिलले नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्र श्रेष्ठ, उपाध्यक्ष सुनील श्रेष्ठ, राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) का संस्थापक संयोजक डा. अशिम भण्डारी, सदस्य डा. सुधिर श्रेष्ठसहितका प्रमुख खेल अधिकारीहरूसँग भेट गरेका छन्।
शिष्टाचार भ्रमणका क्रममा भएको भेटवार्तामा गिलले गम्भीर राजनीतिक हस्तक्षेप र संस्थागत हेरफेरबारे गुनासो गरेका छन् । उपस्थित अधिकारीहरूले गिललाई नेपालको खेल क्षेत्रमा देखिएको बढ्दो राजनीतिक प्रभाव, निष्पक्ष निर्वाचन रोक्ने रणनीति र शक्ति केन्द्रित गर्ने प्रवृत्तिबारे विस्तृत जानकारी गराएका थिए।
नेपाली अधिकारीहरुले गिलसामू प्रस्तुत तथ्यहरु हेर्दा उनी अचम्ममा परेका थिए। उनले भने, ‘यो त खेल भित्रको राजनीति होइन, राजनीति भित्रको राजनीति हो।’ उनले नेपालजस्तो मुलुकमा यति गहिरो संकट हुने अपेक्षा नगरेको बताए। ‘खेलाडी र संघहरूलाई यस्ता राजनीतिक खेलहरूको सिकार हुन दिनु ओलम्पिक स्पिरिटको अपमान हो,’ गिलले भने। उनले यो विषय अन्तर्राष्ट्रिय खेल निकायहरूसामु उठाउने प्रतिबद्धता जनाएका छन्।
यसैबिचमा गिलले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई पनि भेटेका छन्।
प्रकाशित: २० असार २०८२ १९:०१ शुक्रबार





