ब्राजिलियन क्लब फ्लामेन्गो अमेरिकामा भएको क्लब विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै इङ्लिस क्लब चेल्सीमाथि जितसँगै अन्तिम १६ को यात्रा तय गर्ने पहिलो टोली बनेको छ।
फिलाडेल्फियामा भएको समूह ‘डी’ को खेलमा फ्लामेन्गोले चेल्सीको अग्रता उल्ट्याउँदै ३–१ को उत्कृष्ट नतिजा निकाल्यो। ५४ हजार १९ जना दर्शक उपस्थित स्टेडियममा पेड्रो नेटोको गोलबाट चेल्सीले अग्रता लियो। तर, दोस्रो हाफमा फ्लामेन्गोबाट उत्कृष्ट प्रदर्शन निस्कियो। जितको हकदार हुने खालको प्रदर्शन गरेपछि फ्लामेन्गोले सफलता पाएको हो।
फ्लामेन्गोले ५६औं मिनेटमा ब्रुनो हेनरिक मैदान प्रवेश गरायो। त्यसको केही समयपछि नै उनले टोलीलाई खेलमा फर्काए। ६२औं मिनेटमा गोल गर्दै फ्लामेन्गोलाई उनले बराबरीमा ल्याएका हुन्। त्यसपछि रियाल मड्रिड, म्यानचेस्टर सिटी र युभेन्ट्सका पूर्वडिफेन्डर डानिलोले अर्को गोल थप्दै फ्लामिन्गोलाई २–१ अग्रता दिलाए।
६८औं मिनेटमा निकोलस ज्याक्सनले फ्लामेन्गोका एटर्न लुकासमाथि फउल गरे। यससँगै निकोलसले रातो कार्ड सामना गर्नुपर्यो र चेल्सी १० खेलाडीमा सीमित भयो। यसपछि एक खेलाडी कम खेलेको चेल्सीविरुद्ध फ्लामेन्गोले अवसर सदुपयोग गर्यो। ८३औं मिनेटमा वालेस यानले गोल गर्दै रियो दी जेनेरियो क्लबलाई युरोपको बलियो टोली चेल्सीविरुद्ध जित दिलाउन मद्दत गरे।
ब्राजिलियन फुटबल लिग सिरी ‘ए’ मा पनि फ्लामेन्गो शीर्ष स्थानको टोली हो। ‘क्लब र मेरा लागि आज विशेष दिन हो,’फ्लामेन्गोका प्रशिक्षक फिलिप लुइसले भने, ‘चेल्सीविरुद्ध अवसर पाउन सक्छौं भन्ने थाहा थियो। किनकी हामी एउटै शैलीमा खेल्छौं र उनीहरूले त्यही अनुसरण गर्नेछन्।’
ट्युनिसियाको क्लब इस्पेरेन्सको लस एञ्जलससँग जित र समूहमा दुई जित फ्लामेन्गोले नकआउट चरणमा स्थान बनाएको हो। नासभिलमा भएको यसै समूहको अर्को खेलमा इस्पेरेन्सलाई जित दिलाउन यौसेफ बेलालीले गोल गरे। उनले ७०औं मिनेटमा गोल गरेका थिए, जुन निर्णायक पनि बन्यो। मेक्सिकोको क्लब अमेरिकालाई प्लेअफमा हराउँदै लज एञ्जलसले क्लब विश्वकपमा स्थान बनाएको थियो। तर, उसको यात्रा समूहचरणभन्दा माथि उठ्न सकेन। समान दुई खेलबाट चेल्सी र इस्पेरेन्सको समान दुई अंक छ। यी दुई आगामी मंगलबार फिलाडेल्फियामा प्रतिस्पर्धा गर्दैछन्।
यही खेलले नै यस समूहबाट नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ। ‘फ्लामेन्गो बलियो टोली हो। त्यसैले कठिन प्रतिस्पर्धा हुने अनुमान गरेका थियौं। उनीहरूसँग राम्रा खेलाडी र प्रशिक्षक छन्,’चेल्सीका प्रशिक्षक इन्जो मारेस्काले भने,‘फ्लामेन्गोले धेरै राम्रो खेल्यो। यो टोली ब्राजिलियन लिगको शीर्ष स्थानमा र धेरै खेलमा अपराजित पनि छ। त्यसैले यो नतिजा हाम्रा लागि आश्चर्य थिएन।’
गत बिहीबार नै ब्राजिलियन क्लब बोटाफोगोले युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेनविरुद्ध १–० को जित निकालेको थियो। फ्लामेन्गोको जितपछि युरोपेली क्लबविरुद्ध अर्को ब्राजिलियन क्लबले पनि सुखद नतिजा निकाल्यो।
यद्यपि, अर्को दक्षिण अमेरिकी क्लब बोका जुनियर्सका लागि भने सुखद रहेन। जर्मनको बायर्न म्युनिखले निकै प्रतिस्पर्धात्मक खेलमा बोका जुनियर्सलाई २–१ ले हराउँदै अन्तिम १६ को यात्रा तय गर्यो। यससँगै यसपल्ट क्लब विश्वकप सुरु भएपछि ब्राजिल र अर्जेन्टिनाको क्लबले पछिल्ला १० खेलमा पहिलो हार सामना गर्यो।
पहिलो खेलमा बायर्नले न्युजिल्यान्डको अकल्यान्ड सिटीमाथि १०–० को रबाफिलो जित निकालेको थियो। त्यसबेला गोलवर्षा हुँदा पनि ह्यारी केनले बललाई जाली चुमाउन सकेका थिएनन्। तर, मियामीमा केनले १८औं मिनेटमा नै गोल गर्दै बायर्नलाई अग्रता दिलाए। बोका जुनियर्सले ६६औं मिनेटमा गोल फर्कायो। यससँगै ६३ हजार ५८७ जना दर्शक उपस्थित हार्ड रक स्टेडियम थप उत्साहपूर्ण बन्यो।
खेल सकिन ६ मिनेट बाँकी छँदा बायर्नका मिकाइल ओलिसेले गोल गरे। यससँगै दक्षिण अमेरिकी क्लब बोका जुनियर्सको अर्को बराबरी खेल्ने योजना सफल भएन। ‘सबैबाट राम्रो खेल सम्भव भयो। उनीहरूविरुद्ध खेल्न सहज हुँदैन भन्ने थाहा थियो। किनकी त्यहाँ वातावरण सहज हुने थिएन, ‘केनले भने, ‘दक्षिण अमेरिकी टोलीविरुद्ध खेल्न युरोपेली क्लबहरूका लागि सहज हुँदैन भन्ने देखेका थियौं।’
बेनफिकाले पनि अकल्यान्ड सिटीमाथि ६–० को जित निकाल्दै नकआउट चरणमा पुग्ने आशा जीवन्त राखेको छ। यो हारसँगै ओसिनियाको एक मात्र टोली अकल्यान्डको यात्रा पनि समूहचरणमा नै सीमित हुने भएको छ। बेनफिकाले आगामी मंगलबार बार्यनसँग बराबरी खेले मात्र बोका जुनियर्सको यात्रा पनि सकिनेछ।
प्रकाशित: ८ असार २०८२ ०७:५६ आइतबार





