१ श्रावण २०८२ बिहीबार
image/svg+xml
खेल

रामोसको मोन्टेरेसँग रोकियो इन्टर मिलान

३९ वर्षे स्पेनिस स्टार सर्जियो रामोसको गोल प्रेरणामा मेक्सिकन क्लब मोन्टेरेले अमेरिकामा जारी क्लब विश्वकपमा इटालीको क्लब इन्टर मिलानलाई बराबरीमा रोकेको छ।

पासडिनामा भएको समूह ‘इ’ को प्रतिस्पर्धात्मक पहिलो खेलमा मोन्टेरेले इटालियन क्लब मिलानलाई १–१ गोलको बराबरीमा रोकेको हो।

४० हजार तीन सय ११ दर्शकको साथ पाएको रोज बलमा रामोसको गोलबाट मोन्टेरेले अग्रता लिएको थियो। तर, अर्जेन्टिनी स्ट्राइकर लाउटारो मार्टिनेजको गोल नै मिलानलाई बराबरीमा फर्काउन पर्याप्त बन्यो।

गत च्याम्पियन्स लिग फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ५–० को लज्जास्पद हारपछि मिलानले यो पहिलो खेल खेलेको हो। बल पोसेसनमा कमजोर र विपक्षीको क्षेत्रमा राम्रो आक्रमण बुन्न नसक्दा मिलानले फाइनलमा खराब प्रदर्शन गर्नु परेको थियो।

उसले क्लब विश्वकपमा पनि मिलानले खासै राम्रो प्रदर्शन गर्न सकेन। रामोसको गोलबाट मोन्टेरेले उल्टै मिलानमाथि दबाब बनायो। मोन्टेरेले अब अर्को खेल आगामी शनिबार अर्जेन्टिनी क्लब रिभर प्लेटविरुद्ध खेल्नेछ।

‘जब खेलमा तीन अंक आउँदैन भने त्यसबाट खुसी हुन सकिँदैन,’ स्पेनिस टोली र रियाल मड्रिडका पूर्वडिफेन्डरसमेत रहेका रामोसले भने, ‘तर अंकविहीन हुनुभन्दा एक अंक प्राप्त गर्नु पनि ठिकै मान्नुपर्छ।’

उनले मिलान भर्खर च्याम्पियन्स लिग फाइनल खेलेर आएको कठिन प्रतिद्वन्द्वी रहेको पनि उल्लेख गरे। ‘मिलान कठिन प्रतिद्वन्द्वी हो। केही समयअगाडि मात्र उसले च्याम्पियन्स लिग फाइनल खेलेको छ। त्यसैले केही दबाबमा थियो। तर पनि संगठित र राम्रो फुटबल खेल्न सफल भयौं,’ रामोसले भने, ‘अब आगामी खेलमा ध्यान दिनेछौं।’

मिलानका प्रशिक्षक क्रिस्टियन चिभुले उनको टोलीले मोन्टेरेको बलियो रक्षापंक्ति तोड्न समय लागेको बताए। ‘पहिलो हाफमा राम्रै खेलेका हौं। तरपनि पछि पर्‍यौं,’ चिभुले भने, ‘दोस्रो हाफमा अझ राम्रो अट्याकिङ फुटबल खेल्नु पर्दथ्यो। तर, सोचेअनुरूप हुन सकेन।’

चिभुका लागि यो पहिलो खेल पनि हो। च्याम्पियन्स लिग फाइनलमा हार बेहोरेपछि सिमोने इन्जाघीले मिलान छाडेपछि उनको स्थानमा चिभुले जिम्मेवारी समालेका हुन्।

‘हरेक टोलीलाई उतिकै सम्मान गर्छौं। मोन्टेरे कस्तो टोली हो भन्ने थाहा छ। उत्कृष्ट खेल्ने प्रयास गरेका हौं,’ मिलानका प्रशिक्षक क्रिस्टियन चिभुले भने, ‘कहिलेकाहिँ गर्दागर्दै पनि राम्रो नतिजा आउन सक्दैन। तर, हामीले धेरै अवसर सिर्जना गरेका थियौं।’

मिलानले पहिलो हाफमा केही अवसर नबनाएको पनि होइन। खेलको आठौं मिनेटमा बेन्जामिन पाभर्डले हानेको सट बारभन्दा केही माथिबाट बाहिरिन पुग्यो। २२औं मिनेटमा पनि मिलानले अर्को अवसर बुन्यो।

माटियो डर्मेनको उक्त सट पनि सफल भएन। आक्रमण बुने पनि मिलानले उल्टै गोल सामना गर्‍यो। २५औं मिनेटमा रामोसले गोल गर्दै मोन्टेरेलाई अग्रता दिलाए।

खेलमा पछि परे पनि मिलानले आक्रामक रणनीति जारी राख्यो। पहिलो हाफको ४२औं मिनेटमा मिलान गोल पनि फर्कायो। मार्टिनेजले गोलबाट मोन्टेरे बराबरीमा फर्किएको हो।

तर, त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र खेल बराबरीमा नै सकियो। ४० हजार तीन सय ११ दर्शकको साथ पाएको रोज बलमा रामोसको गोलबाट मोन्टेरेले क्लब विश्वकपमा अग्रता लिएको थियो।

तर, अर्जेन्टिनी स्ट्राइकर लाउटारो मार्टिनेजको गोल नै इन्टर मिलानलाई बराबरीमा फर्काउन पर्याप्त बन्यो। गत च्याम्पियन्स लिग फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ५–० को लज्जास्पद हारपछि मिलानले यो पहिलो खेल खेलेको हो।

प्रकाशित: ४ असार २०८२ २१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App